मोदीले फोहोर देख्ने छैनन्

१६ श्रावण २०७१, शुक्रबार ०५:५८ मा प्रकाशित

काठमाडौं, १६ साउन । धुलो, दुर्गन्ध र सडकका भित्तामा टाँसिएका पोस्टरले काठमाडौका बासिन्दा र त्यहाँ आउने पर्यटक दिक्क हुन्छन् ।

तर दुई दिनको भ्रमणका लागि काठमाडौंमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने काठमाडौं शहरको खराब पक्षलाई देख्न पाउने छैनन् ।

किनकी उनको दुई दिने (आइतबार र सोमबार) भ्रमणलाई लिएर काठमाडौं महानगरपालिकाले मोदीले काठमाडौंमा रहदा यात्रा गर्ने करिब २४ वडाका सडक वरपरको सरफाईलाई बिहीबारदेखि तीब्र गतिमा सरसफाईको सुरूआत गरिसकेको छ ।

साथमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सडकका डिभाइडरहरूलाई बिहीबार हटाउन थालेको छ । पशुपति क्षेत्रमा पनि महानगरपालिकाले सरसफाईलाई तीब्र गति दिएको छ ।

सरसफाईका लागि काठमाडौं महानगरपालिका वातावरण शाखाले विहीबार विहानैदेखि विषेश टोलीहरू नै खटाइसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘हामीलाई ३ दिन अघि उनको भ्रमणको बारेमा जानकारी आएको हो,’ वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘हिजोबाट निरिक्षण गरेर कहाँ के भएको छ, हेर्‍यौं ।’ उनका अनुसार कुन ठाउँमा के गर्ने भन्नका लागि वातावरण विभागको २५ जनाको टोलीले मोदी आउने रुट र त्यहाँ बस्दा भ्रमण गर्ने विभिन्न ठाउँका रूटको निरिक्षण गरेको थियो ।

‘कुन ठाउँमा के कमजोरी छ, हामीले त्यसलाई सुधार गर्ने भनिसकेका छौं,’ उनले भने, ‘हामीले सडकका डिभाइडर हटाउन ट्रफिक कार्यालयलाई भनेका थियौं । बिहिबारबाटै उहाँहरूले काम थालिसक्नु भएको छ ।’

सरसफाईका क्रममा सडक वरपरका फोहोर, माटो, डिभाइडर, पोस्टर, ढल आदिलाई पूर्ण रूपमा सफा गरिने छ । ‘नेपालमा हुन लागेको दक्षिण एसियाली सम्मेलनलाई लिएर हामीले सडकलाई सफा गर्ने तयारी गरेका थियौं । तर मोदीको भ्रमण गर्दा हामीले कामलाई थप तीब्र बनाएका हौ,’ श्रेष्ठले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी केशव अधिकारीले मोदीको आधिकारीक भ्रमण भएको र उनी भीआईपी भएकाले त्यहि अनुसार तयारिहरू भइरहेको बताए । ‘हामीले डिभाइडरहरू त हटाउन थालिसकेका छौं । साथमा सुरक्षाको दृष्टिकोणले उनले भ्रमण गर्ने ठाउँहरूमा के गर्ने भएर गृहकार्य गरिरहेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन