अब के हुन्छ ? -बबिता बस्नेत

१० जेष्ठ २०६९, बुधबार १९:०९ मा प्रकाशित

राज्य पुनर्संरचना या सङ्घीयताका नाममा केही दिनदेखि यो मुलुकमा जे–जे भइरहेको छ त्यसबाट मानिसमा एकप्रकारको त्रास फैलिएको छ । मुलुकका विभिन्न भागमा भएको बन्द र राजधानीमा भएका अराजक घटनाले मानिसमा व्यापक कुतूहल पैदा गरेको छ– अब के हुन्छ ? त्यसो त अब के हुन्छ ? को अवस्थाबाट मुलुक धेरैपटक गुज्रिएको छ । ०४६ सालको आन्दोलनताका पनि अब के होला ? जस्तो लाग्थ्यो, ०६२÷६३ को आन्दोलन र त्यसपछि पनि पटक–पटक हामी यसप्रकारको मनस्थितिबाट गुज्रिएका हौँ । तर, अहिलेको अवस्था भने विगतका सबै परिस्थितिहरूभन्दा फरक छ । हामी इतिहासको यस्तो मोडमा छौँ जहाँ यो मुलुकको नेतृत्वले अलिकति संयमतासहित सही निर्णय गर्न सकेन भने देश आगामी कैयौँ वर्षसम्म जातीय युद्धमा होमिने निश्चित छ । जातीय युद्ध कुनै वाद र सिद्धान्तमा आधारित युद्धजस्तो होइन यो त कुनै पनि प्रकारको द्वन्द्व र युद्धभन्दा सयौँ गुणा बढी विषाक्त र खतरनाक हुन्छ । जातीयता र क्षेत्रीयताका नाममा अहिले जे–जस्ता नारा लागिरहेका छन् ती त सुरुवाती चित्र मात्रै हुन् जसलाई कास्टिङ पनि भन्न सकिन्छ । जातीयताको कुरा मात्रै उठ्दा पनि नेपाली–नेपालीबीच अहिले एक–अर्काप्रति सम्मान हराएर क्षेत्री, बाहुन, जनजाति, दलित, मधेसीको सम्बोधनमा पुगेको छ । यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने मानिसको अनुहारको बनावटको आधारमा सडकमा मानिस अपमानित हुनेछन्, विभिन्न लाञ्छनाको सिकार हुनेछन् र कुटिनेछन् । कुनै पनि क्षेत्रमा जातबाहेक अन्य कुरा हेरिने छैन र जात नै प्रमुख योग्यता भएर अगाडि बढ्नेछ । जुन कुरामा मानिस स्वयम्को कुनै योगदान नै छैन । कुनै पनि मानिस कुनै जातिवबशेष या क्षेत्रमा जन्मिनुमा ऊ स्वयम्को कुनै योगदान हँुदैन तर जातीय राज्यलाई बढावा दिएर जातीयतालाई नै राज्य पुनर्संरचनाको आधार बनाइयो भने हामीले जीवनमा कहिल्यै नसोचेका घटनाहरू धेरै हुनेछन् र त्यतिबेला कसैले पनि संहाल्न सक्ने परिस्थिति रहने छैन ।
जातीय राज्य भएको खण्डमा सबैभन्दा पहिला त यहाँका राष्ट्रिय राजनीतिक दलहरू रहने छैनन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी, एमाले या अन्य जे–जे दलहरू छन् ती सबै दल जातीय पार्टीमा परिणत हुनेछन् । दल आफंै दौडिएर जातीय पार्टीमा जाने होइन, परिस्थिति नै त्यस्तो बन्छ । पार्टीमा संलग्न नेताहरू बिस्तारै बिस्तारै या सामूहिक रूपमै आ–आफ्ना जातका पार्टी या समूहतिर लाग्नेछन्, लाग्नुपर्ने परिस्थिति बन्नेछ । यसको उदाहरणका लागि हामीले अलि अगाडिसम्म अफ्रिकी केही मुलुकहरूमा निर्भर हुनुपथ्र्यो तर अब हाम्रै देशमा त्यसका उदाहरणहरू धमाधम स्थापित हँुदै गएका छन् । जस्तै, मधेसका नाममा जब राजनीतिक दल बन्यो विभिन्न राष्ट्रिय पार्टीमा भएका नेताहरू सो क्षेत्रीय दलतिर लागे । पद या सम्मानको दृष्टिले त नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी वा अन्य दलहरूमा हुँदा नै उनीहरू माथि थिए तर मधेसी दलमा नगए भोलि उनीहरूको अस्तित्व नै समाप्त हुन सक्ने देखेर उनीहरू त्यता लागे । महन्त ठाकुर, जयप्रकाश गुप्ता, जितेन्द्र देव, विजय गच्छदारलगायतका राष्ट्रिय नेताहरू रातारात क्षेत्रीय नेता बन्न पुग्नुको एक मात्र कारण आफ्नो अस्तित्वरक्षा नै हो । मधेसमा क्षेत्रीयताको नारा जब लगाइयो उहाँहरू त्यता नगई सुखै थिएन । अहिले मुलुकका विभिन्न स्थानमा थरुहटका नाममा आन्दोलन चलिरहेको छ । यही क्रममा आन्दोलनलाई सहयोग पुर्‍याउनका लागि भनी विभिन्न दलमा भएका थारू नेताहरूले धमाधम राजीनामा दिँदै थरुहट आन्दोलनमा केन्द्रित भएका समाचार आइरहेका छन् । यो आन्दोलन यसैगरी चर्किंदै गयो भने एमाले, काङ्ग्रेस, माओवादी, मधेसवादी जे–जेमा भएका भए पनि थारू नेताहरू उतैतिर लाग्नेछन् ।
जातीय राज्यका नाममा अहिले भइरहेको विषाक्त गतिविधि र जातकै नाममा राज्य विभाजनको मागलाई व्यवस्थापन गर्न सकिएन भने भोलि जनजाति नेताहरू जनजातिकै पार्टीमा लाग्नेछन् । मधेसका त मधेसी दलतिर लागिनै सके, क्षेत्रीको जब आफ्नै राजनीतिक दल हुनेछ र क्षेत्री नेताहरू त्यता नलागी धरै हुने छैन । त्यसैगरी ब्राह्मण, नेवार सबैको आ–आफ्नो दल हुनेछ र आफ्नो अस्तित्व रक्षाका लागि सबैले आ–आफ्नो जातका दलमा आफ्नो सक्रियता बढाउन बाध्य हुनुपर्नेछ । जब यस्तो अवस्था आउनेछ अनि कहाँ रहन्छन् राष्ट्रिय दल ? हामीले सुरुदेखि नै जातीय राज्यको कुरा अन्ततः माओवादीलाई घाँडो हुनेछ भनेर लेख्दै आएका थियौँ किनभने जातीय राज्यको अवधारणा माओवादीले नै ल्याएको हो । अहिले नै सडकमा बाहुनका नाममा अनेक नारा लाग्न थालिसके । प्रचण्ड, बाबुरामलगायतका ब्राह्मण नेताहरूले आफूविरुद्धको ह्युमिलिएसन कति दिन सुनेर बस्न सक्छन् र ? जातीय या साम्प्रदायिक भावना भन्ने कुरा यति खतरनाक कुरा हो कि केही अफ्रिकी मुलुकमा यसप्रकारको दुर्भावना फैलिएपछि लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई काटमार गर्ने परिस्थिति बनेको थियो । हाम्रा धेरै नेताले अन्तरजातीय विवाह गरेका छन् । जातीय सद्भावना भड्किएको अवस्थामा त्यसप्रकारका पारिवारिक संरचनाहरूमा पनि विखण्डन नआउला भन्न सकिन्न ।
सङ्घीय शासन प्रणालीले हाम्रोजस्तो मुलुकलाई विखण्डनको बाटोमा डोर्‍याउनेछ भनेर सुरुदेखि नै नेता चित्रबहादुर केसीले लिएको अडान अहिले आएर सही साबित भएको छ । जेसुकैका नाममा प्रदेशको निर्माण गरिए पनि त्यसले द्वन्द्व सिर्जना गरेरै छाड्ने देखिन्छ । प्रदेश कतिवटा हुन्छ भन्ने कुरा निश्चित नहुँदै राजधानी यही हुनुपर्छ भन्ने कुरामा होडबाजी सुरु भइसक्यो । यता अखण्ड जिल्ला, अञ्चल, क्षेत्र आदिको आन्दोलन जारी छ भने उता प्रदेशको राजधानी यही हुनुपर्छ भन्ने कुरा, राज्य यी सब कुरालाई ब्यवस्थापन गर्न सक्ने अवस्थामा छैन । साथै जातको नाममा राज्यको नामकरण गरेमा अहिले केही जातजातिका मानिसले त्यसलाई समर्थन गरे पनि भोलि त्यसलाई कायम गर्ने अवस्था हँुदैन । राई वा लिम्बू मात्र भनेर हुँदैन त्यहाँभित्र पनि विभिन्न जात छन्, फरक भाषा र संस्कृति छन् । भोलि वान्तावा राईको नेतृत्व पुमा वा चाम्लिङले स्वीकार गर्न नसक्ने स्थिति हुन सक्छ । त्यसैले अहिले बिनासोचविचार राज्य संरचनाजस्तो मुलुकलाई दूरगामी असर पर्ने कुरामा निर्णय लिँदा त्यसको असर पुस्तौंपुस्तामा पर्न सक्छ । सङ्क्रमणकालमा राज्य संयन्त्रहरू कमजोर भएका बेला मुलुकमा जे पनि हुने परिस्थिति बन्न सक्छ । हाम्रोजस्तो सयभन्दा बढी जातजाति र भाषाभाषी भएको देशमा न त सबैले राज्य प्राप्त गर्न सक्छन् न त त्यो व्यावहारिक नै हुन्छ । त्यसैले जातीय राज्यको अवधारणाबाट पछि हट्दै मुलुक बचाउनका लागि अहिले जे अवस्था छ त्यसैमा कायम हुनु नै बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको