हराएका १० हजार क्षयरोगीको खोजी सुरु

१४ श्रावण २०७१, बुधबार १३:२५ मा प्रकाशित

tuberculosisभक्तपुर, १४ साउन । राष्ट्रिय क्षयरोग केन्द्र थिमिले पहिचान हुन नसकेका १० हजार क्षयरोगीको खोजी कार्य सुरु गरेको छ ।

केन्द्रले सम्पर्क बाहिर रहेका अर्थात् पहिचान हुन नसकेका क्षयरोगका बिरामीको खोजी कार्य सुरु गरेको केन्द्रका निर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए ।

सम्पर्कमा नआएर हराएका तथा नयाँ क्षयरोगीको पहिचान गर्न केन्द्रले क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ गाउँमा कर्मचारी पठाएको छ । सुगमभन्दा पनि दुर्गम जिल्लाका गाउँगाउँमा पुगेर क्षयरोगीको खोजी कार्य केन्द्रले थालेको निर्देशक डा पन्तले बताए ।

पन्तले भने, ‘केन्द्रले क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँगाउँ जाने अभियान सुरु गरेको छ, यसबाट हराएका पुराना बिरामी र नयाँ क्षयरोगका बिरामीको समेत पहिचान हुनेछ ।’

केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत जिल्ला जिल्लामा माइक्रोस्कोप मेसिन लगेर दुईसातादेखि लगातार खोकी लागेको, खकारमा रगत देखिएको, खान मन नलाग्ने जस्ता क्षयरोगका शङ्कास्पद बिरामीको खकार परीक्षण गरी क्षयरोगीको पहिचान गर्न सुरु गरेको छ ।

यसका लागि केन्द्रले ५५४ वटा सेन्टरमार्फत खकार परीक्षण गरेको ९० मिनेटभित्र रिपोर्ट आएर क्षयरोग भए नभएको पत्ता लगाएर क्षयरोगको पहिचान गर्ने गरी टोली परिचालन गरेको डा पन्तले बताए ।

केन्द्रले यसका लागि गाउँगाउँमा आमा समूहलाई समेत परिचालन गर्ने भएको छ । डा पन्तले भने, ‘यो अभियानमा आमा समूहलाई समेत परिचालन गरेर गाउँमा शङ्कास्पद क्षयरोगी भएमा त्यसको खोजी गरिने र घरका कुनै सदस्यलाई क्षयरोग भएको छ वा क्षयरोगको शङ्कास्पद व्यक्ति छन् भने पहिचान गराएर उपचारमा सुरु गर्ने गरी कार्य थालनी भएको छ ।’

तत्कालै क्षयरोग भए नभएको पहिचान गर्ने उपकरण (जिन एक्सपट मेसिन) अहिले देशका विभिन्न २२ ठाउँमा राखिएको र तत्कालै थप सात स्थानमा वितरण गर्न लागेको उनले जानकारी दिए ।

विगतमा क्षयरोग भए नभएको पत्ता लगाउन बिहान, दिउँसो र बेलुकाको तीनपटक खकार परीक्षण गर्नुपर्ने भएपनि अहिले यो मेसिनबाट बिहान र दिउँसो दुईपटक मात्र खकार परीक्षण गर्दा नै पत्ता लाग्ने भएको छ ।

नेपालमा हाल ४५ हजार क्षयरोगी रहेको अनुमान गरेपनि ३६ हजार क्षयरोगीको उपचार भइरहेको र बाँकीको पहिचान हुन सकेको छैन । त्यसैको खोजी र नयाँ क्षयरोगीको खोजीमा केन्द्र जुटेको हो ।

सरकारले जटिल खालका ३८० जना क्षयरोगका बिरामीलाई मासिक एक हजार ५०० भत्ता दिएर उपचार गरिरहेको छ भने पुनः बल्झिए आएका १७ प्रतिशत क्षयरोगीलाई मासिक ५०० भत्ता दिएर उपचार गरिरहेको छ ।

त्यस्तै एचआइभी एड्स भएका ७०० क्षयरोगीको उपचार भइरहेको छ भने प्रत्येक क्षयरोगका बिरामीलाई एचआइभी परीक्षण गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०