‘तर्बान बम’ आक्रमणमा करजईका भतिजाको मृत्यु

१४ श्रावण २०७१, बुधबार ०८:२७ मा प्रकाशित

Hashmat Karzai, seen here with his pet lionकान्धार (अफगानिस्तान), १४ साउन । अफगानिस्तानका राष्ट्रपति हमिद करजईका प्रभावशाली भतिजा हस्मत करजईको मंगलबार एक आत्मघाती आक्रमणमा मत्यु भएको जानकारी अधिकारीले दिएका छन् । यसबीच, अफगानिस्तानको नयाँ नेता निर्धारण हुने गरी भएको राष्ट्रपति पदको निर्वाचनको विषयमा विवाद अझै बढेको छ । यस अवधिमा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा रहेका विदेशी सेना फिर्ता जाने भएका छन् ।

हस्मत करजई राष्ट्रपति पदका उम्मेदवार अस्रफ घानीका लागि दक्षिणी प्रान्त कान्धारमा निर्वाचन अभियान व्यवस्थापक हुनुहुन्थ्यो । हाल राष्ट्रपति पदका दुई उम्मेदवारबीच निर्वाचनका विषयमा विवाद चुलिएको छ र यसले नराम्रो जातीय अस्थिरता उत्पन्न गराउन सक्ने अनुमान गरिएको छ ।

हस्मतको घरमा सिंह पालिन्छ भन्ने भनाइ अफगानिस्तानमा प्रचलनमा छ । कान्धार नगरको बाहिरी भागमा अवस्थित उनको घरमा एक व्यक्तिले आफ्नो तर्बान (पगडी)मा विस्फोट पदार्थ लुकाइ मुसलमानको धार्मिक महिना रमजानको अन्त्यमा इदको बिदा मनाउन आइ उक्त आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ ।

कन्धार प्रान्तीय गभर्नरका प्रवक्ता दावा खान मिनापालले आत्मघाती आक्रमणकारीले पाहुनाको रूपमा हस्मत करजईको घरमा उनलाई शुभकामना दिन आएको जानकारी दिए ।

प्रवक्ता मिनापालले यी व्यक्तिले हस्मतलाई आलिंगन गरेपछि विस्फोट गराएको र त्यसका कारण उनको मृत्यु भएको उल्लेख गरे ।
घानी तथा प्रतिपक्षी नेता अब्दुल्लाह अब्दुल्लाहबीच जुन १४ मा भएको दोस्रो चरणको निर्वाचनका विषयमा विवाद कायम छ । उनीहरू दुवैले उक्त निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।

प्रारम्भिक नतिजाअनुसार घानीले विजय हासिल गरेको देखिएको छ । यसोभए पनि अब्दुल्लाहले आफ्नो पराजय अस्वीकार गर्दै मतपेटिकामार्फत नै व्यापक धाँधली भएको आरोप लगाएपछि खसेको मतको परीक्षण आरम्भ भएको छ ।

अफगानिस्तानमा सन् १९९२ देखि १९९६ सम्म भएकै जस्तो जातीय हिंसा तथा गृहयुद्ध फैलनसक्ने धेरैले आशंका गर्न थालेका थिए भने यसलाई हटाउन दुवै उम्मेदवार मत परीक्षण गर्न सहमत भएका हुन् ।

अब्दुल्लाहले घानीको समकक्षमा अर्को सरकार गठन गर्ने तयारी गरेपछि अमेरिकी विदेशमन्त्री जोन केरी अफगानिस्तान आइपुगेका थिए । उनले नै ८० लाख मत पुनः गणना गर्न दुवै पक्षलाई मनाएका हुन् ।

राष्ट्रपति करजईले विजयी व्यक्तिलाई २ अगस्तमा शासन हस्तान्तरण गर्ने कार्यक्रम छ ।

पहिलो चरणको मतदानमा ताजिक तथा उत्तरी भागमा बसोबास गर्ने समूहको समर्थनमा अब्दुल्लाहले विजय हासिल गरेको देखिएको थियो । दोस्रो चरणको निर्वाचनमा घानीले विजय हासिल गरेको देखिएको छ र उनलाई दक्षिण तथा पूर्वी पस्तुन आदिवासीले समर्थन गरेको बताइएको छ ।

हस्मत करजईको हत्याका लागि तत्कालै कसैले पनि जिम्मेवारी लिएको छैन । अन्य थप व्यक्तिको मृत्यु भएको देखिएको छैन ।
सन् २०११ मा पूर्व राष्ट्रपति बरहनुद्दिन रब्बानीको पनि तर्बान बम आक्रमणकै कारण मृत्यु भएको थियो ।
राष्ट्रपति पदको निर्वाचनको अभियानमा हस्मत करजईले पहिले राष्ट्रपतिका भाइ कयुम करजईका लागि काम गरेका थिए । पछि कयुम निर्वाचनबाट बाहिरिएपछि उनले घानीका लागि काम गरेका थिए । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष