लण्डन घोषणापत्र जारी गर्दै एनआरएन काउन्सील बैठक सम्पन्न (घोषणापत्रको पूर्ण पाठसहित)

१० जेष्ठ २०६९, बुधबार १८:५१ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन ।  नेपाल र नेपालीप्रति गहिरो चिन्ता सहित आफ्नो अधिकार सुनिश्चितताको माग गरेको एनआरएन दोश्रो काउन्सील बैठक लण्डन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार बेलायतमा रहेका करीब एकसयभन्दा बढि नेपाली संघसंस्थाहरुको सहभागितामा सम्पन्न सो बैठकले ९ बुंदे घोषणापत्र जारी गरेको थियो । घोषणा पत्रमा नेपालमा भर्खरै भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरुलाई सक्दो सहयोग गर्न अपलि गरेको छ ।
यस्तै संविधानमा एनआरएन नागरिकताको सवाल, तोकिएको समयमा संविधान ल्याउन सम्बन्धित सरोकारवालासंग माग लगायतका बुंदा घोषणा पत्रमा समेटिएका छन ।
यसअघि काउन्सील बैठकको उद्घाटन सत्रमा बोल्दै एन आर एन आइसीसीका संरक्षक एवं संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एन आरएनको लगानी आफुले ग्यारेण्टी गर्ने विश्वास दिएका छन । महतोले ढुक्क भएर देशमा लगानी गर्न आग्रह गर्दै लगानी डुब्ने कुनै सम्भावना नरहेको बताए ।
व्यक्तिभन्दा देश धनी हुनुपर्ने बताउंदै देश धनी बनाउनतर्फ लाग्न एन आर एनलाई उनले आग्रह गरे । एन आर एनको सपना नै धनी र सम्बृद्ध नेपाल भएकोले त्यो सपना साकार गर्न महतोले आग्रह गरेका थिए । नेपालमा लगानी डुब्ने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारेका थिए ।

कार्यक्रममा आइसीसीका अध्यक्ष जीवा लामिछानेले नेपालमा लगानी गर्न एन आर एनलाई विशेष आग्रह गरे । उनले नेपालको जलविद्युतमा लगानी गर्न सहभागिहरुलाई अपिल गर्दै जलविद्युत अत्यान्तै आशाबादी क्षेत्र भएको बताए । ब्यापारमा जोखिम हुने भएपनि बिद्युतमा लगानी गर्दा जोखिम नहुने विश्वास दिंदै उनले नहिच्किचाई लगानी गर्न आग्रह गरेका थिए ।

नेपालको अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा केहि निराशा छाएपनि त्यसले असर नपर्ने उनले बताए । देशमा शान्ति स्थापना भई संविधान बन्न लाग्नु शुभसंकेत भएको बताउंदै उनले संविधानमा नागरिकताको प्रयास अन्तिम दिनसम्म जारी राख्ने बताए ।

एन आरएन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दुतावास लण्डनका राजदुत डा. सुरेशचन्द्र चालीसेले एन आर एन छोटो समयमा ठुलो उपलब्धि हासील गर्न सफल भएको बताए । नेपालमा लगानीको वातावरण भएको बताउंदै डा. चालीसेले त्रिपक्षिय लगानीको अवधारणा ल्याउन एन आर एनलाई सुझाव दिए । एन आर एन, स्वदेशी व्यवसायी र विदेशी लगानीकर्ताको संयुक्त लगानीमा विकासका कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

एन आर एन युकेका संरक्षक प्रा. डा सुर्य प्रसाद सुवेदीले प्रवासी नेपालीबाट देशले ठुलो अपेक्षा गरेको बताउंदै उनले मोडेल प्रोजेक्ट देखाउन एनआरएनलाई आग्रह गरे । देशमा पुर्ण संविधान आउने सम्भावना नरहेको जीकिर गर्दै कानुनवेत्ता समेत रहेका सुवेदीले थामथुमे संविधान आउनसक्ने अनुमान लगाए । देश राष्ट्रपतिय शासनमा जान नसक्नु प्रचण्ड त्रास हावी भएको उनले दावी गरेका थिए ।
एन आर एन आइसीसीका उपाध्यक्ष क्याप्टेन हितमान गुरुङले एनआरएन नागरिकताको पछिल्लो प्रगतीका विषयमा जानकारी गराउंदै सांस्कृतिक, आर्थिक, धार्मिक अधिकार सहितको नागरिकता आउन लागेको बताए ।

एन आर एन युकेले आयोजना गरेको बृहत काउन्सील भेला राजदुत डा. चालीले, एन आर एन भेटेरानहरु अध्यक्ष लामिछाने, संस्थापक अध्यक्ष डा. महतो, संरक्षक प्रा. सुवेदी र उपाध्यक्ष क्याप्टेन गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

एन आर एन युकेका संयोजक रामशण सिंखडाद्धारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक महेन्द्र कंडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैठकमा एनआरएन पदाधिकारीहरु, विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु, आइसीसी सदस्यहरु विश्व आदर्श पण्डित, राजेन कंडेल, शंकर भण्डारी, युरोप सहसंयोजक लक्ष्य गुरुङ लगायतको सहभागिता रहेको थियो ।
यसपछि चलेको दोश्रो चरणको कार्यक्रममा एन आरएन आइसीसीका प्रवक्ता डा. हेमराज शर्माले नेपाल हाउसका सम्बन्धमा पावर प्वाइन्ट प्रिजेण्टेशन दिएका थिए । सम्मेलनमा डा. कृष्ण अधिकारीले बेलायतका संघसंस्थाबीचको सम्बन्धका बारेमा धारणा राखेका थिए ।
दोश्रो काउन्सील बैठक लण्डन घोषणापत्र, २०१२
एनआरएनए, युके
गैर आवासीय नेपाली संघ युकेको आयोजनामा आज मिति २० मे २०१२ मा भएको दोश्रो काउन्सिल बैठकमा १०८ सघंसस्थाको उपस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुबीच छलफल गरी निम्न अनुसारको लण्डन घोषणापत्र जारी गरिन्छ ।

१.सेती नदीमा गएको बाढि र सिरहामा भएको आगलागीप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोगका लागि अपिल गर्दछ ।

२. नेपालमा जारी अस्थिरताको अन्त्य गर्दै यहि जेष्ठ १४ गते भित्र लोकतान्त्रिक संविधान निसर्त जारी गरीयोस । आगामी संविधानमा एक पटकको नेपाली सधैंको नेपाली सुनिश्चत गर्न माग गर्दैछ । सो मागलाई अघि बढाउन भोलि विहान नेपाली दुतावासमा ज्ञापनपत्र बुझाउने घोषणा गर्दछ ।

३. भूतपूर्व गोर्खा सैनिकहरुले उठाएका न्यायोचित र समानतामुलक मागहरुप्रति ऐक्यवद्धता जाहेर गर्दै आजको बैठक आन्दोलनलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

४. सामुहिक लगानीको प्रतिवद्धता समायानुकुल, सान्दर्भिक र आजको आवश्यकता तथा एनआरएनहरुको राष्ट्रप्रतिको दायित्व भएको महसुश गर्दै लगानीप्रति पुर्ण प्रतिवद्धता जाहेर गर्दछ ।

५. बेलायतमा बढ्दो नेपाली समाजलाई ध्यान दिंदै सम्पुर्ण नेपाल झल्काउने नेपाल हाउस निर्माण जरुरी रहेको महसुश गर्दै त्यसका लागि पहिलो पुर्वाधार खडा गर्न महायज्ञ गर्न एन आर एन युकेका अध्यक्ष कुल आचार्यको संयोजकत्वमा सम्पुर्ण संघसंस्थाहरुको प्रतिनिधित्व सहितको आयोजक समिति निर्माण गर्ने निर्णय गर्दछ ।

६. बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुका आ–आफ्नोबीचमा तथा एन आर एन युके र सबै संघसंस्थाबीचमा कार्यगत र भावनात्मक एकता अभिबृद्धि गर्नका लागि आपसमा नजिक रही अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछ । यसैको फलस्वरुप सम्पुर्ण संघसंस्थाहरुको परिचयात्मक स्मारिका प्रकाशन गर्ने निर्णय गर्दछ ।

७. बेलायतमा बसोबास गर्दै आएकी गैर आवासीय नेपाली सुश्री सृष्टी श्रेष्ठलाई नेपाल सुन्दरी २०१२ घोषित भएकोमा यो बैठक गर्व गर्दै हार्दिक बधाई ज्ञापन गर्दछ ।

८. एनआरएन युकेका अध्यक्ष कुल आचार्यबाट कार्यसमितिको तर्फबाट प्रश्तुत कार्यक्रम तथा योजनाहरुलाई एनआरएन युकेको महत्वपुर्ण उपलब्धि ठहर गर्दै यो बैठक सहर्ष अनुमोदन गर्दछ ।

९. बैठक विशिष्ठ अथितिहरु राजदुत डा. सुरेशचन्द्र चालिसे, एन आर एन आइसीसीका अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र एन आर एनका संरक्षक प्रा. सुर्यप्रसाद सुवेदीको उपस्थितिका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

मितिः २० मे २०१२
लन्डन

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद