कानुनी बाटो छोडी जथाभावी हिँड्न सक्दिनँ :: सुवास निरौला (कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड)

९ श्रावण २०७१, शुक्रबार ०४:२८ मा प्रकाशित

० लगभग दुई महिना लामो समयपछि नेपाल पर्यटन बोर्डले नियमित काम सुरु गरेको छ, दुईमहिने रिक्तता पूरा गर्न के गर्दै हुनुहुन्छ ?

– हो, लामो ग्यापपछि काम सुरु गरेकाले गर्न बाँकी काम धेरै नै छन् । तर, यी सबलाई सामान्य तवरले नियमित प्रक्रियामा लैजान म प्रतिबद्धताका साथ लागिपरेको छु । सेवाको पुरानै प्रवाह सुरु भइसके पनि यसले पूर्णता पाएको छैन, छिट्टै पूर्णता पाउने विश्वास दिलाउन चाहन्छु ।

० आन्दोलनकारीले उठाएका मुद्दालाई कसरी लिनुभएको छ ?

– व्यवसायीका नाममा हुँदै नभएका अनावश्यक विषयलाई लिएर गरिएको आन्दोलनले निर्दोष संस्थालाई चोट पुर्‍याउने, यसको छविमै आँच आउने काम गर्‍यो । संस्थाको छवि मात्र नभई व्यक्तिको चरित्रहत्या गर्ने खालका अनर्गल लान्छना लगाउने काम भए । यसखाले घटनाले जसलाई पनि दु:खी बनाउनु त स्वाभाविकै हो । यो व्यथा आफ्नै ठाउँमा छ । तर, व्यक्तिगत रूपमा लागेको चोटले भन्दा बढी निरर्थक आन्दोलनले अन्तर्राष्ट्रिय रूपमै नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश प्रवाहित गरेको विषयले मलाई दु:खी तुल्याएको छ । यहाँको बारेमा यसरी नकारात्मक सन्देश फैलाउने काम गर्नु एकप्रकारले राष्ट्रघात नै हो । तथापि, हामी ती सबै घटनाक्रमबाट बाहिर निस्केर आफ्नो कर्तव्य पालनामा कटिबद्ध भएका छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवम् सरकारको निर्देशनअनुसार काम अघि बढिरहेको छ ।

० पर्यटन बोर्डप्रति भन्दा पनि आन्दोलन व्यक्तिविशेष या तपाईंविरुद्ध रहेको जस्तो देखियो नि, किन होला ?

– त्यही त अचम्म छ । उहाँहरूले व्यक्तिगत रिसइवीबाट प्रेरित व्यवहार प्रदर्शन गरेर आफैँलाई हल्का तुल्याए पनि उहाँहरूप्रति मेरो कुनै रिसइवी छैन । तर, निश्चित उद्देश्यसहित कर्तव्य निर्वाहका लागि ऐन–नियमअनुसार काम गर्ने बोर्डले कथित आन्दोलनकारीले जे–जे चाह्यो त्यही गर्न त सक्दैन/मिल्दैन । के नियम र विधान मिचेर उनीहरूले भनेजस्तो नै हुनुपर्ने ? कुनै निश्चित व्यक्ति, सङ्गठन या भूगोलको प्रभावमा बोर्ड चल्नुपर्ने ? यो सम्भव छैन र यसरी जथाभावी काम गर्ने स्वभावका व्यक्तिभित्र म किमार्थ पर्दिनँ । यदि त्यस्तै माग लिएर आन्दोलन गरिएको हो भने त त्यसको कुनै अर्थ रहला भन्ने मलाई लाग्दैन ।

० तपाईंलाई यसरी किन टार्गेट बनाएका होलान्, उनीहरूको मकसद के हुनसक्छ ?
– त्यो म के जानुँ र कसरी भनुँ ? आन्दोलन गर्ने साथीहरूलाई नै सोध्नुपर्ने प्रश्न हो यो त । तर, म एउटै कुरा के भन्छु भने व्यवसायी, विद्यार्थी, कर्मचारी, सिपाही या जे भए पनि सम्बन्धित पेसाभित्रको वर्गीय चरित्र हुनु जरुरी हुन्छ । पर्यटन व्यवसायीका नाममा केही व्यक्तिहरू आन्दोलनमा उत्रिन त उत्रिए, तर उनीहरूमा मैले वर्गीय चरित्र देखिनँ । आफूलाई व्यवसायी भनेर चिनाउन खोज्ने तर व्यसायीहरूको धर्म निर्वाह गरेको पाइनँ । पर्यटन व्यवसायीले त पर्यटन बोर्डको प्रवद्र्धन चाहनुपर्ने हो, तर बोर्डको काम ठप्प पारेर यसलाई धराशयी तुल्याउन उहाँहरू किन लाग्नुभयो ? हो, यहाँ व्यवसायीले उठाउनुपर्ने कुनै विषय छ, कहीँ खराबी भएका छन् भने त्यसलाई व्यावसायिक धर्ममा रहेर शालीन या सभ्य तरिकाले आफ्ना माग राख्न सकिन्छ । व्यवसायसँग सम्बन्धित मुद्दा उठाउनु अस्वाभाविक हुँदैन । आन्तरिक प्रशासनमा के भयो भनेर कुरा उठाउन पनि सकिन्छ । सेवा चित्त बुझेन भने, बोर्ड–कर्मचारीबाट दु:ख दिइएको छ भने, हामीले उहाँहरूबाट गलत फाइदा लियौँ भने त्यसविरुद्ध आवाज उठाउने अधिकार स्वाभाविकै छ । तर, कुन कर्मचारी कहाँ सरुवा हुनुपर्ने ? कुन कर्मचारीले के काम गर्नुपर्ने ? यस्ता विषयमा बाहिरबाट अनधिकृत रूपले हस्तक्षेप गर्न खोज्ने या ‘निर्देशन’ नै दिने अधिकार त छैन नि † पर्यटन बोर्डले आफ्नो ऐननियम–विनियममा रहेर काम गरिरहेको छ नि । यसका लागि पर्यटन मन्त्रालयको अध्यक्षतामा सिङ्गै समिति बसिरहेको छ । उसले हेरिहाल्छ । यहाँ कुनै त्यस्तो अनियमितता हुन्छ भने के राज्यका यति धेरै निकाय चुप बस्छन् ? कस्तो कमजोरी हुँदा के गर्ने, कस्तो कारबाही गर्ने भन्ने कुरामा जिम्मेवार निकाय नै छन् नि † यो सब प्रायोजित रूपमा गरिएको काम हो जस्तो मलाई लाग्छ । यस्तो कुरामा अब हामीले बोलिरहनु आवश्यक नै छैन ।

० विवादमा तानिएपछि संस्थाको प्रमुख हुनुको नाताले तपाईं चुप बस्न त कसरी मिल्ला र ?

– यो बेतुकको आन्दोलनको उद्देश्य के हो भन्ने सन्दर्भमा मिडियाका साथीहरूलाई पनि राम्रै जानकारी हुनुपर्छ । कानुन हातमा लिएर निषेधको काम गर्ने, दबाब दिने काम गरिन्छ भने त्यसलाई स्वीकार गर्न नसक्ने स्वभावको व्यक्ति हुँ म । राजनीतिक दृष्टिकोणले को कुन पार्टीमा छन्, कति शक्तिशाली छन् भन्ने मेरो सरोकारको विषय भएन । मेरो सरोकार भनेको यहाँको ऐननियमले दिएको दायराभित्र रहेर काम गर्ने, माथिल्लो निकायले दिएको निर्देशन पालना गरेर अघि बढ्ने हो । कुनै पनि व्यक्ति आफैँमा सर्वेसर्वा हुँदैन, कानुन र विधिले सर्वेसर्वा बनाएको हो । त्यसैका आधारमा काम गर्ने हो । त्यसैले, कानुन नै ठीक छैन भने त्यसलाई प्रक्रिया पुर्‍याएर बदल्न सकिएला, तर कानुनले व्यवस्था गरेको कुराको उल्लङ्घन गर्नचाहिँ कसैले पनि मिल्दैन । आन्दोलनमा उत्रेका व्यवसायीले मुलुकलाई के योगदान पुर्‍याउनुभएको छ भन्ने पनि हेर्नुपर्ला । आफ्नो स्वार्थका लागि जथाभावी गर्नेले यसबाट भएको क्षतिको जवाफदेहिता पनि लिनुपर्छ भन्ने मेरो धारणा छ ।

० आन्दोलनको क्रममा भएको क्षतिको पूर्ति कसरी होला त ?

– यो राज्यले खोज्नुपर्छ, खोज्ला नै भने लागेको छ । तथाकथित आन्दोलनको नाममा यहाँ भौतिक मात्र नभई मानसिक र व्यक्तिगत प्रतिष्ठामा पनि क्षति पुगेको छ । साइबर क्राइममा जेलमा बस्नुपर्छ, अदालतको अपहेलना गर्ने मानिस जेल बस्नुपर्छ भने राज्यलाई नै हानि–नोक्सानी पुर्‍याउने मानिसले चाहिँ सजाय भोग्नुपर्दैन र ? राज्यले सडकमा राखेको बत्तीको चिम फुटाउँदा पनि सजाय भोग्नुपर्छ । यहाँ त राज्यले करोडौँको लगानी गरेको छ, त्यसलाई क्षति पुर्‍याउने काम भएको छ । त्यसै छोड्न त मिल्दैन होला राज्यले ।

० आन्दोलन भए पनि नेपालमा पर्यटन आउने क्रम त रोकिएन भनिन्छ नि, हो ?

– आफूलाई पर्यटन व्यवसायी भन्नेहरूले आन्दोलन गरे, तर नेपालमा पर्यटक घट्नुको साटो बढेको देखियो । यसले के प्रस्ट पारेको छ भने उहाँहरूको दाबीअनुसार पर्यटन क्षेत्रमा खासै योगदान त रहेनछ । यदि सबै व्यवसायीको प्रतिनिधित्व उहाँहरूले नै गर्नुभएको थियो भने त पर्यटकको आगमन घट्थ्यो होला नि ।

० तर, असन्तुष्ट पक्षसँग बोर्डले सहमति र सहकार्य गरेरै अघि बढ्नुपर्ला नि, होइन र ?

– सहमति र सहकार्यको विरोध मैले गरिरहेको छैन । तर, सही कुरामा मात्र सहकार्य हुन्छ, बोर्ड त्यसका लागि तयार छ । जसले गल्ती–कमजोरी गरेको छ, त्यसले कान समात्नुपर्छ । बोर्डको गल्ती थियो भने म त्यसका लागि तयार छु । तर, यहाँ त कानुनी दायरामा रहेर विरोध गर्न पाइने कुराको उपेक्षा गर्दै बलात् तवरमा बोर्ड नै कब्जा गर्न खोजियो । यो दु:खद् सन्दर्भ हो ।

० बोर्डलाई अझ चुस्त र प्रभावकारी बनाउन तपाईंले के योजना अघिसार्नु भएको छ नि ?

– कुनै एक व्यक्तिले योजना बनाउने र त्यसैको भरमा संस्था चल्छ भन्ने भ्रमबाट हामी मुक्त हुनु जरुरी छ । संस्था कुनै एक व्यक्तिले चलाउने होइन । संस्थाको प्रमुख व्यक्ति त यसको नीति–नियम कार्यान्वयन गराउने सर्वेसर्वा मात्र हो । बोर्ड वा समितिले काम निर्धारण गर्छ र यसरी निर्धारण गरिएको कुरालाई कार्यकारी प्रमुखले कार्यान्वयन गर्छ । त्यसरी काम गर्दा कतिपय कुरामा अप्रिय निर्णय पनि लिनुपर्ने हुन्छ । यसबाट विवाद सिर्जना हुन पनि सक्छ । तर, विवाद पैदा होला भनी हात बाँधेर बस्न त मिल्दैन । पर्यटन बोर्डको सबैभन्दा वरिष्ठ कर्मचारीका नाताले म कार्यकारी प्रमुख भएर कानुनसम्मत काम गरिरहेको छु । मसँग कि जिम्मेवारी स्वीकार्ने नभए पदबाट राजीनामा दिएर जानेभन्दा अर्को विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको