केपी ओलीबाट के अपेक्षा गर्ने ? :: देवप्रकाश त्रिपाठी

९ श्रावण २०७१, शुक्रबार ०४:२५ मा प्रकाशित

मृत्युलाई सहजै स्वीकार गर्ने मानिसबाट जस्तासुकै निर्णय हुनसक्छन् । मृत्युबोध भएका मानिसमा लोभ रहँदैन, त्यसैले सार्वजनिक जिम्मेवारी प्राप्त गर्दा पनि ती भ्रष्टाचारबाट टाढा रहन सक्छन् । मृत्युलाई निकटबाट देख्ने मानिस साहसी हुन्छन्, मानिसको जीवनमा सबैभन्दा ठूलो डर मृत्युको हो, मृत्युसँग नडराउने मानिस कोही केहीप्रति आश–त्रास राख्दैनन्, त्यसैले यस्ता मानिस खतरनाक निर्णय गर्न पनि अग्रसर रहन्छन् । त्यस्ता मानिस निर्मोही हुन्छन् र देशप्रति इमानदार भइदिए भने अवसर प्राप्त हुँदा मुलुकका लागि केही गर्ने पनि तिनै हुन्छन् । केपी शर्मा ओली त्यस्ता एक पात्र हुन् जसले जाँदाजाँदै देशलाई निकास, जनतालाई विकास र आफ्ना लागि सुस्मरण कायम राख्ने चाहना राखेका छन् । केपीसँग मृत्युको साक्षात्कार अनेकौँपटक भएको हो ।

झापा विद्रोहताका उनका अनेक मित्र मारिए, संयोगले उनी बचे । चौध वर्षको कठोर जेल यातनाका क्रममा अनेक रोगले उनैलाई बारम्बार हमला गरिरह्यो, हरेकपटक जोगिँदै गए, जीवनको उत्तराद्र्धमा आइपुग्दा आफ्ना दुवै मिर्गौलाले उनलाई साथ दिएनन्, त्यसपछि ओलीले भन्न थालेका छन्, ‘प्राकृतिक रूपमा प्राप्त आफ्नै मिर्गौलाले त धेरै लामो समय काम दिन सकेन भने अर्काको मिर्गौलाले जीवन लम्ब्याएर पूरा आयु पुर्‍याइदिने अपेक्षा मैले गरेको छैन । बाँकी हरेक क्षणहरूको सदुपयोग गर्ने र राष्ट्रका नाममा पहिले नै अर्पण गरिसकेको यो जीवनलाई देश र जनताका निम्ति पूरै उपयोग गर्नेबाहेक अर्को कुनै चाहना मसँग रहेन ।’ ०६४ मा संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो र केपी ओली उम्मेदवारको रूपमा चुनावी मैदानमा खट्ने तयारी गर्दै थिए । झापा प्रस्थान गर्नुअघि उनले पत्रकारितामा क्रियाशील केही जिम्मेवार नागरिकसँग भेटघाट गर्ने इच्छा राखेछन् र हरिहरभवनस्थित एक सामान्य रेस्टुरेन्टमा पत्रकारिता क्षेत्रका पन्ध्र सक्रिय व्यक्तिसँग उनको भेटघाट भयो । जङ्गल युद्धमा रमिरहेका माओवादी खुला मानवसमाजमा प्रकट भएको दुई वर्ष पूरा भएको थिएन । केपी ओली क्रान्तिका नाममा माओवादीबाट भएका क्रियाकलाप र तिनका नेताबाट प्रकट अभिव्यक्तिबाट आजित बनेका थिए ।

परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेका ओलीमा माओवादी विद्रोहका विरुद्ध विद्रोह गर्ने चाहना भएर पनि संयम राख्नुपर्ने बाध्यता थियो । तथापि बेलाबखत केपी ओलीले दिने अभिव्यक्तिले प्रजातन्त्रप्रति आस्थावान हरेक नागरिकलाई राहत दिने गर्दथ्यो । गिरिजाप्रसाद कोइराला माओवादीप्रति संवेदनशील थिए, प्रचण्डहरूको चित्त दुख्ने चिन्ताले उनी एक शब्द बोल्दैनथे । तात्कालिक गृहमन्त्रीमा पनि माओवादीप्रति एकप्रकारको बेग्लै मनोविज्ञान थियो । प्रधानमन्त्री र गृहमन्त्री नै माओवादीमैत्री भइदिएपछि काङ्ग्रेसका अरू कसैले माओवादीलाई धक्का पुग्ने प्रकारका अभिव्यक्ति दिन सम्भव थिएन । त्यसैले आमकाङ्ग्रेसजन तथा अन्य प्रजातन्त्रप्रेमीहरू हिन्दी फिल्म ‘सोले’मा डाँकुको भूमिका निर्वाह गर्ने अमजद खानका अघिल्तिर नायिका हेमा मालिनीले नाचेझैँ रोदनपूर्ण मनोरञ्जन लिन–दिन त्यसताक बाध्य थिए । त्यस्तो समयमा केपी ओलीको भूमिका नेपाली राजनीतिमा ‘सोलेको अभिताभ बच्चन’को जस्तो महसुस गरिएको थियो । त्यसबेला काङ्ग्रेसका समर्थकहरू गिरिजाप्रसाद कोइराला के भन्छन् त्यतातिर चासो कम, केपी ओली के बोल्छन् त्यता चासो र जिज्ञाशा बढी राख्थे । ०६३ पछिको पौने एक दशकभित्र केपी ओलीले आफू एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी भएको प्रमाणित गरिसकेका छन् ।

पन्ध्र पत्रकारसँगको भेटमा केपी ओली निकै खुले र आफ्ना अनेक अनुभव र ज्ञानका पोका खोले । ती सबै रोचक भए पनि उनको एउटा अभिव्यक्ति यहाँ उल्लेख गर्न सान्दर्भिक र उचित ठानेको छु । ओलीले भावुक होइन स्थिर हुँदै भनेका थिए, ‘म अहिले नेकपा एमालेको नेताका रूपमा चिनिन्छु, मेरो यो परिचय ठीक हो, तर म एमाले नेताको परिचय बनाउने उद्देश्यले राजनीतिमा संलग्न भएको थिइनँ । मेरो उद्देश्य केवल देशलाई समृद्ध, शान्त र स्थिर बनाउनु थियो र छ । त्यसका लागि हामीले एउटा आन्दोलनको आरम्भ गरेका थियौँ । देशमा सकारात्मक परिवर्तनको अभियन्ता बन्दै जाँदा म एमालेको नेताका रूपमा चिनिएको छु, यो एउटा प्राविधिक पाटो हो । एमालेको कार्यकर्ता या नेता जुनसुकै रूपमा चिनिएको भए पनि म एउटा असल नेपाली हुँ र त्यही रूपमा मर्न चाहन्छु । म मर्दा पार्टीविशेषको झन्डा ओढाइरहन आवश्यक छैन, भविष्यमा पार्टीको झन्डा ओढ्न पाउने गरी मर्नका लागि म आन्दोलनमा होमिएको थिइनँ, देशका लागि सोच्दा पार्टीमा आबद्ध होइएको हो, त्यसैले म मरेपछि कुनै पार्टीविशेषको झन्डा नओढाइयोस् । मलाई कुनै झन्डा ओढाइरहन आवश्यक छैन, यदि मरेपछि झन्डा ओढाउनैपर्ने भएछ भने त्यो नेपालकै ओढाइयोस् पार्टीविशेषको होइन, तर कार्यकर्ताचाहिँ म नेकपा एमालेकै हुँ यसमा द्विविधा नरहोस् ।’

यसरी केपी ओलीले देशप्रतिको आफ्नो समर्पणभाव प्रकट गरिरहँदा उपस्थित सबै पत्रकार स्तब्ध र भावुक बनेका थिए । त्यसबेला ओलीको अभिव्यक्ति सुन्दा हामीलाई ‘यिनले आफ्नो जीवन धेरै छोटो देखेका छन्’ भन्ने लागेको थियो । उनी या हामी जसलाई जे लागेको भए पनि यतिबेला केपी ओली नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलको नेताका हैसियतमा छन् । उनको निर्णयले देशको राजनीतिमा निर्णायक प्रभाव पार्ने अवस्था छ र केपी ओलीका हरेक निर्णय देश, जनता र प्रजातन्त्रका विरुद्ध हुनेछैन भन्नेमा पूर्ण विश्वस्त रहन सकिने स्थिति पनि छ ।

देशको प्राथमिकता विकास र समृद्धि हो, राजनीतिकर्मीहरूले हालसम्म राजनीतिकेन्द्रित राजनीतिमा सीमित हुँदै आएका छन् । त्यसैले मुलुक अति राजनीतीकरणबाट पीडित बन्न पुगेको छ, केपी ओलीले आँट गरे भने अतिराजनीतीकरणको दलदलबाट मुलुकलाई मुक्त गराउन सम्भव छ । मुलुकलाई समृद्धितर्फ लैजान लगानीमैत्री वातावरण बन्न आवश्यक हुन्छ । लगानीमैत्री वातावरणका निम्ति सबभन्दा पहिले ट्ेरड युनियनहरूको भूमिकालाई निर्मूल तुल्याउन नसकिए पनि नियन्त्रित गर्नुपर्ने हुन्छ । पछिल्लो समय आर्थिक उन्नतिको शिखर चुम्दै गरेका मुलुक दक्षिण कोरियाका पार्क चुङ ही, मलेसियाका महाथीर मोहम्मद र सिङ्गापुरका ली क्वान यूले कसरी विपन्न मुलुकलाई सम्पन्न तुल्याएका थिए भन्ने तथ्यबोध गर्दै तिनको अनुशरण गर्ने ‘हिम्मत’ केपी ओलीले दर्शाउन सक्छन् भन्ने विश्वास गरिन्छ । ओली आफैँमा एक दूरदर्शी नेताको कोटिमा पर्छन्, पछिल्लो दशकमा उनको सोच, विचार र व्यवहारमा उच्चतहको परिपक्वता झल्किँदै आएको छ । पार्क, महाथीर र ली जस्ता नेताहरूबाट थप शिक्षा लिए भने ओलीलाई मुलुक निर्माणको निम्ति जोखिमपूर्ण कदम चाल्ने प्रेरणा मिल्ने विश्वास गर्न सकिन्छ ।

देशले शान्ति, स्थिरता, विकास र एउटा प्रजातान्त्रिक संविधानको अपेक्षा गरिरहेका बेला प्रमुख विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै जिम्मेवारी सम्हालेको स्थितिमा छन् । मृत्युलाई सहजै स्वीकार गरिसकेका केपी ओलीले इतिहासमा कलङ्कित हुने कुनै निर्णय लिने आशङ्का या अनुमान गर्नुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन, बरु ओलीको बाँकी जिन्दगीलाई राष्ट्रले कसरी उच्चतम उपयोग गर्नसक्छ योचाहिँ हरेक नेपालीको चासोको विषय बन्नुपर्दछ ।

देश यतिबेला ‘लोकतान्त्रिक गणतन्त्र’ शीर्षकमा सास्ती व्यहोर्दै छ । कुनै बेला राणाको नाममा कष्ट व्यहोरेको यो मुलुकले एक कालखण्डमा पञ्चायतको नाममा पनि दु:ख सहनुपरेको थियो । लोकतन्त्रसँगै गणतन्त्र जोडिएर आउँदा मुलुक समस्यामुक्तिको चरणमा प्रवेश गर्ने विश्वास जुन गरिएको थियो, त्यस्तो अपेक्षा र विश्वासविपरीत पौने दशकयता नेपाल लोकतान्त्रिक गणतन्त्रका नाममा सास्ती व्यहोर्दै छ । देश पूरै माफियागिरीको चङ्गुलमा फसेको छ । उद्यम, व्यवसाय र प्रशासनिक सेवा ट्रेड युनियनहरूको क्रीडास्थल बनेको छ । ट्रेड युनियनहरूबाट अर्थतन्त्र, व्यापार–व्यवसाय र प्रशासनलाई मुक्त नगरेसम्म यो देशमा लगानीको वातावरण बन्न असम्भव छ । मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाको इतिहासले पनि यस कुराको पुष्टि गरिसकेको छ । अमेरिकामा रुजवेल्ट र रेगन, बेलायतमा मार्गरेट थ्याचर, दक्षिण कोरियामा पार्क चुङ ही र मलेसियामा महाथीर मोहम्मदले झैँ यहाँ नेपालमा ट्ेरड युनियनहरूलाई नियन्त्रण गर्न नसक्ने हो भने नेपालको विकास र समृद्धिको सपना नदेखे हुन्छ । कहिल्यै नमर्ने मनोविज्ञानका नेताहरूबाट ट्ेरड युनियानिज्म अन्त्यको अपेक्षा गर्न सकिँदैन, केपी ओलीमा मात्र त्यसप्रकारको क्षमता र हिम्मत हुनसक्छ । मुलुकको सार्वभौमिक स्वतन्त्रताको रक्षा र सुदृढीकरण तथा विकास र समृद्धिका निम्ति जोखिम उठाउन सक्ने क्षमता केपी ओलीमा जति देखिएको छ त्यति अन्य नेताहरूमा पाउन मुस्किल छ भनियो भने त्यो गलत हुनेछैन । लोकतान्त्रिक गणतन्त्रका नाममा मुलुकले व्यहोर्नुपरिहेको अराजकता, अशान्ति र अन्योलको अन्त्य गर्न सक्ने क्षमता र साहस अन्य कैयन व्यक्तिमा हुनसक्छन् तर तत्काल देखिएका एक नेताचाहिँ केपी ओली नै हुन्, उनको उच्चतम उपयोग गर्न नेपाल र नेपालीले कञ्जुस्याइँ गर्नु भनेको एउटा अवसर गुमाउनु भनेर बुझ्नुपर्ने हुन्छ ।

इतिहासले देश या जनतालाई उपयोग गरेर आफ्नो इच्छासिद्धि गर्ने धेरै नेताको सामना गर्नुपर्‍यो, यसपटक नेतालाई देश र जनताको पक्षमा उच्चतम उपयोग गर्ने अवसर नेपाली जनतालाई प्राप्त भएको छ । र, त्यस्ता एक मात्र पात्रका रूपमा केपी ओलीको उदय भएको छ । रोग लाग्दैमा या मिर्गाैला खराब हुँदैमा सबै मानिस देशका लागि उपयोगी हुनसक्छन्– यो सत्य होइन, जो मानिस प्राणी हितको चेत राख्छन् या जसमा मानव हितको मात्र चेत छ तिनले आफ्नो जीवनको अन्तिम क्षणलाई हदैसम्म उपयोग गर्न सक्छन् । केपी ओलीमा गम्भीर स्वास्थ्य समस्या देखियो भनेर कुनै माकुनेले झैँ उनलाई भूमिकाहीन बनाउन सक्रिय हुनुभन्दा देशका पक्षमा उनको उपयोग गर्नेबारे हरेक नेपालीले सोच्नु उपयुक्त हुनेछ । रोग लाग्न बाँकी कुनै माकुने या त्यस्तै काँटी र कोटिका अन्य कुनै कुनेहरूभन्दा देश र जनताका निम्ति रोगले च्यापेका यी केपी ओली नै हजार गुणा उपयोगी हुनसक्छन्, देशले उनीबाट कति लिन सक्ने हो, कुरा अब त्यसैमा अड्किएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने