अमेरिकामा रहेका नेपाली संस्थाहरु मानव तस्करीमा संलग्न

७ श्रावण २०७१, बुधबार ००:४६ मा प्रकाशित

किशोर पन्थी, न्युयोर्क, ७ साउन । केही पहिले एकजना सभासद्ले एएनए सम्मेलनको बहानामा अमेरिका आउनका लागि नक्कलीपत्र सहित आवेदन दिएछन् । कन्सुलरले नक्कली पत्र भन्दै भिसा दिन अस्वीकार गरेपछि ति सभासद् कन्सुलरसँग बाझ्दै पत्र सक्कली नै भएको जिद्दी गरेछन् । सभासद्ले पत्रको वास्तविकता बुझ्न आयोजकलाई फोन गर्न आग्रह गर्दा कन्सुलरले आयोजकलाई नै दूतावासमा फोन गर्न लगाउन भन्दै भिसा अस्वीकृत गरिदिएछन् । पछि ति सभासद्ले एनएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामालाई फोन गरेर यसरी नक्कली चिठी पेश गरियो, तपाईले त्यो सक्कली हो भनिदिनुपर्यो भनेछन् । तर शेर्पाले यस्तो नक्कली कामको लागि फोन नगर्ने भन्दै सभासद्को प्रस्ताव अस्वीकार गरिदिए ।

अमेरिकामा रहेको एउटा नेपाली संस्थाको नाममा बोष्टनमा मेला भन्दै एउटा समुहले नेपालमा दर्जनौं मान्छेबाट दुईदुई हजार डलरका दरले रकम असुल्यो । न बोष्टनमा कुनै मेलाको आयोजना गरिएको थियो न त कार्यक्रमका लागि कुनै हल बुक गरिएको थियो । तर संस्थाको नक्कली लेटरप्याडमा लेटर बनाएर काठमाडौंमा रहेको दुतावासमा पेश गरियो । तर दूतावासले एकजनाको बाहेक सबैलाई भिसा दिन अस्वीकार गरिदियो । भिसा लागेका एकजना पनि अमेरिका आएपछि यतै बसे । बोष्टनमा कुनै मेला आयोजना नगरिएकाले कार्यक्रममा जाने त कुरै थिएन ।

केही समय पहिले नेपाल अमेरिका पत्रकार संघ (नेजा) का वर्तमान अध्यक्ष गौतम दाहालले संस्थाको दुरुपयोग गर्दै नेजाको अधिवेशनमा उपस्थीतका लागि निमन्त्रणापत्र पठाए । नेजाको कार्यसमितिलाई पत्तै नदिई तत्कालिन बरिष्ठ उपाध्यक्ष दाहालले कार्यक्रमका लागि निमन्त्रणापत्र पठाएका थिए । त्यही निमन्त्रणापत्रका आधारमा भिसाको लागि आवेदन दिइयो । निमन्त्रणापत्र पाउने कसैको भिसा लाग्यो , कसैको लागेन । भिसा लागेका व्यक्ति अमेरिकामा आए, तर संस्थाको दुरुपयोग गर्दै भिसाका लागि आवेदन दिइएकाले कार्यक्रममा भने उपस्थीत भएनन् ।

यी त केही उदाहरणमात्र हुन् । यस्ता घटनाहरु अमेरिकाको नेपाली समाजमा बारम्बार दोहोरिने गरेका छन् । अमेरिकामा कुनै कार्यक्रम हुँदा त्यो संस्थाका पदाधिकारीहरुलाई पत्तो नै नदिई अरु कसैले नक्कली लेटरप्याड बनाएर नक्कली पत्रका साथ अमेरिकी दूतावासमा भिसा आवेदन दिन लगाएर अमेरिकामा मान्छे झिकाउने किर्ते काम हुँदै आएको छ । उनीहरुमध्ये कतिपयले रकम असुलेर समेत किर्ते कागजपत्र बनाएर अमेरिकामा मान्छे झिकाउने गर्छन् । अर्कातर्फ नेपालकै एजेन्सीहरुले पनि नक्कली कागजपत्र बनाएर अमेरिकी दूतावासमा भिसा आवेदन दिलाउने गरेका छन् । यसरी अर्कै मान्छेले नक्कली लेटरप्याड बनाएर नक्कली चिठीका आधारमा भिसा आवेदन दिलाउने भएकाले यसबारे कार्यक्रम आयोजक वा संस्थाका पदाधिकारीहरुलाई पत्तै हुँदैन । माथिको पहिलो सन्दर्भ त्यसैको उदाहरण हो । अमेरिकामा कुनै ठूला नेपाली कार्यक्रमहुँदा आयोजकहरु सचेत नहुने हो भने आयोजकका नाममा अरुले नै मान्छे झिकाउने गर्छन् ।
अमेरिकामा नेपालबाट मान्छे झिकाउनका लागि अर्को प्रकारको किर्ते काम पनि हुने गरेको छ । मान्छे झिकाउनकै लागि संस्थाको दर्ता गर्ने र हुँदै नभएको कार्यक्रमका नाममा पत्र बनाउने विकृति समेत अमेरिकाको नेपाली समाजमा रहेको छ । यसरी मान्छे झिकाउनेहरुले अमेरिका आउन चाहनेहरुबाट मोटो रकम समेत असुल्ने गरेका छन् । संयोगबश कतिपयको भिसा लाग्न पनि सक्छ । भिसा लाग्नेहरु त अमेरिका आउन पाउने भए । तर भिसा नलाग्नेहरुबाट लिएको रकम समेत त्यस्ता किर्ते काम गर्नेहरुले फिर्ता गर्दैनन् । माथिको दोश्रो सन्दर्भ त्यसैको उदाहरण हो ।
अमेरिकामा नेपालबाट मान्छे झिकाउनका लागि संस्थाकै पदाधिकारीहरुले कार्यसमितिलाई पत्तो नदिई मनोमानी ढंगले पत्र समेत बनाउने गरेका छन् । संस्थाको दुरुपयोग गर्दै उनीहरुले रकम लिएर वा नलिएर मान्छे झिकाउने गर्दै आएका छन् । संस्था पनि सही हो, कार्यक्रम पनि गरिदै छ, पदाधिकारी पनि संस्थाकै हो तर उसले कार्यसमितिलाई पत्तो नदिई किर्ते पत्र बनाउने गर्छ । यो प्रबृत्ति पनि अमेरिकामा रहेका कैयन नेपाली संस्थाहरुमा विद्यमान छ । माथिको तेश्रो सन्दर्भ त्यसैको उदाहरण हो ।
यसरी विभिन्न बहाना र नाममा अमेरिकामा किर्ते पत्रका आधारमा नेपालबाट मान्छे झिकाउने गरिएको छ । अझ मोटो रकम लिएर मानवतस्करीमा नै संलग्नहरु पनि सकृय रहेका छन् । केही समय पहिले कलाकारहरुसँग मोटो रकम असुलेर अमेरिका ल्याउन थालिएपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासले कलालाई पी थ्री भिसा दिनमा नै रोक लगाएको थियो ।
रिजउडको पत्रकाण्ड:
रिजउड नेपाली समाजले जुलाई २७ मा न्युयोर्कको रिजउडमा गर्ने श्रीमद् भागवत ज्ञान महायज्ञको सन्दर्भमा अहिले यस्तै खालको विवाद उब्जिएको छ । पहिले रिजउड नेपाली समाजले नेपालबाट कुनै पनि व्यक्तिका लागि अमेरिकाको भिसा आवेदनका लागि आमन्त्रणपत्र नलेखेको र नलेख्ने जानकारी गराएको थियो । यसविषयमा बिहिबार रिजउड नेपाली समाजका सचिव सहकुल खत्रीसँग कुराकानी गर्दा उनले नेपालबाट श्रीमद् भागवत ज्ञान महायज्ञको सन्दर्भमा कोही पनि व्यक्तिका लागि निमन्त्रणापत्र नपठाइएको बताएका थिए । कार्यक्रममा नेपालबाट मान्छे बोलाउँदा विवाद हुनसक्ने भएकाले संस्थाका तर्फबाट कसैलाई आमन्त्रणपत्र नपठाइएको उनको दावी थियो । कसैलाई आमन्त्रणपत्र नपठाइएको स्पष्ट पार्न वक्तब्य समेत जारी गरिने उनको भनाई थियो । तर खसोखास साप्ताहिकलाई प्राप्त पत्रमा नेपालका एकजना व्यक्तिलाई कार्यक्रमका लागि आमन्त्रण गरिएको छ । रिजउड नेपाली समाजका अध्यक्षको हस्ताक्षर रहेको सो पत्र काठमाडौंमा रहेको अमेरिकी दूतावासको नाममा लेखिएको छ । शान्ति पदयात्रामा सहभागी हुनका लागि भन्दै लेखिएको पत्रमा अमेरिका आउने ति व्यक्तिको सबै खर्च रिजउड नेपाली समाजले बेहोर्ने उल्लेख छ ।
यो पत्रका बारेमा रिजउड नेपाली समाजका सचिव सहकुल खत्रीलाई जानकारी गराउँदा उनी आश्चर्यचकित भए । कार्यक्रम हुँदा अरु कसैले नक्कली लेटरप्याड र हस्ताक्षर समेत गरेर अमेरिकमा मान्छे बोलाउने प्रबृत्ति समेत कायम रहेकाले पत्रको आधिकारिकताबारे बुझ्न सचिव खत्रीलाई हस्ताक्षर सहितको पत्रको कपी पठाउँदा उनले पत्रमा गरिएको हस्ताक्षर अध्यक्षकै सक्कली हस्ताक्षर भएको दावी गरे । तर नेपालबाट कोही व्यक्ति नबोलाउने संस्थाको निर्णयविरुद्ध अध्यक्षले लेखेको निमन्त्रणापत्रबारे भने उनले आश्चर्य व्यक्त गरे । नेपालबाट कसैका लागि निमन्त्रणापत्र लेख्दा कार्यसमितिलाई थाहा नदिइएको भन्दै उनले आश्चर्य व्यक्त गरेका हुन् । तर यसबारे रिजउड नेपाली समाजका सदस्य एवं श्रीमद् भागवत ज्ञान महायज्ञ कार्यक्रमका संयोजक जनक भण्डारीले भने महायज्ञमा उपस्थीत हुने टहल किशोरजी महाराजको विशेष अनुरोधमा नेपालबाट एकजना व्यक्तिलाई आमन्त्रण गरिएको र भिसाका लागि संस्थाका तर्फबाट पत्र लेखिएको दावी गरे । उनले टहल किशोरजी महाराजको अनुरोधमा महाराजलाई साथ दिन एकजना कलाकारका लागि संस्थाका तर्फबाट पत्र लेखिएको बताए । तर पत्रमा भने ति व्यक्तिलाई कलाकारका रुपमा आमन्त्रण गरिएको छैन बरु शान्ति पदयात्रामा भाग लिनका लागि भन्दै आमन्त्रण गरिएको छ । शान्ति पदयात्रामा भाग लिनकै लागि भनेर नेपालबाट कसैलाई आमन्त्रित गर्नु आश्चर्यजनक रहेको छ ।
महायज्ञको समयमा बृहस्पति अस्त
रिजउडमा गरिने महायज्ञको समयमा बृहस्पति अस्त रहेको ज्योतिष एवं पण्डितहरुले बताएका छन् । १२ जुलाई २०१४ देखि ४ अगस्त २०१४ सम्म बृहस्पति अस्त भएकाले यो अवधिमा बौद्धिक हिन्दु धर्ममा शुभकार्य गर्न निषेध रहेको ज्योतिष पण्डित धु्रबराज शास्त्रीले बताएका छन् । शास्त्री भन्छन् – “हाम्रो सौर्यमण्डलमा सूर्य प्रधान ग्रह हो । सूर्यको साथमा आएपछि सबै ग्रहको प्रभाव नाश हुन्छ । अर्थात् त्यो ग्रह अस्त हुनजान्छ । यो समयमा शुभकार्य निषेध गरिएको छ । कुवा निर्माण, घरको जग हाल्ने काम, ब्रत आरम्भ, देव प्रतिष्ठा, विवाह, ब्रतबन्ध, महादान, सोमयज्ञ, अष्टका श्राद्ध, मन्त्रदिक्षा, सन्यास, यज्ञकर्म, बेदारम्भ लगायतका कार्य बृहस्पति अस्तमा गर्नुहुँदैन ।”
शास्त्री अगाडि भन्छन् –“बृहस्पति देवताहरुका गुरु हुनाले उहाँलाई देवगुरु भनिन्छ । आफ्नो गुरुको अस्तकालमा देवताहरुले पूजा स्वीकार गर्दैनन् । अत यस्तोमा विशिष्ट कार्यहरु गर्दा उनीहरु रिसाउँछन् र कर्तालाई नै हानी गर्छन् । यहाँसम्मकि बृहस्पति अस्तमा शुभकार्य कर्नाले पतिपत्नीलाई मृत्युतुल्यकष्ट समेत हुनसक्छ । ”
तर बृहस्पति अस्त भएपनि एउटा विशेष खालको पूजा गरेपछि शुभकार्य गर्न कुनै रोकतोक नलाग्ने केही पुरोहितहरुको भनाई छ । टहलकिशोरजी महाराज लगायतका केही ज्योतिष, पण्डित र पुरोहितहरुले विशेष खालको पूजापछि बृहस्पति अस्त भएपनि महायज्ञ गर्दा कुनै हानी नहुने उपाय सुझाएकाले उनीहरुको सुझाव अनुशार नै महायज्ञ गर्न लागिएको रिजउड नेपाली समाजले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका