लोप हुने अवस्थामा खेली गीत

२ श्रावण २०७१, शुक्रबार १९:२४ मा प्रकाशित

काठमाडौं, २ साउन । ‘पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर’ । नेपालको पुरानो संस्कृति झल्काउने यो ‘खेली’ गीतको टुक्का आजकाल कमै मात्रामा सुन्न पाइन्छ । खासगरी गण्डकी, धौलागिरि, लुम्बिनी अञ्चलका पाल्पा, पर्वत, बागलुङ, कास्की र स्याङ्जालगायतका जिल्लामा गाइने यो गीत नेपाली गीत–सङ्गीतको खस्कँदो बजारसँगै अहिले सङ्कटमा परेको छ ।

पश्चिमाञ्चलका बूढापाकाले गाउने रोइला अर्थात् खेली गीतलाई नयाँ पुस्ताले निरन्तरता दिँदै आए पनि गीत–सङ्गीतको घट्दो बजारले लोप हुने अवस्थामा पुगेको गीत सङ्कलक तथा रङ्ग पत्रकार सूर्यकुमार क्षेत्रीले बताए ।

सुन्दा भजनजस्तै लाग्ने तर दोहोरीजस्तै सवाल जवाफ गरिने रोइलाको वास्तविक नाम खेली हो । यो गीत विशेष गरी पहिला पहिला ब्राह्मण र क्षेत्री जातिले धार्मिक पर्व, पूजापाठ, वर्तबन्ध, वनपाखामा घाँसदाउरा गर्दा र रोधी बस्दासमेत गाउने प्रचलन थियो ।

गीत–सङ्गीतमा विद्यावारिधि गर्नुभएका कुशकुमार न्यौपानेका अनुसार ‘खेली’ गीत रोइला, चुट्का, ठुवा, ख्याली, आँधीखोले भाका र लोइरोजस्ता नामले पनि चिनिन्छ । यी गीतमा खासगरी बाजाका रुपमा खैँजडी, मुजुरालगायत बजाउने गरिन्छ ।

राप्ती अञ्चलको सेरोफेरोमा पनि विभिन्न धार्मिक पर्वमा ‘खेली’ गीत गाउने गरिएको सङ्कलक क्षेत्रीको भनाइ छ ।

भावपूर्ण लोकगीतका रुपमा हेरिने खेली गीतलाई पहिलेपहिलेका बूढापाकाले जसरी गाउँदै आए त्यो नै यसको मूल भाव हो । यसमा प्रेम, करुणा, भक्ति आदि पाइन्छ । न्यौपानेले भन्नुभयो, ‘खेली गीतलाई जसरी गाए पनि लय, छन्द, बिम्ब र अलङ्कार आदिमा काव्यात्मक गुणहरु भित्रिएको हुन्छ ।’

प्रजापति पराजुली, लक्ष्मी न्यौपाने हुँदै पछिल्लो पुस्तामा खेली अर्थात रोइला गायक भनेर शिरिष देवकोटालाई चिन्ने गरिन्छ । खेली गीतलाई पछिल्लो नयाँ पुस्तामध्ये कसैले रोइला भन्ने गर्छन् भने कसैले खेली नै भन्ने गर्दछन् ।

‘खेली गीतको रस’ शीर्षकमा विद्यावारिधि गर्ने तयारीमा रहेका अनुसन्धानकर्ता तुल्सी प्रभाषले अनुसन्धानका क्रममा पाल्पा, स्याङ्जा र कास्की जिल्लाका करिब ६० वर्षभन्दा माथिका बूढापाकाले रोइला नभएर खेली नै भन्ने गरेको बताए। उनका अनुसार ख्यालख्यालमा गाइने खेली र रोएको शैलीमा गाइने रोइला गीत हो ।

प्रभाषका अनुसार खेली मूल शब्द ‘ई’ प्रत्येय लागेर ‘खेली’ शब्द बनेको हुन्छ । रोइलामा ‘ला’ प्रत्येय लागेर ‘रोइला’ बनेको हुन्छ । रोइला गीत पहिलेदेखि नै गाइँदै आएको तर अहिलेसम्म रेकर्डिङ भएर बजारमा नआएको उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म जति पनि बजारमा रोइला गीत आएका छन्, ती सबै गीत खेली नै हुन् ।’ पुराना खेली गीतलाई राज्य र सरकारले रेकर्डिङ गरी सङ्गीत सङ्ग्रहालय बनाएर संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ ।

पछिल्लो पुस्ताका चर्चित खेली गायक शिरिष देवकोटाले आफूले पहिलो एल्बम बजारमा ल्याएको साल २०६१ मा गीत–सङ्गीतसम्बन्धी पुस्तकमा खेलीलाई रोइला भनेर उल्लेख गरिएको हुँदा आफूले पनि रोइला नै भन्ने गरेको बताए ।

करिब दुई दर्जन खेली गीत गाइसकेका गायक देवकोटाले आफूले बजारमा ल्याएका सबै खेली गीत राम्रै चलेको दाबी गरे ।

अहिलेका नयाँ पुस्ताले खेली गीतको मर्म र नाम बिगार्दै आएको रङ्ग पत्रकार क्षेत्रीको भनाइ छ । उनले भने, ‘वास्तवमा रोइला होइन, खेली नै हो पछि नयाँ पुस्ताले नयाँ नाम दिने क्रममा रोइला शब्द चलनचल्तीमा आएको हो ।’

कोठाभित्र बसेर वा पुस्तकमा अध्ययन गरेरमात्र गीत सङ्कलन गर्नुभन्दा पनि सम्बन्धित क्षेत्रमा नै गएर सङ्कलन गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लोपटक ओरालो लागेको नेपाली गीत–सङ्गीतलाई जीवन्त बनाइराख्न खेली गीतमात्र होइन, अन्य लोक दोहोरी गीतलाई समेत संरक्षण गर्न गायक÷गायिका तथा सरोकारवाला निकाय सक्रियताका साथ लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै