प्रधानमन्त्रीद्वारा उच्च सतर्कता र संयमताका साथ काम गर्न सुरक्षासंयन्त्रलाई निर्देशन

८ जेष्ठ २०६९, सोमबार १२:४६ मा प्रकाशित

काठमाण्डौ, ८ जेठ । प्रधानमन्त्री डा. बावुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।     सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ वरिपरी हुन सक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नका लागि उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिनुभएको हो । जेठ १४ वरिपरी विभिन्न माग राखि आन्दोलन चर्काउन खोज्नु स्वभाविक भएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिक रुपमै हल गरीने भए पनि सुरक्षा निकायहरु सर्तक रहनु पर्ने बताउनु भयो ।
उहाँले यतिवेला सुरक्षा शक्तिहरुले निष्पक्षरुपमा आफ्नो दायीत्व पूरा गर्नुपर्ने बैठकमा बताउनु भयो । प्रधानमन्त्रीले सुरक्षा निकायलाई आफ्नो कर्तव्य दृढतापूर्वक पालना गर्न निर्देशन दिनुभयो । कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपुर्वक रोक्न पनि उहाँले निर्देशन दिनुभयो ।  प्रेस, मावअधिकारकर्मी, कुटनितीक नियोग माथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापुर्वक लिएर रोक्न र कारवाहि गर्न उहाँले निर्देशन दिनुभयो ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने स्पष्ट पार्नुभयो ।
आईतवार बन्दकर्ताहरुले प्रेस माथि गरेको आक्रमण दुर्भाग्यपुर्ण भएको उहाँले बताउनु भयो । कुनै पनि किसिमबाट मिडियामाथि आक्रमण हुन नपाओस् भन्दै प्रधानमन्त्रीले मिडियाकर्मीलाई पूर्ण सुरक्षा दिन निर्देशन दिनुभयो ।
बन्दको क्रममा दैनिकरुपमा अतिआवश्यक वस्तुको आपूर्तिमा कमि आउन सक्ने तर्फ पनि उहाँले सचेत गराउनु भएको छ । अत्यावश्यक सामान खासगरी खाद्यान, औषधी, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आपूर्तिमा कमि आउन नदिने योजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
यो समयमा सुरक्षाकर्मीहरुले दृढता र संयमता अपनाएर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले प्रतिगामी शक्तिहरुले जातीय हिंसा भड्काएर संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने, संविधानसभा विघटन गर्ने सडयन्त्र गर्न सक्ने तर्फ ख्याल गर्दै त्यस्ता तत्वहरुको विरुद्धमा सरकार गम्भिर ढंगले लाग्ने पनि प्रधानमन्त्रीले बताउनु भयो । कुनै पनि बहानामा जातीय सद्भाव विथोल्ने, भड्काउने शान्ति र संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध गर्नेहरुका विरुद्ध सरकार कडाई पूर्वक प्रस्तुत हुने प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो ।
आफ्ना मागहरु राख्दा शान्ति र संविधान निर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गर्नुभयो ।
वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।