ओलीको उदय, झलनाथको राजनीतिक अवशान, नयाँ युगमा एमाले

१ श्रावण २०७१, बिहीबार ०२:३१ मा प्रकाशित

काठमाडौं, १ श्रावण । पार्टी अध्यक्ष झलनाथ खनालले अन्तिम समयमा आफ्नो भोट सारफेर गरेर ओली रिझाउने खेल खेले पनि आफ्नो उम्मेदवारी नभएको अवस्थामा समेत आफ्नो नाउँमा भोट लिने कसरतसंगै उनको राजनीतिक अवशान भएको छ भने नेकपा एमालेको अध्यक्ष बन्ने अवसर पार्टीका प्रभावकारी मानिएका नेता केपी शर्मा ओलीलाई मिलेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली माधव नेपालको भन्दा त्रिचालिश मत बढी ल्याई आफ्ना सहयोगी ईश्वर पोखरेललाई झलनाथ खनालको साडू भाई सुरेन्द्र पाण्डेसंग बाइस मतान्तरले महासचिबमा विजयी गराउन सफल भएका छन् ।  पदाधिकारीहरुमा भने ओली पक्षका वामदेव गौतम, विद्या भण्डारी, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ बिजयी भए पनि माधव पक्षका युवराज ज्ञवाली, भिम रावल, अष्ट लक्ष्मी शाक्य, घनश्याम भुषाल र गोकर्ण बिष्टको विजयले केपी ओलीलाई काम गर्न सजिलो छैन । दुवै पक्षको समान्तर हैसियत रहेको पदाधिकारी र केन्द्रिय समिति निर्वाचित भएका कारण ओलीका लागि पार्टी हाक्ने आफ्नो योजना कार्वान्यन गराउन फलामको चिउरा बन्ने देखिन्छ भने माधव पक्षबाट बिजयी सक्षम युवा नेतृत्वको अगाडी घुडा टेक्ने दिन नजिकै रहेको स्पष्ट हुन्छ ।  उता सक्षम युवा नेतृत्वको बिजयले अब पुरानो नेताहरूको हातमा कहिल्यै नफर्कने गरी एमाले नेतृत्व नयाँ पुस्तामा सरेको पुष्टि हुन्छ  ।
लामो समयदेखि तटस्थ रहेका भनिएका झलनाथ खनालले महाधिवेशन सुरु भइसकेपछि माधव नेपालको पक्षमा ‘एक्स्पोज’ भए पनि अन्त्य तिर ओली रिझाउने खेलमा नाटक गर्न सफल रहेका थिए । यद्यपि, खनालले आफ्नो पक्षमा रहेको भनिएको भोट आफु उम्मेदबार नरहे पनि आफैलाई दिन लगाएर नेपाल र ओली दुवै पक्षलाई धोखा दिने कुटिल रणनीति अख्तियार गरेका थिए जुन कुरा मत परिणाम सार्वजनिक हुने बित्तिकै दुवै नेताले बुझी सकेका थिए । मौन रहेरै माधव नेपाललाई सहयोग गर्ने बताउदै आएका झलनाथ खनालमाथि ‘खुलेर आउँदा सहयोग पुग्ने’ भन्दै दबाब परे पनि खनाल दुवै पक्षलाई असहयोग गर्ने कुटिल नीतिमा लागेका थिए । आफ्ना मान्छेहरूलाई सुरुदेखि नै माधव नेपालतिर लगाएर आफू मात्र ‘तटस्थ’ देखिने प्रयत्न गरिरहेका खनाललाई ‘एक्स्पोज’ हुन माधव नेपालले दबाब दिएका थिए तर खनाल भने आफ्नो चरित्र अनुसार जसले जित्छ उसैलाई मत दिएको जस लिने रणनीति बनाएका थिए । २०३९ सालमा तत्कालिक मालेका महासचिव सीपी मैनालीलाई हटाएर महासचिव बने देखि झलनाथ खनालको भूमिका अवशरबादी रहँदै आएको थियो तर उनको दोहरो चरित्र यस पटकको उनको भूमिकाले फड्के किनारको साक्षी भएको छ । ०४६ सालमा मदन भण्डारीको निधनपश्चात् अफ्ट्यारो अवस्थामा माधव नेपालले एमालेको नेतृत्व सम्हाल्ने अवशर पाएका भए पनि झलनाथ र बामदेवको अवसरबादी भूमिकाले एमाले बचाउन नेपाललाई सधै कठिन अवस्था रहेको थियो । पन्ध्र वर्षदेखि पार्टीको प्रमुख कार्यकारी पदमा रहेका माधव नेपालले ०६४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि उच्च नैतिकता प्रस्तुत गर्दै महासचिव पद झलनाथ खनाललाई हस्तान्तरण गरेका थिए र बुटवलमा सम्पन्न महाधिवेशनमा पनि आफूलाई ‘तटस्थ’ राखेका थिए । यति बेला झलनाथको अवसरबादी चरित्रले आजित ओली आफु झिनो मतले बिजयी बने पनि पार्टी भित्र अझै माधव नेपाल बलियो रहेको राम्ररी बुझेका छन् ।
उता ओलीको विजयसँगै झलनाथ खनालको राजनीतिक भविष्य अन्धकारमय बन्न पुगेको छ भने एमालेमा युवापुस्ताका केही नेताहरू राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने हैसियतमा उदाएका छन् । पार्टी निर्वाचनमा युवा नेताहरूले प्राप्त गरेको मतले पनि एमाले अब पुरानातर्फ नफर्कने कुराको स्पष्ट सङ्केत गर्दछ । केपी ओली स्वयम् पनि आफू एक कार्यकाल अध्यक्ष भइसकेपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताउदै आएका छन् तर उनको सत्ताको बागडोर सम्हाल्ने सपना पुरा नभइन्जेल उनले नेतृत्व अरुलाई सुम्पने कल्पना समेत गर्न नसकिने आलोचकहरु बताउछन ।
मतान्तर कम भए पनि ओलीको विजयले एमालेको सोच, कार्यव्यवहार र कार्यप्रणालीमा परिवर्तन आउने विश्वास गरिएको छ जसले संबिधान लेखन र सत्ता राजनीतिमा समेत प्रभाव पर्ने विश्लेषण गरिदै छ । एमाओबादी अतिवादप्रति सधैं कठोर देखिँदै आएका केपी ओली सत्ताको बागडोर सम्हाल्न आतुर रहेकोले नेपालको राष्ट्रिय राजनीतिमा समेत उनको बिजयले प्रभाव पार्ने निश्चित छ। आफ्नो सत्ता मोहमा कसैसँग कुनै प्रकारको सम्झौता गर्न नचाहने केपी ओलीको विजयले संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्ने प्रक्रियामा समेत असर पार्ने एक थरीको अनुमान छ । उता झलनाथ खनाल भने आफ्नो अनुकुलताका निम्ति अतिवादीहरूसँग गठबन्धन गर्नसमेत पछि नपर्ने नेताका रूपमा चिनिने र उनको दोहोरो चरित्रकै कारण विगतमा देशको राजनीतिले सुस्पष्ट मार्गदर्शन प्राप्त गर्न सकेको थिएन।
केपी ओली र माधव नेपाल दुबैले आ–आफ्ना टीम समावेसी बनाएका भए पनि मधेशी समुदायका नेताहरू पदाधिकारीभित्र नपरेकोले एमालेलाई भविष्यमा अप्ठ्यारो पर्न सक्ने देखिएको छ। प्रजातान्त्रिक अभ्यासबाट चुस्त नेतृत्व चयन गर्न एमाले कटिबद्ध रहेको भए पनि अहिलेको अवस्थामा तराइवासी समुदायका कुनै पनि नेता पदाधिकारीमध्ये निर्वाचित हुन नसक्नुको पीडा एमालेले व्यहोर्नु पर्ने सम्भावना छ। त्यसैगरी अर्को पक्षबाट उम्मेदवार बनेर राम्रो मत प्राप्त गर्नेहरूलाई उपेक्षा गरेर केपी ओली अघि बढ्न सम्भव मानिएको छैन। पक्ष–विपक्षबीच खिचिएको रेखा मेट्दै सन्तुलित ढङ्गले पार्टीलाई अघि बढाउनु ओलीको निम्ति अर्को ठूलो चुनौति हुनसक्ने देखिएको छ। माधव नेपालको मुख हेरेर निर्णय लिनुपर्ने अवस्थामा रहेका केपी ओली आफ्नो सत्ता मोहको यात्रा तत्काल सुरु गर्न भने नहातारिने सोचमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति