होंगकोंगमा चाउचाउ साहित्यका कुरा ———–रबिन राई

२९ असार २०७१, आईतवार ११:३५ मा प्रकाशित

अस्ति प्रथम मुटु सम्मेलनमा नरेश दाइले कुरा राख्नुभएको थियो “एक समय यस्तो भइसकेको थियो हाम्रो होङकोङमा, साहित्यकार हुँ भन्यो भने मान्छेले घृणा गर्ने, हेयको दृष्टिकोणले हेर्ने”,

जुनकिरीले थपे “मिरिकमा एक कवि थिए जो आउनासाथ भागम् भाग हुन्थ्यो, उनी पनि कम्ता का थिएनन्, सेलुनमा कपाल कटाइरहेका मान्छे पक्डेर आफ्नो कविता भट्याइहाल्थे”
साहित्य र समाजबीचको विषमतामा चाउचाउले सोहार्दता ल्याएको कुरामा नरेश दाइ, अशोक दाइ जस्ता गंभीर कविहरुको पनि सहमति रह्यो (चाउचाउ प्रतिपादक अगाडि मात्रै हो कि? ) ।
“यो शुरुवात हो, यहाँबाट हामी तपाईंहरुका कविताहरुमा आउँछौं, समय लाग्छ ” मैले पनि ढाडस दिएँ ।
अनि कन्ठाग्र सुब्बा सापको चाउचाउ कविता वाचन गरेँ

“धेरै जुत्ता लायो भने
खुट्टा पिल्सिदों रछ

चप्पलसित हिंड्दा खेरि
कसैले पो नपत्याउँदो रछ

खाली खुट्टा हिँड्दा पनि
काँडाले हाउ बाटो ढुक्दो रछ

खुट्टै मेसिनमा हुल्न पाए
बरु ट्वेन्टी मिलियन दिदों रछ !”

यो कविताले जबर्जस्ति अपाङ्ग भएर कम्पनीबाट क्षतिपूर्ति दाबी गर्ने हङकङेली नेपाली प्रवृति उजागर गरेको छ, हाँसो भए पनि यस्तो परिस्थिति आउनूको कारण खोतल्न यसले बाध्य बनाउनेछ चिन्तनशीलहरुलाई । सरल, सरस लेखन र गम्भीर भावार्थ चाउचाउ लेखनको विशेषता हो ।

विकास र सान्सीले उनीहरुको घरमा डिनर खान बोलाउँदा म फोन खोतल्छु र पढेर सुनाइदिन्छु,
“कत्ति पैसा काट्छस्
काट् हाउ काट्
होङ्कोङ छोड्ने बेलामा
मैले पनि जानेको छु
तेरिमा क्रेडिट कार्ड !”
उनीहरु हाँस्छन् । विकास र सान्सी साहित्य भन्दा धेरै पर बस्ने हङकङवासी हुन्, यो कवितामाथि विकासले सहि थप्दै धेरै गन्यमान्य भनिने नेपालीहरुले हङकङ छोड्ने बेला बैंकलाई डुबाएको र त्यसले एक जमानामा नेपालीहरुलाई बैंक खाता खोल्न पनि झन्झटिलो भएको प्रसंग थप्छ ।

बिनोद भाइको म्युजिक भिडियो बनाउन अनुबन्धित मोडल रोशनी श्रेष्ठ बहिनी, क्यामेरामेन म । हामी सुटिङको लागि जाँदै गर्दा वर्ल्डकपको कुरा हुन्छ, म फुत्त झिकेर सुनाइदिन्छु ,

“आँच् !
स्पेन वर्ल्ड कपबाट
आउट भए पछि
उसको डरलाग्दो फ्यान्
पीरले डिप्रेस्ड भएछ !

अनि हाम्फालेछ
सुसाइड गर्नु समुन्द्रमा !

तर जतिसुकै
प्रयास गरे पनि
त्यो स्पेनको रोमियो
समुन्द्रमा डुबेन छ !

किनभने उसको
भ्यार् खाएर फुलिएको भुँडीले
ट्युबको काम जो गरेछ !”

२२-२४ वर्षकी रोशनी हाँस्छे, सुब्बा सापको चाउचाउ कवितामा रुचि देखाउँछे ।

निकास हाङखिम नयाँ र राम्रो गीतकार हुन् , रोशा बैनीको कराओकेमा बियर पिउँदै हामी चाउचाउ साहित्यको गहनताको कुरा गर्छौं । कन्स्ट्रक्श्नको कठीन र अस्वस्थ वातावरणमा काम गर्ने हामी नेपालीहरुलाई पर्न जाने दूरगामी असरलाई चाउचाउ कविताले यसरी लेख्छ;

“पहिले पहिले त
सियो खस्दा पनि
पुछर काटेको
कुकुरको जस्तै
कान ठाडो हुन्थ्यो !

हिजो आज त
साथीहरुले
गु निस्किन्जेल कराउँछन्
हाउ ताइलो
हाउ सिफु
हाउ गुरुजी !

यत्ति सारो बोलाउँदा बरु
पुछर काटेको बङ्गुरले भन्छ
‘हुँ….. हुँ !’
म त मरिगए कान सुने पो

यो सहरको हो-हल्लामा
मेशिनहरुको बीचमा
काम गर्दा गर्दा मेरो कानले
फेल खानु थालेछ !

फेरि ठट्टा पनि उतिकै छ ,
“टावलले अनुहार बेर्ने हो
अनि कालो चश्मा लाउने हो
जति सुकै घाम चर्कोस् न
मान्छे गोरोको गोरै हो !”

निकासलाई म फेरि “मोहम्मद आलमको कविता” पनि सुनाइदिन्छु, हामी भावुक हुन्छौं किन कि हामी भोलिका मोहम्मद आलम हौं ।

फेरि जकीक्लबमा घोडा रेसमा जुवा हान्नेहरुलाई यस्तो भन्छ चाउचाउ कविले,
“नेपालबाट फोन आयो
तेत्रो तलब काँ जान्छ ?
मैले भनें घोडा पालेको छु
अन्त घोडाले दाना खान्छ !”

जकीक्लबले घोडामा मात्रै होइन फुटबलमा पनि सट्टाबाजी गर्छ, बीसौं हजार फुटबलमा बाजी थापेर हार्नेहरुको भुक्तभोगीहरु यहीँ छन्:
उता ब्राजिलमा
खेलाडीहरु
मरिमरी खेल्ने !

यता होङ्कोङमा
हामी नेपालीहरु
फाताक् फुतुक् गल्ने !

विस्वो कप
दुई हजार चौध
जकिकल्बको खुत्रुके
चानचुन जम्मा गर्ने !

अनि यो हङकङमा, बीसौं वर्षदेखि हराएका छन् कवि,कलाकार, पत्रकार सबैजस्तै :
अस्तिको राती शुक्रबार
गाको घुम्नु लान् क्वाई फोङ्
गिजिङ् मिजिङ् बारै बार
हाम्त तिहिंनेर हरै गए छुङ्

दुई जना टुरिष्ट गोरा गोरेनी
ती पन् हराएर भै रा फनफनी
बोलाए ‘यु लुक् तेन्जिङहिलारी !’

‘हाउ टु गो चिम्चाचोई सेल्स्बरी ?’
मैले भनें तिनेरुलाई
आई एम् सोरी गोरा भाई
यु लस्ट इन लान् क्वाई फोङ्
आई एम् लस्ट इन् होङ्कोङ्

यु लस्ट फ्रोम ट्वाइन्टी मेनेट्स
आई एम् लस्ट फ्रोम ट्वाइन्टी यियर्स !

[ जिन्दगी जिन्दावाद ]

अब गंभीर गहन दर्शनका कविता पनि आएका छन् चाउचाउका नाममा;

नमूना -१

उसको हातमा आइफोन
तेस्को हातमा आइफोन
जसको पनि हातमा आइफोन
तर मेरो हातमा
उही पुरानो नोकिया भोडाफोन
यहाँनेर म
अलिकिती दु:खी भएँ ।

दुई दिनको ज़िन्दगानी
मरिलानु के छ र
आज घाम भोलि पानी
यसो भन्दै किनें
आइफोन मैले पनि,
यहाँनेर म
अलिकिती खुशी भएँ ।

तर अस्ति त हरायो
मेरो आइफोन
म सारै दु:खी भएँ ।

फेरि अहिले त म
एकदम खुशी छु
किन भने यतिबेला
मसित
न छ आइफोन
न छ नोकिया भोडाफोन,

म सारै खुशी छु
किनभने
अब मसित
हराउनुको लागि कुनै वस्तु छैन । — feeling आइफोन हराएको खुशीयालीमा.

नमूना- २
—-
परार साल
ऊ मुस्कुरायो
म रिसाएँ
ऊ रिसायो
म झन् रिसाएँ ।

पोहोर साल
ऊ मुस्कुरायो
म मुस्कुराएँ
ऊ रिसायो
म पनि रिसाएँ ।

यो साल त
ऊ मुस्कुरायो
म मुस्कुराएँ
ऊ रिसायो
तर म मुस्कुराई रहें ।

अर्को साल
सायद
ऊ पनि
म जस्तै मुस्कुराई रहन्छ होला । — feeling शुभ बिहानी.

चाउचाउ साहित्य १० मिनेटमा लेखिने ५ मिनेटमा पढिने भए पनि यसको प्रभाव दीर्घकालीन् छ । वरिष्ठ पत्रकार जेबी पुन मगरलाई अराजक हाङयुग अज्ञातका कवितामाथि लेख्नुछ, “सामग्री बटुल्देऊ न” भन्दै थिए । जेबी लाई चाउचाउ पच्दैन, अर्गानिक चाहिन्छ तर मलाई, मगेन दाइलाई सुब्बा साप अवतार नै बढि मन पर्छ । उनले हाङयुगमाथि लेख्नु अघि मैले प्रेमिल सुब्बा साप माथि लेखिदिएँ ।

जीवन र विकास सर्वत्र द्रुततर भइरहेको छ, त्यसैले नेपालबाट बादल पनि चाउचाउमा रुचि देखाउँछन् ,
चाउचाउको विस्तार अहिले भारतीय नेपालीहरुमा पनि छ, संगीतकार शरद सिन्हाले त चाउचाउ लेखनको वकालत गर्नु भएको छ भने साहित्यकार पुष्कर पराजुली, शीला तामाङ नियमित प्रतिक्रिया दिइरहनुहुन्छ । चाउचाउ लेखनले बिना डलर वितरण यतिको ब्यापकता लिनु भनेको शुभ संकेत हो ।

कवयित्री प्रगति राई चाउचाउलाई कोरियामा प्रवेश निषेध गर्नुहुन्छ, त्यसैमा हाङयुग अज्ञात भन्छन्
“चाउचाउ साहित्यले ब्रम्हाण्डको कुरा लेख्छ, तिमी चाउचाउको खोल हेरि राख”
जिन्दगी जिउन अलिकति अराजक हुनैपर्छ कि क्या हो?

मेन्जो मेन्जो सेवारो !

चिन्दागी फान्नु
तङ्बाको छक्रा
तान्दै कायो
सकिन्दे चान्छ !

जिन्दगी भन्नू
तोङ्बाको छोक्रा
तान्दै गयो
सकिदैं जान्छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले