जीवनको सिद्दान्त र एमाले महाधिवेशन :: राम शरण प्याकुरेल

२६ असार २०७१, बिहीबार ०५:०९ मा प्रकाशित

एमालेको राजधानीमा भइरहेको नवौ महाधिवेशन अब उतरार्धमा छ । पार्टीको आन्तरिक जीवनमामात्र होइन, राष्ट्रिय राजनीतिमा समेत यसले मह्त्वपूर्ण प्रभाव छाड्ने कुरा अपेक्षित छ । पार्टीको वैचारिक, संगठनात्मक र राजनैतिक तीन ओटै क्षेत्रमा दूरगामी प्रभाव दिन महाधिवेशनले मार्ग प्रसस्त गर्दछ । त्यसका लागि महाधिवेशनमा होमिएका नेता, कार्यकर्ता र प्रतिनिधिहरुलाई विगतका घटनाक्रम, अनुभवका आधारमा आगामी दिनमा अगाडी बढ्ने प्रेरणा र हौसला पनि प्रदान गर्दछ । तर नेताहरुको महत्वाकांक्षा, अवसर, जिम्मेवारी र नेतृत्वको व्यवस्थापन जटिल बन्न जाँदा जारी महाधिवेशनको यो अबधिभर पार्टीको नीति, कार्यक्रम, कार्यदिशा गौण र नेतृत्वको प्रश्न भने प्रधान बनिरहेको छ । नेतृत्वको नियत असल नहुँदा विगतका महाधिवेशनहरु पनि एमालेका लागि सुखद् हुन सकेनन्।
गत हप्तादेखि राजधानीमा शुरु भएको महाधिबवेशनमा अध्यक्ष झलनाथ खनालको राजनीतिक र महासचिव इश्वर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि सहभागिहरुको टिप्पणी र सुझावहरु सहित पारित समेत भइसकेको छ । पदाधिकारीहरुको व्यवस्था, संख्या लगायत विधानका कतिपय बुंदाहरुमा मत्यैक्य कायम हुन नसक्दा छलफलले बढी समय लिए पनि त्यसको पनि टुंगो लागेको छ । महाधिबवेशनको तातो अब भोलीबाट नेतृत्व चयनको प्रक्रियामा गतिबिधि प्रवेश गरेपछि अरु बढेर जाने निश्चित छ । यसका लागि बरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी ओली मैदानमा छन् । युवा नेताहरु पनि आ-आफ्नै तर्कहरु सहित दुई नेताहरुको पक्ष र विपक्षमा उभिएका छन् । जसका कारण सिंगो एमाले अहिले ठाडो दुई चिरामा विभाजित छ ।
दुबैतिर एमालेका कार्यकर्ताहरु बाँडीदा अहिले राजधानीको महाधिबेशन स्थल, हस्तिनापुरको रणभूमि जस्तै भएको छ । नेता र नेतृत्वप्रति आदर र सम्मानको बदला अमर्यादित गालीगलौज र खुईल्याउने प्रबृतिको यस पटक कुनै सिमाना नै रहेन ।एमाले यस्तो देखिंदै छ, विचारका कोणबाट भन्दा पनि नेताको दौराको फेर समाउने व्यक्तिवादी पार्टीमा रुपान्तरण भइरहेको छ । एमालेका कार्यकर्ताहरुलाई अहिले कौरव र पाण्डबको कित्तामा विभाजित गराईएको छ । एकाथरी कौरव र अर्काथरी पाण्डब जस्ता लाग्ने कार्यकर्ताहरु एकले अर्कालाई कतिसम्म ताछ्न सकिन्छ भन्ने पौठेजोरीमा लिप्त छन् ।
महाधिवेशनको तिथि मितिको घोषणा भए लगत्तैदेखि मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी अध्धयन केन्द्रका नाममा आ-आफ्ना गुटका भेलाहरुलाई तिब्रता दिने कामहरु भए । प्रतिनिधिहरु छान्ने क्रममा पनि प्रस्ट रुपमा गुटबन्दीका अनेक रुपहरु देखिए । पार्टीभित्रको लोकत्रान्तिक अभ्यासको नाममा यतीसम्म निम्न कोटीका आरोप, प्रत्यारोप र टिप्पणीहरु सुनिएका छन् कि एमालेको शत्रु अरु कोही नभएर एमालेभित्रै छ भन्ने चरितार्थ भएको छ । आज एमालेका कार्यकर्ताहरुले पार्टीको कार्यकर्तामात्र बनेर पुगेको छैन, उनीहरुलाई कुनै न कुनै गुटको सेप लाग्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । नेताहरुको मुखमा झुन्डिएको सहमति, एकता जस्ता कुराहरु केवल ओठे भक्तिका रुपमामात्र रहेको छ ।

महाधिवेशन त सिद्दिएला, नेतृत्व निर्माण पनि होला तर, सतहमा आएका र भएका घटिया अराजनीतिक अभ्यासहरु, आरोप प्रत्यारोप र एकले अर्कालाई निषेध गर्ने र सिध्याएरै छाड्ने संस्कार र प्रवृतिबाट एमालेले महाधिवेशन संम्पन्न भएको निक्कै समयपछिसम्म पनि यी कुराहरुको व्यवस्थापन गर्न र यसबाटनिजात पाउन कठिन छ । र , पार्टीको जीवनलाई स्वस्थ पार्न सक्ला भन्नेमा पनि शंकै छ । बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भएपछी पनि सबै विवादहरु तीनाऊ नदीमा बगिसक्यो भन्ने नेताहरुलेनै कायम राखिराखेका विवादका नयाँ नयाँ संस्करणहरुले यसपटक बागमती र विष्णुमती नराम्ररी मैलो बनाईराखेका छन् । आफू जस्तो अरुलाई हुन नदिने, आफू जस्तैबाट आफूलाई खतरा देख्ने संकीर्ण प्रबृत्ति सङ्गठनको हरेक तहमा देखिएको छ, जुन अबको पुस्ताका लागि दुर्भाग्य हुनेछ ।
महाधिवेशनपछि फेरी पार्टी एक ढिक्का हुन्छ र महाधिवेशनको यो अभ्यास आन्तरिक लोकतन्त्रका लागि हो भने पनि, बिगतदेखिको अनुभवहरुको पृष्ठमा यसलाई कसैले पत्याउने आधार छैन । एकपटकको प्रतिस्पर्धी, संधैका लागि प्रतिस्पर्धी जस्तो ढंगले सम्बन्धहरु बनेका छन्, हुर्किएका छन्, जसका कारण तलदेखि माथिसम्म गुटबन्दीको संजाल विस्तार गर्न सहयोग पुगिरहेको छ । आगामी दिनहरुमा पार्टीको आन्तरिक जीवनको अस्वस्थताले बाह्य शक्तिसंगको प्रतिस्पर्धा असन्तुलित हुन गई बिलकुलै नकारात्मक प्रभाव पार्ने पनि निश्चित छ । यही महाधिवेशनमै पनि आफ्नो प्यानल नै जिताएर अर्को समूहलाई देखाइदिने धम्कीका भाषा महाधिवेशनस्थलमा काफी सुन्न पाइन्छ । यसले कसैलाई पनि जिताउंदैन, सबैलाई हराउँछ ।
एमालेलाई जनताको बीचमा स्थापित गर्दै यसको आधुनिकीकरणका निम्ति मार्गदर्शन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई कहिल्यै चुक्ता गर्न नसक्ने ऋणको भारी बोकाएका मदन भण्डारीले सुत्रपात र प्रयोग गरेको जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिएको कसैले नकार्न सक्दैन । यसलाई अझ बढी सुदृढ र परिमार्जित गरेर लैजानु सबैको दायित्व रहन्छ । जनताको बहुदलीय जनवाद प्रत्येक मानिसको जीवनमा प्रतिबिम्बित हुन जरुरी छ । तर, आफूलाई जबजको अनुबंशीय उत्तराधिकारी रहेको दाबी गर्ने केही व्यक्ति र प्रवृत्तिले यसलाई संग्रहालयमा राखिएको पुरातात्विक बस्तुझै बनाउन खोजिरहेका छन् । फलस्वरूप जबजलाई समृद्ध, सिर्जनात्मक र समयानुकुल परिमार्जित गरेर लैजानुपर्छ भन्नेहरुले जबज विरोधीको खप्की व्यहोर्नु पारिरहेको छ । मदन भण्डारी आफैंले भनेका थिए, “सिद्दान्तका लागि जीवन होइन, जीवनका लागि सिद्दान्त” हुनु पर्छ ।
एमालेका नेताहरुलाई हेक्का नै होला, जबजलाई जीवनको सिद्दान्त बनाउनका लागि आठौ महाधिवेशनमा यसको विकास गर्ने कुरा गरिएको थियो, तर नवौ महाधिवेशन आउंदासम्म सिन्कोसम्म भाँचिएन । जबजलाई, कार्यक्रमका रुपमा भन्दा पनि स्वार्थवस आ –आफ्नो अनुकूल हुने गरी भजाईखाने भाँडोको रुपमा प्रयोग गरियो । हिजोका यसका कट्टर विरोधीहरु, अहिले यसका ठूलाठूला पण्डित भएका छन् । पार्टीमा विचार र सिद्धान्तमा एकरुपता ल्याउन नीतिमुखी भन्दा पनि नेतामुखी हुने प्रबृत्ति झाँगिएको छ । सत्ता, शक्ति, ऐश्वर्य र बैभवका निम्ति जे पनि गर्न तयार हुने मानसिकताको विकास र सोही अनुसारको आचरण र व्यवहारले मदन भण्डारीले भने झैँ एमालेको अहिलेको यो नीति सिद्दान्त कसरी जीवनका लागि हुन्छ ?
किनकी, एमाले अहिले नीति र विचारमा एक भन्दा पनि फरक फरक मान्यता र स्वार्थ बोकेका समुहहरुको झुण्डजस्तै भएको छ । आफू रहेको समुह वा गुटमा नभएको जतिसुकै योग्य र त्यागी नेता भए पनि त्यसको सम्मान र आदर नगर्ने, खुइल्याउने र आफूलाई मनपर्ने नेताहरुलाई भने चुलीमा पुर्याउने हनुमान प्रबृत्ति हावी भैरहेको छ । एमालेले शिघ्रातिसिघ्र यस्तो प्रवृत्तिको अन्त्य नगरेसम्म नेता र नेतृत्वप्रति आम जनताको सम्मान रहने छैन । भन्दा एमालेका नेता र कार्यकर्ताहरुलाई अवश्य पनि मिठो लाग्दैन, नेता तथा कार्यकर्ताहरुमा सादा जीवन, जनउत्तरदायीत्व, मितब्ययीता र उच्च विचार र ब्यबहारको साटो अवसरवाद, पदलोलुपता, अस्वस्थ प्रतिष्पर्धा, अविस्वास, अपारदर्शिता, जालझेल, चाकडी चाप्लुसी र गुटबन्दी जस्ता गलत प्रबृत्ति बढ्ने हो भने जबजले कल्पना गरेको जीवनका लागि कम्युनिष्ट आदर्शको मर्मको अपमानमात्र हुनेछ ।
त्यसैले, महाधिवेशनमा सहभागि भइरहेका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले पार्टीले भोगिरहेको माथिका यावत प्रवृत्तिहरुको गम्भीर विश्लेषण गरेर, पार्टीलाई संधै आफ्नो मौजा ठान्ने, दशकौं पार्टीको उच्च पदहरुमा बसेर पनि पद छोड्न नचाहने सामन्तवादी सोचका बिरुद्ध खरो उत्रन सक्ने, मेहनती , ईमान्दार र प्रतिवध्द नेतृत्वको निर्माणमा योगदान दिनु पर्दछ । यतिबेला, नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले गुटबन्दीको आवेगमा आएर होइन, उच्च स्तरको आफ्नो विवेक प्रयोग गर्नु पर्दछ । जीवनका लागि सिद्धान्त बनाउने अभियानमा आफूलाई प्रमाणित गर्न एमालेले यो महाधिवेशनलाई अवसरका रुपमा लिएर यो गुटको वा त्यो गुटको वा समुहको नभनी असल युवा नेताहरुलाई नेतृत्वमा लैजान भूमिका खेल्नु पर्दछ, अनिमात्र जीवन सिद्दान्तका लागि हैन, जीवनका लागि सिद्दान्त भनेर एमालेले दाबी गर्न सक्छ । सबैलाई एकपटक चेतना भया !
[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।