विधान संशोधन नहुँदा निर्वाचन प्रक्रियामा ढिलाइ

२५ असार २०७१, बुधबार १८:१९ मा प्रकाशित

काठमाडौं, २५ असार । नेकपा (एमाले) को जारी नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव पारित नहुँदा निर्वाचन प्रक्रिया प्रारम्भ हुन ढिलाइ भएको छ ।

बन्द सत्रमा सङ्गठन विभागका प्रमुख युवराज ज्ञवालीले प्रस्तुत गरेको विधान प्रस्तावमा पदाधिकारीको सङ्ख्या बढाएर १४ सदस्यीय बनाउने उल्लेख थियो ।

प्रस्तावमा समूहगत छलफलका क्रममा अधिकांश प्रतिनिधिले सङ्ख्या घटाउन सुझाव दिएपछि परिमार्जित विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

विधान पारित नभएसम्म नयाँ नेतृत्वका लागि मनोनयन कार्य प्रारम्भ हुन सक्दैन । विधान पारित भएपछि अध्यक्षका प्रत्याशी माधवकुमार नेपाल र केपी शर्मा ओलीका तर्फबाट समूहगत उम्मेदवारीका लागि पनि केही समय माग्न सक्नेछन् ।

पूर्व घोषित कार्यक्रमअनुसार आजबाट महाधिवेशन सकिनुपर्नेमा निर्वाचनको प्रक्रिया प्रारम्भ नभएकाले अझै केही दिन लम्बिन सक्ने एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले बताए ।

विद्युतीय मतदान गर्ने पूर्व निर्णयमा विवाद आएपछि मतपत्रबाट मतदान गर्ने पछिल्लो निर्णयले पनि समय लम्बिने भएको छ ।

सहमतिका साथ संशोधन प्रस्ताव गर्न अध्यक्ष मण्डलले स्टेरिङ कमिटीलाई जिम्मा दिएपछि १४ सदस्यीय पदाधिकारीमा समावेशी कोटा समावेश हुने गरी अध्यक्ष १, महिला उपाध्यक्ष १, जनजाति उपाध्यक्ष १, मधेसी उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव खुल्ला ५ हुने गरी प्रस्ताव तयार गरिएको छ ।

प्रस्तावलाई शीर्ष नेता (स्थायी कमिटी) मा छलफल गरेर बन्द सत्रमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । विधानमा नेतृत्वमा रहनेको उमेर हदको पनि व्यवस्था गरिएको छ ।

एमाले नेता रघुजी पन्तले विधान संशोधनबारे आवश्यक गृहकार्य भइरहेको बताउनुभयो । बन्द सत्रले अन्य प्रतिवेदन भने पारित गरिसकेको छ ।

भरतमोहन उम्मेदवार नहुने

अठहत्तर वर्षीय नेता भरतमोहन अधिकारीले आफू नयाँ नेतृत्वको कुनै पदमा उम्मेदवारी नदिने जानकारी बन्द सत्रलाई गराएका छन् ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारी विगत छ दसकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन् । उनले सक्रिय राजनीति नगर्ने भन्दै सो घोषणा गरेका हुन् । विधान संशोधनको प्रस्तावमा ७० वर्षमा नेतृत्वबाट अवकाश लिनुपर्ने उल्लेख छ ।

अघिल्लो महाधिवेशनबाट मोहनचन्द्र अधिकारी, गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रित, सिद्धिलाल सिंह, कमल कोइरालालगायतले सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन