किन खुल्दैछन् खनाल ?

२४ असार २०७१, मंगलवार ०६:२२ मा प्रकाशित

काठमाडौं, २४ असार । एमाले अध्यक्ष झलनाथ खनाल बिस्तारै नवौ महाधिवेशनमा अध्यक्षका आकांक्षी बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खुल्न थालेका छन् । आफैले मुख नखोले पनि उनले आफूनिकटका नेताहरुलाई नेपालको पक्षमा खुलेर माहौल बनाउन खटाइसकेका छन् ।

खनाल र नेपालबीच आइतबार लामो कुराकानी भएपछि उनले नेपालको पक्षमा खुल्ने आश्वासन दिएको कुनै बेला खनालनिकट नै रहेका बैठकका सहभागी नेताहरुको दाबी छ ।

पटकपटक सम्पर्क गर्दा पनि खनालले यसम्बन्धमा प्रतिक्रिया दिन चाहेका छैनन् । बैठकमा सहभागी स्रोतका अनुसार खनालले पदाधिकारीसहितको प्यानल नबन्दासम्म आफू चुप बस्ने बताएका छन् ।

तर उनले नेपाल समूहको प्यानल घोषणाको कार्यक्रममा उपस्थित भएर समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेको सहभागी एक नेताको दाबी छ ।

दुई नेताबीच आइतबार भएको भेटमा पहिले खनाल खेमामा रहेर अहिले नेपालको पक्षमा लागेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, भीम आचार्यलगायत थिए ।

बैठकमा नेता नेपालले अझै पनि सर्वसम्मति भए खनाललाई अध्यक्ष छाड्न आफू तयार रहेको बताएका थिए । नेपालले चुनावी प्रक्रियामै जाने भए पनि खनालले अध्यक्षमा उठ्ने चाहना राखेमा उनलाई आफ्नो टिमसहित सघाउने जनाएका थिए । दुवै नभए टिम कस्तो बनाउने सुझावसहित आफ्ना पक्षमा खुलेर लागिदिन नेपालले आग्रह गरेका थिए ।

अध्यक्ष खनालले आफू नै अघि सर्दा पनि ओली पछाडि नहट्ने भएकाले सर्वसम्मत्तिको संभावना टरेको बताएका थिए । नेपाल र ओलीले पनि एक-अर्कालाई छाड्ने संभावना नदेखेको उनको भनाइ थियो ।

‘परिणाम जेजस्तो आए पनि संसदीय दलको नेतामा तपाईले मलाई सघाउनुभयो । अब अध्यक्षमा तपाई नै अघि सर्नुस् म तपाईलाई सघाउला’, खनालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए । दलको नेतामा खनाललाई ओलीले पराजित गरेका थिए ।

बैठकका सहभागी नेता भुसालका अनुसार खनाल र नेपालले परामर्श गरी मंगलबारसम्म आफ्नो पक्षको प्यानल घोषणा गर्नेछन् । अहिले नेपालको पक्षमा सक्रिय युवा नेता योगेश भट्टराईले प्रतिस्पर्धा कडा बन्दै गएकाले खनाल खुल्न थालेको विश्लेषण सुनाए ।

‘पहिलो कुरा त उहाँको पक्षमा रहेका हामी प्रायः सबै नेपालको पक्षमा पहिलेदेखि नै सक्रिय छौ । दोस्रो सुरुमा उहाँलाई यत्तिको कडा प्रतिस्पर्धा होला भनेर नलागेको हुनसक्छ । अहिले परिस्थिति फेरिएकाले खुल्न लाग्नुभएको होला,’ उनले भने ।

सरकार गठनअघि एमालेले कांग्रेससंग गरेको सहमतिमा एक वर्षभित्रै संविधान जारी गरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुनः निर्वाचन गर्ने उल्लेख छ । दुवै पक्षले खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।

तर ओलीले जिते उनी आफै प्रधानमन्त्रीकै लागि अघि सर्ने र एमालेले प्रधानमन्त्री र राष्ट्रपति एकसाथ नपाउने भन्दै नेपाल पक्षले खनाललाई आफूतिर तान्न प्रयास गरेको निकटवर्तीको भनाइ छ ।

आठौं महाधिवेशनमा खनालको पक्षबाट लडेका उपाध्यक्ष तथा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, महासचिव इश्वर पोखरेल अलि अघिदेखि नै ओलीको पक्षमा सक्रिय छन् ।

त्यसबाहेक विगतको पदाधिकारीमा उपाध्यक्ष विद्या भण्डारी, सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेल ओली पक्षधर नै हुन् । विगतको पदाधिकारीमध्ये अर्को पक्षमा सचिव युवराज ज्ञवालीमात्र छन् । अर्का एक उपाध्यक्ष अशोक राईले पार्टी छाडिसकेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको