ओलीको नेतृत्व देशकै लागि आवश्यक :: विद्या भण्डारी (एमाले उपाध्यक्ष)

१९ असार २०७१, बिहीबार ०१:५७ मा प्रकाशित

० एमालेको नवौँ महाधिवेशनको मुखमा पार्टीभित्रका दुई पक्षबीच सैद्धान्तिक वा वैचारिकभन्दा पनि व्यक्तिगत तवरका टीका–टिप्पणी र अस्वस्थकर तानातानी देखियो, यसबारे तपाईंको धारणा के छ?
– आफूसँग स्पष्ट सोच या विचार नभएपछि या विचारले टाट पल्टिएपछि प्रस्ट विचार र एजेण्डा लिएर उभिएको पक्षलाई बेतुकका आरोप लगाउनु, अमानवीयता प्रदर्शन गर्दै तल्ल्ाो स्तरमा ओर्लिएर गालीगलोज गर्नु शोभनीय कुरा हुँदैन भन्ने सामान्य मात्र विवेक राख्नेले पनि बुझेकै हुन्छ जस्तो लाग्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा आफ्नो पार्टी मात्र नभई अरू पार्टी पनि साङ्गठनिक र भावनात्मक रूपले पनि एक रहनुपर्छ र रहिरहोस् भन्ने मान्यता राख्दछु म। कुनै पनि पार्टीमा टुटफुट नआओस् भन्ने म हृदयदेखि नै चाहन्छु। सिद्धान्तले, विचारले, कार्यक्रम र सङ्गठनले पार्टीले आफूलाई माथि उठाउनुपर्छ, अर्कालाई लडाएर, फुटाएर आफूलाई ठूलो र माथि पार्न खोज्नु कसैका लागि पनि हितकर हुँदैन। गुट जन्मन सक्छ, तर पहिले नै विचार पुर्या्एर रोक्नुपर्छ। यो मुलुकमा दुई–चारवटा मात्र सशक्त राजनीतिक दल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको पनि यहाँनेर व्यक्त गर्न चाहन्छु म। यसो हुन सके लोकतन्त्र फस्टाउन मद्दत पुग्छ भन्ने लाग्छ। जहाँसम्म महाधिवेशनको मुखमा सैद्धान्तिक–वैचारिकभन्दा व्यक्तिगत तवरका आरोप–प्रत्यारोप चलेको सवाल छ, यस्तो हुनु दुर्भाग्यपूर्ण छ। मार्क्सवाद–लेनिनवादलाई हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्त मानेको छ र जनताको बहुदलीय जनवाद हाम्रो मूल सैद्धान्तिक विचार हो। यसको विकल्प कोही चाहन्छ भने वैकल्पिक विचार के हो, बहसमा ल्याए हुन्छ, तर व्यक्तिगत गालीगलोजमा उत्रिनु वैचारिक एवम् मानवीयताको समेत दरिद्रता हो। यसमा अहिले यत्ति मात्र भन्न चाहन्छु।
० एमालेका दुवै खेमाले आ–आफ्नै बहुमतको दाबी पनि गरेका छन्, वास्तवमै बलियोचाहिँ कुन पक्ष छ?
– नेतृत्व हस्तान्तरण गर्ने दिशामा जानुपर्छ भन्ने पक्षमै अत्यधिक बहुमत छ। यो दाबी गर्ने भन्दा पनि तथ्य या यथार्थ स्वयम् बोल्ने कुरा हो। हामी सङ्गठनको काममा निरन्तर लागिरहेका नाताले देशभरको एमाले सङ्गठन कहाँ के–कस्तो अवस्थामा छ– थाहा छ। यसका आधारमा म दाबी गरेर भन्दै छु कि नेतृत्व हस्तान्तरणको मुद्दा उठाएर अध्यक्षको जिम्मेवारी लिन लाग्नुभएका केपी ओलीको पक्षमा एमालेका अधिकांश प्रतिनिधि साथीहरू उभिनुभएको छ। माधव नेपालजी नेतृत्व हस्तान्तरण गर्ने पक्षमा नदेखिनु यतिबेला विडम्बनाको विषय हो।
० माधव नेपाललाई नै अध्यक्ष बन्ने बाटो खुला गरिदिएको भए के फरक पर्थ्यो त?
– यतिबेला आएर माधवजीले अध्यक्षमा दाबी गर्नु ‘मोरल′ हिसाबले पनि सुहाउने कुरा थिएन। आफ्नो मोरालिटी र प्रेस्टिजका लागि पनि उहाँ अध्यक्षमा उठ्नु हुँदैनथ्यो। पार्टीको प्रमुख नेतृत्वमा बसिसकेको व्यक्तिले अभिभावकीय भूमिका निर्वाह गर्दै सहज ढङ्गले नेतृत्व हस्तान्तरणको वातावरण बनाइदिनुपर्थ्यो। यसले कार्यकर्तामा उल्लास–उमङ्ग र ऊर्जा बढाउँथ्यो भने पार्टीलाई पनि अझ सशक्त तुल्याउन मद्दत पुग्दथ्यो। तर, उहाँले पार्टीलाई हित पुग्ने यस तथ्यतर्फ ध्यानै नदिँदा साथीहरू दुखित बनेका छन्। केपी ओलीजीले त एक कार्यकालका लागि मात्रै आफूले जिम्मेवारी लिएर पुस्तान्तरण गरिदिने वाचा गर्नुभएको छ। यस्तोमा नेतृत्व हस्तान्तरणका लागि माधवजीले सर्वसम्मत वातावरण पैदा गरिदिनुभएको भए उहँको राजनीतिक उचाइ अझ बढ्ने थियो। तर, दुर्भाग्य नै भन्नुपर्ला, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवालमा सिङ्गो एमाले पार्टीभित्र उहाँ अवरोधक जस्तो देखिनुभयो।
० केपी ओली नै अध्यक्ष हुनुपर्ने कारण या आधारचाहिँ के हो नि?
– यसबेला एमालेको नेतृत्व केपी ओलीले नै गर्नु आवश्यक छ भन्नका लागि धेरै कारण र आधार छन्। यसमा घन्टौँ बहस गर्न सकिन्छ। हाम्रो पार्टीका लागि मात्र नभई उहाँको नेतृत्व यतिबेला मुलुककै लागि पनि ‘आवश्यक’ छ जस्तो लाग्छ। एमाले पार्टी ०२७–२८ सालदेखि सशक्त रूपमा उठेर यहाँसम्म आइपुग्दा समयसापेक्ष रूपमा आफूलाई जनताको पार्टीका रूपमा उभिन सक्नुमा नेता केपी ओलीको अत्यन्त महत्त्वपूर्ण भूमिका छ। उहाँ मुलुककै सबभन्दा प्रस्ट, विभिन्न कालखण्डमा मौलिक तर्कका साथ सही र सटिक अडान राख्न सक्ने, योगदानका हिसाबले पनि धेरै काम गरेको, निरङ्कुश शासनविरुद्ध लड्दा चौध वर्ष जेल र चार वर्ष ‘सेल′ भोगेको व्यक्ति मात्र नभई पद, सत्ता या शक्तिकै लागि भनेर कहिल्यै मरिनमेटेको व्यक्तिका रूपमा मुलुकले नै चिनेको व्यक्तित्व हुनुहुन्छ। एकप्रकारले उहाँ त्यागी र सन्त नेता हुनुहुन्छ। उहाँले एमालेको नेतृत्व गर्दा एमाले पार्टीको मात्र नभई सिङ्गो मुलुकले नै बेग्लै दिशा र गति पाउने अपेक्षा गर्न सकिन्छ।
० एक कार्यकालपछि ओलीजीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरिदिने दाबी तपाईं गरिरहनुभएको छ, तर अर्को पक्षले त तपाईंहरू नेतृत्वमा जमिरहन सिन्डिकेट नै खडा गरेर जान खोज्दै हुनुहुन्छ भन्ने आरोप लगाएको छ, कुरो के हो?
– वनको बाघले खाओस्–नखाओस् मनको बाघले खाने भनेको यही हो। उहाँहरूलाई मनको बाघले खाएको हो। हामीले केही सिन्डिकेट–फिन्डिकेट बनाएका छैनौँ र त्यो आवश्यक पनि छैन। कसैको पालो बाँधेको पनि छैन, कसैले त्यस्तो पालो बाँधेर पाउने कुरा पनि आउँदैन। हामीलाई यति थाहा छ कि नेतृत्व हस्तान्तरण आजको आवश्यकता हो र केपी ओली अहिलेको प्रत्याशी हो। नेतृत्व भनेको पहलकदमी र प्रतिस्पर्धाले स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, साथै सहमतिबाट प्रमुख नेतृत्व स्थापित गर्न सके सुनमा सुगन्ध हुन्छ भन्ने हाम्रो प्रस्ट धारणा छ।
० माधव र केपीबीचको अस्वस्थ प्रतिस्पर्धाले कतै पुनः झलनाथ खनालकै पोल्टामा पार्टीको वागडोर पर्ने सम्भावना त निम्त्याउँदैन कतै, के लाग्छ तपाईंलाई?
– त्यस्तो सम्भावना छैन। पुस्तान्तरणको आवश्यकताबारे बहस गहिरो बनिसकेको छ, यसका लागि नेतृत्व हस्तान्तरण हुनैपर्छ। पहिले पुरानाबाट अर्कोमा हस्तान्तरण अनि पुस्तास्तरण, नेतृत्वका सवालमा अब एमाले यही बाटोमा लागिसक्यो। तीस वर्षसम्म दुईजना नेताले हत्याउने अनि तेस्रो नेतामा लैजाऊँ भन्ने कुरा आएपछि चाहिँ एकैचोटि पुस्तान्तरणको कुरा झिक्नु ईर्ष्याले जन्माएको राजनीतिक धूर्त्याइँ मात्रै ठहरिएला।
० एमालेको नवौँ महाधिवेशनबाट आमजनताले के अपेक्षा गर्ने?
– नेपाललाई स्वाधीन र समृद्ध राष्ट्र तुल्याउने सवालमा एमालेको नवौँ महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने बुझौँ। अब आर्थिक, सामाजिक रूपान्तरण हाम्रो मुख्यमध्येका एक कार्यदिशा हुन्छ। नयाँ शिराबाट मुलुकलाई अघि बढाउन एमालेले गम्भीर विचार मन्थन गर्दै छ।
० नेपालका कम्युनिस्ट पार्टीका कुरा मात्र चर्का, तर कामचाहिँ देश र जनताको पक्षमा कहिल्यै देखिएन पनि भन्छन् नि?
– यस्तो आरोप त पूर्वाग्रही भएर लगाइएको हो। जनताको बहुदलीय जनवादलाई मात्र राम्ररी अध्ययन गरेमा थाहा हुन्छ कि हामीले देश र जनताको हितमा के–के गर्न चाहिरहेका छौँ भन्ने त। नेकपा एमालेको नौमहिने सरकारलाई मात्र बिनापूर्वाग्रह हेर्ने हो भने हामी कसका लागि काम गरिरहेछौँ भन्ने बुझ्न सकिन्छ। छोटकरीमा भन्नुपर्दा एमालेले कुरा होइन काम नै गर्छ। देशका युवा वर्ग ठूलो सङ्ख्यामा रोजगारीका लागि बिदेसिनुपरेको कुराले हामीलाई घोचेको छ। यसर्थ, यो देशलाई रोजगारसुलभ र आर्थिक रूपले समृद्ध बनाउन यहाँको जलस्रोतलगायतका स्रोतको सदुपयोग गर्ने, पर्यटनको विकास गर्ने, कृषिलाई व्यवसायीकरण गर्नेलगायतका इस्युमा हाम्रो पार्टीका सबै नेता एकमत छन् भन्ने प्रस्ट्याउन चाहन्छु म। अन्य कम्युनिस्ट पार्टीले के भने र के गरे भन्ने सन्दर्भमा त मैले के भनौँ र!
० केपी ओली अध्यक्ष बन्नुभएपछि पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्नेमा तपाईं कति विश्वस्त हुनुहुन्छ?
– पुरानो पुस्ताका सबैलाई चिन्ने र कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्नेमा केपी ओलीसँग विशेष दक्षता छ। पाकालाई सम्मान र युवालाई जिम्मेवारी दिनुपर्छ भन्ने उहाँको मान्यता रहिआएको छ। लोकतन्त्रमा फरक मत राख्नेलाई पनि कदर गर्नुपर्छ भन्ने उहाँलाई भलिभाँती ज्ञान छ। त्यसैले उहाँ जुनसुकै विचारवाहकलाई पनि कदर गर्नुहुन्छ। सबैसँग घनिष्ट सम्बन्ध राख्न सक्ने उहाँको गुणका कारण पनि उहाँको नेतृत्वमा पार्टी एक ढिक्का भएर अघि बढ्छ भन्नेमा द्विविधा राख्नै पर्दैन।
० प्रसङ्ग बदलौँ, आगामी माघ ८ भित्र संविधान बन्ने सम्भावना कति देख्नुहुन्छ?
– म एकदम सम्भावना देखिरहेकी छु। हामी त महाधिवेशन सकेपछि पहिला कार्यविभाजन गर्छौं र त्यसपछि बिहानदेखि मध्यरातसम्मै समयमै संविधान बन्न के गर्नुपर्छ– त्यसका लागि निरन्तर लागिपर्नेछौँ। व्यक्तिगत रूपमा म त माघ ८ किन कुर्ने, मङ्सिरसम्ममै संविधान बनाएर जारी किन नगर्ने भन्ने पक्षमा पो छु त। राज्यपुनर्संरचना, शासकीय स्वरूप, स्वतन्त्र र निष्पक्ष न्यायालयजस्ता विषयमा केही बहस चलेका हुन्, यसमा विश्वव्यापी मान्यता के छ त्यो हेरेर हामीकहाँ कस्तो र कसरी सुहाउँछ भन्नेमा छलफल गरी टुङ्गो लगाउनुपर्छ। अनावश्यक अडान राखेर आफ्नै कुरा मात्र सही हो, यही नै हुनुपर्छ भनी जुँगाको लडाइँ नगरे सहमति जुट्न कुनै बेर लाग्दैन। सर्वसम्मत नभए निर्वाचनमा गएर बहुमतका आधारमा भए पनि निचोडमा पुग्नुपर्छ। अब अति नै भइसक्यो, स–साना कुरामा खोचे थापेर अनिर्णयको बन्दी बन्न र संविधान निर्माण कार्य अड्काउन कसैलाई सुहाउँदैन। संविधानमा सकभर सबैको चाहना एड्रेस गर्न खोज्नु अलग कुरा हो, तर त्यसमा सबै–सबैको पूरापूर चित्त बुझ्ने अवस्था नरहन पनि सक्छ, सम्झौता गर्न सक्नुपर्छ र संविधान बनेर लागू भएपछि त्यसअनुसार आफूलाई ढाल्ने प्रयत्न हरेक नेपाली नागरिकले गर्नुपर्छ। कालान्तरमा सबै ठीक भर जान्छ भन्ने मेरो धारणा हो।
० हालै पाँच माओवादी घटकबीच कार्यगत एकता भएको छ। यो मोर्चाले संविधान निर्माणमा भाँजो हाल्ने सम्भावना पनि कता–कता व्यक्त गरिँदै छ, तपाईंलाई के लाग्छ?
– प्रचण्डजीहरूले त संविधान निर्माणमा सघाउन यस्तो मोर्चा बनाएको दाबी गरेका छन्। तर, कथम् अब पनि उनीहरू संविधान नबनाउने बाटोमा लागे भने उनीहरूको समाप्तिलाई कसैले रोक्न सक्ला जस्तो लाग्दैन मलाई त। किनकि, देशको स्वाभाविक गतिलाई रोक्न अब कसैले सक्दैन, देश त अघि बढ्छ–बढ्छ।
० सरकार निकै सुस्त देखियो भन्ने कुरासँग चाहिँ तपाईं कति सहमत हुनुहुन्छ नि? यो आरोप हो कि यथार्थ?
– वर्तमान सरकारलाई सुस्त भन्ने आरोप लगाउने पक्षमा म छैन। सङ्क्रमणकालीन र अत्यन्त अप्ठ्यारो अवस्थामा बनेको कामचलाउ सरकार हो यो। देशमा समस्याका डङ्गुर छन्, जनताका आकाङ्क्षा चुलिएको अवस्था छ। सरकारले यसभन्दा बढ्ता गर्न सक्थ्यो पनि होला, तर यतिबेलाको सरकारले जे–जति गरिरहेको छ, यो कम गरेको छ भन्नुचाहिँ आरोपका लागि आरोप लगाउनु मात्र हो। एउटा पार्टीको स्पष्ट बहुमत नभएको र सरकारमा रहेका तीन–चारवटालाई मिलाउनुपर्ने बाध्यता छ। सहमतिबाटै अघि बढ्नुपर्ने हुनाले चाहेजति गर्न पनि मिल्दैन होला। यो सबै कुरामा ध्यान दिएर मात्र टिप्पणी गर्दा सही होला।
० आश गरेका नेताहरू बिमारी परेर मुलुक नै थला पर्ने अवस्था आयो पनि भन्छन् नि?
– महत्त्वपूर्ण नेताहरू बिरामी हुँदा आमजनताले चिन्ता गर्नु, स्वास्थ्यलाभको कामना गर्नु स्वाभाविक कुरा हो। तर, नेता बिरामी परेर काम नै गर्न नसक्ने, देश या पार्टी नै रोकिनुपर्ने अवस्था छैन। प्रधानमन्त्री सुशील कोइरालाको जिब्रो अस्वस्थ भएको धेरै वर्ष भयो, तर उहाँले नेपाली काङ्ग्रेसको सभापतिजस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहनुभएको छ। यतिबेला फोक्सो अस्वस्थ भएर देशबाहिर उपचाररत भए पनि सरकारले गर्नुपर्ने कुनै पनि काम नरोक्नु भनी उहाँले बाटो खोलिदिनुभएको छ। अर्थात्, प्रधानमन्त्री कोइराला बिरामी हुनुभएकै कारणले कुनै काम रोकिएको त छैन, उहाँले आफ्नो अनुपस्थितिमा कुनै काम नगर्नु भनेर अडचन पैदा गर्नुभएको छैन। सरकारको नीति तथा कार्यक्रम आइहाल्यो, अब बजेट पनि आउँछ। संविधान बनाउने कामका लागि संविधानसभा चलिरहेकै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको