संविधानसभा बैठक हल : ‘झुर फिल्मको लास्ट सो’ जस्तो

१३ असार २०७१, शुक्रबार ०८:०० मा प्रकाशित

काठमाडौं, १३ असार । कोही सिहंदरबारतिर घुमिरहेका हुन्छन्, कोही संविधानसभा भवनमै टहलिइरहेका। कोही बैठक कक्षबाहिर चौर–छहारीमा पल्टिरहेका त कोही बानेश्वरवरपरका मिठाइपसलमा गफ चुटिरहेका। कोही भने संविधानसभा बैठक कक्षमै निदाइरहेका।

नयाँबानेश्वरस्थित संविधानसभा भवनमा नयाँ नेपाल कस्तो हुने भन्ने सबैभन्दा संवेदनशील र गम्भीर विषयमा छलफल भइरहेको छ।

संविधान बनाउन जनताबीचबाट चुनिएर संविधानसभा पठाइएका सभासदहरु भने पूर्ण बैठकमै जाँदैनन्। नभ्याएर वा बैठकभन्दा महत्वपूर्ण काम परेर होइन, त्यहीँ वरपर बेफ्वाँकमा समय कटाइरहेका उनीहरु बैठक हलमा भने बस्दैनन्।

संविधानसभा सदस्यहरुले संविधानसभाको पूर्ण बैठक नै उपेक्षा गर्न थालेका छन्। संविधानसभा भवन नै कहिलेकाहीँ जाने, गए पनि हाजिर गर्नासाथ फर्कने परम्पराझैँ बनेको छ।

पूर्ण बैठक चलिरहेको संविधानसभा हल हेर्दा यस्तो लाग्छ, यो कुनै फिल्म हल हो जहाँ असाध्यै झुर फिल्मको अन्तिम सो भइरहेको छ।

संविधानसभाको पूर्ण बैठकमा अहिले तत्कालीन संविधानसभाले गरेका कामबारे छलफल जारी छ। यस्तो बैठकमा बिहीबार दिउँसो मुश्किलले ३५ सभासद देखिन्थे।

तत्कालिन सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषय निर्क्योलसम्बन्धी प्रतिवेदन र तत्कालीन अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हकअधिकार र संरक्षण समितिको मस्यौदामा भएको सहमतिमाथि संविधानसभामा दुई दिनदेखि छलफल चलिरहेको छ।

संविधानसभामा हाल ५ सय ६९ सभासद छन्। दैनिक ३ सय हाराहारीले हाजिर गरिरहेको संविधानसभा सचिवालयस्रोतले जनाएको छ। बैठकमा बस्ने भने हाजिर गर्ने भन्दा निकै कम हुन्छन्।

‘बिहान बैठक सुरु हुने बेला हाजिर गर्न सभासदको भिड लाग्छ, तर संविधानसभा बैठकमा भने औंलामा गन्न सकिने सभासदको मात्र उपस्थिति देखिन्छ,’ सचिवालय स्रोतले भन्यो।

बिहीबार दोस्रो संविधानसभाको उनन्चासौं बैठक हो। सुरुसुरुका बैठकमा सभासदहरुको भिड रहे पनि अहिले क्रमशः कम हुँदै गएको सचिवालय स्रोत बताउँछ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न