राज्य पुनर्संरचनामा सहमति खोजिने

१३ असार २०७१, शुक्रबार ०६:१९ मा प्रकाशित

काठमाडौं, १३ असार । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनर्संरचनासँग सम्बन्धित विवाद समाधानको काम सुरु गरेको छ ।

‘छलफल सुरु गरेका छौं,’ समितिका सभापति बाबुराम भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘अहिलेकै गतिमा दलहरू कुदे भने तोकिएको समय सीमाभित्रै संविधान बन्छ ।’ संविधानसभाको कार्यतालिका अनुसार असोजभित्र एकीकृत मस्यौदा निर्माण गरी कात्तिकमा जनताका बीच छलफल गर्ने र माघ ८ भित्र जारी गर्नुपर्नेछ ।

विघटित संविधानसभाले संविधान जारी गर्न नसक्नुको मुख्य कारण संघीयतासम्बन्धी विवादै थियो ।

भट्टराईले सबै विवादित विषयमा एक चरण छलफलपछि विषयगत उपसमिति बनाएर विवाद समाधानको काम टुंग्याउने गृहकार्य भइरहेको बताए ।

उनका अनुसार राज्य पुनर्संचना, शासकीय स्वरूप, न्याय प्रणालीजस्ता मुख्य विवादित विषयमा सम्बन्धित उपसमिति र दलका शीर्ष नेताहरू सम्मिलित छुट्टै उपसमितिमा छलफल हुनेछ ।

संवाद समितिले यसअघि प्रारम्भिक वार्ता उपसमिति, संविधानसभा बाहिरका दल र सरोकारवाहरूको पहिचान एवं वार्ता प्रक्रिया, कार्यविधि र तौरतरिका तर्जुमा उपसमिति, संविधानका अन्तरवस्तुमा देखिएका असहमतिमा सहमति कायम गर्नुपर्ने विषय पहिचान उपसमिति गठन गरेको थियो ।

विघटित संविधानसभाको विवाद समाधान उपसमितिले विषयगत समितिका प्रतिवेदनहरूमा रहेका विवाद र प्रश्नावलीलाई घटाउने काम गरे पनि संघीयता, शासकीयस्वरूप, न्याय र निर्वाचन प्रणाली, नागरिकताजस्ता मुख्य विवाद समाधान हुन सकेका थिएनन् ।

जेठ २ गते राजनीतिक तहमा भएको सहमतिले यी सबै मुद्दामा मध्यमार्गी समाधान निकाले पनि त्यसले औपचारिक रूपमा संविधानसभामा प्रवेश पाएको छैन ।

संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले तत्कालीन संविधानसभाको पूर्ण बैठकबाट पारित विषयलाई मात्र सहमति मानेकाले संवाद समितिले विवाद समाधान उपसमितिमा भएका सहमतिमा पनि पुनः छलफल र निर्णय गर्नुपर्छ ।

तत्कालीन संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र सरकारद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगका प्रतिवेदनमा प्रदेशको संख्या, नाम, सीमामा विवाद छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न