आगामी दुई वर्षमा पशुपतिनाथ क्षेत्र हेर्नलायक हुनेछ :: गोविन्द टण्डन (सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष)

१२ असार २०७१, बिहीबार ०१:५१ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डन दोस्रोपटक ०७० असार २५ गते यस पदमा नियुक्त भएका हुन्। यसअघि पनि ०४९ वैशाख १ देखि ०५० भदौ ४ सम्म उनी उक्त पदमा थिए। पशुपति क्षेत्रका समस्या, चुनौती, सुधारका कार्य एवम् भावी योजनाबारे गोविन्द टन्डनसँग घटना र विचारका लागि बुद्धिप्रसाद शर्माले गरेको कुराकानी:
० सदस्यसचिवको रूपमा तपाईंको नियुक्ति भएयता के–के सुधारका कार्य गर्दै हुनुहुन्छ?
– मेरो नियुक्ति भएयता देखिने कामहरू धेरै नै भएका छन्। पशुपति क्षेत्रको वातावरण संरक्षण, सरसफाइ, स्थानीय बाँदर एवम् मृगहरूको उचित व्यवस्थापन, बत्ती जडान, डिस्प्ले बोर्डको व्यवस्था, विदेशी पर्यटकलाई समेत मध्यनजर गरेर एटीएमको व्यवस्थालगायत थुप्रै काम भएका छन्। गएको वर्ष पशुपति क्षेत्रले सरकारबाट २५ करोड रूपैयाँ सहयोग पाएको थियो। यो क्षेत्र राष्ट्रिय गौरवको योजनामा समेत परेको कारण त्यसअनुसार धमाधम कार्यहरू भइरहेका छन्। विश्वका करोडौँ हिन्दूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र भएको कारण कसरी यसलाई आकर्षक, पवित्र र सुविधासम्पन्न तुल्याउन सकिन्छ भनेर हामी काम गरिरहेका छौँ।
० पशुपतिका भट्टहरूले माग गरेको ‘कमिसन’ले गर्दा पशुपतिनाथको छविमाथि धक्का पुर्याकएको चर्चा पनि चल्यो, यो विवाद कसरी समाधान गरियो
– पहिला त म के कुरा प्रस्ट पार्न चाहन्छु भने पशुपतिनाथका पुजारीले ‘विशेष पूजा’ गरेबापत पाउनुपर्ने भनेको दक्षिणा हो, त्यो कमिसन होइन। कतिपय मिडियाले बुझ्दैनबुझी ‘कमिसन’ शब्दको प्रयोग गरिदिनु उचित भएन। पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्य पूजा गरेबापत पुजारीहरूले मासिक तलब पाउनुहुन्छ। विशेष पूजा गर्नुपर्ने बेलामा त्यसबापत थप केही दक्षिणा पाउनुहुन्छ। त्यसबापत मूलभट्टले ७.२ प्रतिशत र अन्य भट्टहरूले ३.२ प्रतिशतका दरले चार भट्टले १८ प्रतिशत रकम लिनुहुन्छ। विवाद भने पनि समस्या भने पनि यसैमा सहमति भएको छ।
० तपाईं सदस्यसचिव भएर आएपछि भट्टहरूसँगको सम्बन्ध त्यति राम्रो रहेन भन्छन् नि? खास कुरा के हो?
– त्यस्तो होइन। सदस्यसचिव र भट्टहरूबीचको सम्बन्ध एकदमै राम्रो हुनुपर्छ। त्यो नभई यस क्षेत्रको विकास एवम् सुधार सम्भव पनि छैन। मैले मेरो जीवनकालमा पाँचपटक पशुपतिनाथको मूलभट्ट परिवर्तन भएको देखेँ। जो–जोसँग मैले काम गरेँ उहाँहरूसँग एकदमै राम्रो सम्बन्ध रह्यो। भेटी व्यवस्थापन गर्ने बेलामा उहाँहरूले २५ प्रतिशतसम्म भइदिए हुन्थ्यो भन्नुभ्ाएकै हो, तर पछि आपसी छलफल एवम् सबै कुरा अध्ययन गरेर १८ प्रतिशतमा सहमति जुट्यो।
० नेपाली भट्ट पुजारी राख्नुपर्छ भनेर पनि बेलाबेलामा आवाज उठ्ने गरेका छन् नि, के भन्नुहुन्छ तपाईं?
– कुनै बेला पशुपतिनाथका पुजारी नेपाली नै राखिनुपर्छ भनेर आवाज नउठेका होइनन्। यस कुराको बहसलाई नियमावली नै बनाएर टुङ्गो लगाइएको छ। एकप्रकारले अब यो कुराको अध्याय नै समाप्त भएको छ। नियमावलीमै दक्षिणभारतका तैलिङ ब्राह्मण हुनुपर्ने भन्ने व्यवस्था छ। शृङ्गेणी मठअन्तर्गतका कृष्ण यजुर्वेदी पुजारी हुनेछन्।
० पशुपतिनाथ मन्दिरका भण्डारीहरूले भक्तजनप्रति गर्ने व्यवहार पनि त्यति राम्रो छैन भनिन्छ। पूजा गर्न आउने भक्तजनप्रति रुखो व्यवहार हुने गरेको कुरा सत्य हो?
– यो सत्यभन्दा बढी आरोप नै हो। यसका लागि हामीले भण्डारीहरूलाई सुझाव पनि दिइसकेका छौँ। मन्दिर दर्शनका लागि आउने भक्तजनप्रति अत्यन्त नम्र एवम् सभ्य व्यवहार गर्नुपर्छ भनेका छौँ। कहीँकतै त्यस्ता सिकायत आए भने हामीकहाँ पुर्या्इदिनुहुन पनि म सम्बन्धित सबैमा अनुरोध गर्दछु। यसले अझ सुधारेर लैजान मद्दत पुग्छ।
० पशुपतिनाथको आर्थिक पारदर्शिताको मामला पनि निकै विवादमा पर्ने गरेको छ, होइन?
– त्यो पहिले उठ्ने गरेको थियो, अहिले हामीले व्यवस्थापन गरिसकेका छौँ। पूर्ण आर्थिक पारदर्शिता अवलम्बन गरेका छौँ। भट्ट र भण्डारीहरूलाई तलबको व्यवहार गर्नेदेखि लिएर सबै कुरामा पारदर्शिता कायम भएको छ। अब जो–कसैले पनि पशुपतिनाथ क्षेत्रमा कति भेटी जम्मा भयो भनेर थाहा पाउन सक्नुहुन्छ।
० विद्युतीय शवगृहको निर्माणकार्यचाहिँ कहाँ पुग्यो नि?
– भवन निर्माणतर्फको कार्य भर्खरै सकिएको छ। घाट निर्माणदेखि केही प्राविधिक कामहरू बाँकी छन्। सबै काम यही गतिले अगाडि बढ्यो भने आउँदो दशैँपछि विद्युतीय शवगृह सञ्चालनमा ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ।
० पशुपति क्षेत्रका साधु–सन्तदेखि माग्नेहरूको व्यवस्थापनका लागि कस्तो व्यवहार गर्दै हुनुहुन्छ?
– यो पनि यस क्षेत्रको पुरानै समस्या हो। साधु–सन्तलाई उचित सेवा–सत्कार दिने गरी काम भइरहेको छ। जहाँसम्म माग्नेहरूको कुरा छ, उनीहरूका लागि पनि कतिसम्म गर्न सकिन्छ भन्नेमा विचारविमर्शका साथ कार्य गरिरहेका छौँ।
० स्वच्छ, सफा, पवित्र अर्थात् सुन्दरतम् पशुपतिनाथ क्षेत्र भक्तजनहरूले कहिलेसम्म देख्न पाउलान् त?
– हामी रातदिन नभनी काम गरिरहेका छौँ। अबको दुई वर्षभित्र तपाईंहरूले हेर्नलायक पशुपति क्षेत्र पाउनुहुनेछ। सबैको सहयोग मिल्यो भने अरू बढी पनि गर्न सकिन्छ।
० जताततै कर्मचारी युनियनले दुःख दिए भन्ने सुनिन्छ, तपाईंलाई चाहिँ काम गर्न कत्तिको सहज छ?
– मलाई कर्मचारी युनियनका साथीहरूको कुनै दबाब छैन। हामीले एकदमै मिलेर काम गरेका छौँ। छलफल–बहसबाट नै कार्य अगाडि बढाउँछौँ। पशुपतिनाथ क्षेत्रको संरक्षण एवम् विकास गर्नुपर्छ भन्ने कुरामा कर्मचारी साथीहरू उत्तिकै सकारात्मक र गम्भीर हुनुहुन्छ।
० तपाईंले देखेका यस क्षेत्रका मुख्य चुनौती र भावी योजना के–के हुन्?
– हाम्रा अपेक्षा धेरै छैन। गुरुयोजनाअनुसार नै कार्य अगाडि बढाएको छु। चुनौती त जहाँ पनि हुन्छन्। तर, यसलाई स्वीकार गरी रचनात्मक हिसाबले कार्य अगाडि बढाएको छु। सरकारलगायत सबै क्षेत्रको सद्भाव र सहयोग पाएको छुु। हामीले सबै काम योजनाबद्ध ढङ्गबाट नै गरिरहेका छौँ। सरकारको राष्ट्रिय गौरवको योजनामा समेत परेको कारण पशुपति क्षेत्रले धेरै नै प्राथमिकता पाएको छ। सरसफाइ, भवन निर्माण, पारदर्शिता अवलम्बन र अन्य कार्यहरू महत्त्वका साथ गरिरहेका छौँ। सरकारबाट प्राप्त बजेटको पूर्ण सदुपयोग हुने गरी काम अगाडि बढेका छन्। पशुपति सङ्ग्रहालय करिब २५ लाखको लागतमा निर्माण हुने भएको छ। यीलगायत तत्काल र भविष्यका लागि गर्नुपर्ने कामलाई उच्च महत्त्वका साथ बढाउने प्रयास गरिरहेको छु।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व