आधा दर्जन जिल्ला साक्षर घोषणाका क्रममा

७ असार २०७१, शनिबार १९:२८ मा प्रकाशित

काठमाडौं, ७ असार । सरकारले साक्षर नेपाल कार्यक्रम सञ्चालन गरेपछि चालु आर्थिक वर्षमा आधा दर्जन जिल्ला पूर्ण साक्षर हुने भएका छन् । ती जिल्लामा हालसम्म १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएपछि धमाधम साक्षर जिल्ला घोषणाको लहर चलेको छ ।

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले सिन्धुपाल्चोक, ललितपुर, पाल्पा, चितवन, धादिङ, मुस्ताङ र स्याङ्जा जिल्लामा साक्षर जिल्ला घोषणाको मापदण्ड पुगेको भनी औपचारिक जानकारी दिएकोे बताए ।

सिन्धुपाल्चोकमा यही असार २ गते निर्देशक पौडेल र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा पत्रकार सम्मेलन गरी जिल्लालाई निरक्षरता मुक्त ठहर गरिएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले जानकारी दिए ।
यता, ललितपुरले यही असार ९ गते कार्यक्रम गरी घोषणा गर्ने तय भएको जिल्ला शिक्षा अधिकारी शिवप्रसाद सापकोटाले जानकारी दिए ।

साक्षरता घोषणाको लहर चलेपछि अहिले केन्द्रलाई कुन जिल्लालाई पहिलो वा दोस्रो साक्षर जिल्ला भनी किटान गर्न कठिन परेको छ । सिन्धुपाल्चोकले यही असार १२ गते राष्ट्रपतिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरी पहिलो साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेकामा ललितपुरले शिक्षा मन्त्रीलाई आमन्त्रण गरी साक्षरताको घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।

गौतमले आफूले गत जेठ २५ गते नै सबै गाविसको स्थिति प्रतिवेदनसहित जिल्ला शिक्षा समिति र राजनीतिक दलको बैठकले पहिलो साक्षर जिल्ला घोषणा गर्न शिक्षा मन्त्रालयलाई बोधार्थ दिएर राष्ट्रपतिलाई पत्राचार गरेको तर प्राविधिक कारणबस असार २ गते नै पत्रकार सम्मेलन गरेर जिल्लालाई साक्षर घोषणा गरेको बताए ।

उनले सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला भएकोसम्बन्धी विस्तृत दस्ताबेज शुक्रबार नेपाल सरकारका मुख्यसचिवलाई हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

तर, दुवै जिल्लाका शिक्षा अधिकारीले आफूहरू पहिलो र दोस्रोको दौडमा भन्दा पनि सरकारको कार्यक्रम पूरा गर्न लागिरहेको बताउँछन् । केन्द्रका निर्देशक पौडेलले पनि राम्रो काम गर्न कसैलाई अवरोध नहुने प्रतिक्रिया दिए ।

सरकारले ०६९ सालदेखि ०७२ सम्मको अवधिलाई साक्षर नेपाल अभियान भनी सञ्चालन गरिरहेको छ । यस वर्ष १६ लाख ९३ हजार ९६५ र आगामी वर्ष झन्डै १५ लाख नेपालीलाई साक्षर गराउने लक्ष्य छ ।
आर्थिक वर्ष ०६७÷६८ मा देशैभर घरधुरी सर्वेक्षण गरी निरक्षरको नामनामेसीसहितको लगत तयार हुँदा सिन्धुपाल्चोकमा ८१ हजार ९८१ जना निरक्षर रहेको पाइएको थियो ।
आव ०६७÷६८ र ०६८÷६९ सम्ममा जिल्लाका विभिन्न गाविसमा २२ हजार १९७ जना थप साक्षर भई निरक्षर संख्या ५९ हजार ७८४ यकिन गरिएको थियो । चालु आर्थिक वर्षमा १५ हजार १२० जना साक्षर गराउने लक्ष्यका साथ ५३६ वटा कक्षा र सञ्चालन, १४ हजार ६३९ जना साक्षर भई ९७.६८ साक्षर भएका हुन् ।

आफ्नो मातृभाषामा लेखिएका दैनिक जीवनसँग सम्बन्धित छोटा र साधारण वाक्यहरु बुझेर लेखपढ गर्न सक्ने र बुझेका कुरा एकआपसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधारण हरहिसाब गर्न सक्ने व्यक्तिलाई साक्षर मानिनेछ ।

ललितपुर– यसैक्रममा पूर्ण साक्षर जिल्लाका रुपमा घोषणा हुन लागेको ललितपुर जिल्लाको कुल जनसंख्या चार लाख ६८ हजार रहेकामा चार लाख जनसंख्या साक्षर भइसकेको प्रमुख जिल्ला अधिकारी शिवकुमार सापकोटाले बताए ।
कुल जनसंख्याको ९५ प्रतिशत जनसंख्या सामान्य तरिकाबाट आफ्नो नाम लेख्न र अक्षर पढ्न सक्ने भएमा सो जिल्लालाई पूर्ण साक्षर जिल्लाका रुपमा राख्ने शिक्षा मन्त्रालयको प्रावधानअनुरुप ललितपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न लागिएको उनले बताए ।

जिल्ला शिक्षा कार्यालय ललितपुरबाट ०६७ सालमा गरिएको सर्वेक्षणमा ३२ हजार जनसंख्या निरक्षर रहेको पाइएको भए पनि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालन गरी निरक्षर जनसंख्यालाई साक्षर तुल्याइएको हो ।
साक्षर जनसंख्याको गणना गर्दा पाँच वर्ष माथि र ६० वर्ष मुनिका व्यक्तिलाई मात्र समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११