माइक्रोमा धाउँछन् पूर्वउपप्रधानमन्त्री

२ असार २०७१, सोमबार ०८:२७ मा प्रकाशित

काठमाडौं, २ असार । पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ एकदिन माइक्रो बसमा यात्रा गरिरहेका थिए।

चुपचाप सिटमा बसिरहेका बेला पछाडिबाट आफ्नो नाम काढेर खासखुस भइरहेको सुनेपछि उनका कान टाठा भए। सिधै पछाडि फर्कन दकस लाग्यो। लबाहिर हेरेजस्तो गरेर छड्के आँखा पछाडि डुलाए।

पछाडिको सिटमा दुई युवक रहेछन्। एकले आँखैआँखैले इसारा गर्दै भन्यो, ‘ऊ त्यो अगाडिको मान्छे नारायणकाजी जस्तो छ नि ?’

‘काँ हुनु,’ अर्कोले पत्याएन।

उनीहरू एकछिन चुप्पै रहे। नारायणकाजीको ध्यान भने ती दुई यात्रुतिरै अडिरह्यो। आँखा बाहिर, ध्यान भित्र।

एकछिनपछि पहिलो युवाले फेरि उही कुरा झिक्यो, ‘हैन नारायणकाजी नै हो।’

‘कुनै हालतमा होइन,’ अर्कोले पत्याउँदै पत्याएन।

दुवैबीच बाजी नै पर्‍यो। नारायणकाजी भने एक्लै मुसुमुसु हाँसिरहे।

संयोगले ती दुईजना फर्कने स्टप अलि अगाडि नै रहेछ। माइक्रोबाट झर्ने बेला दुवैले हो कि होइन भनेर छड्के आँखा हेरे। बाजी जित्ने चाहिँ मुसुक्क हाँसेर गयो।

जबदेखि पूर्व उपप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष श्रेष्ठ सार्वजनिक यातायातमा आउजाउ गर्न थाले, यस्ता घटना धेरैचोटि दोहोरिसकेका छन्।

‘बाजी नै परेको त्यही एकताल हो, तर मलाई माइक्रो वा अरू सार्वजनिक गाडीमा सफर गरेको देखेर धेरैजना छक्क परेका छन्,’ श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने।

छक्क नपरून् किन, उनले पूर्व गृहमन्त्रीको हैसियतमा पाउने पछुवा गाडी (सुरक्षाकर्मी) को सुविधाधरि लिएका छैनन्। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टिमलाई फिर्ता पठाइदिएका छन्।

तीन महिनादेखि सार्वजनिक यातायात चढेरै बैठकस्थल र विभिन्न कार्यक्रममा पुगिरहेका छन्। अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा पार्टी बैठक भए आफू बस्ने हरिसिद्धिदेखि लगनखेलसम्म माइक्रोमा आउँछन्। त्यहाँबाट साझा बस चढेर लाजिम्पाट पुग्छन्।

सिंहदरबार, पार्टी मुख्यालय पेरिसडाँडा वा अन्त कतै जानु परे सार्वजनिक यातायातै चढ्छन्। काठमाडौंबाहिर जाँदा पनि सार्वजनिक बस नै उनको रोजाइमा पर्छ। कहिलेकाहीँ गाह्रै परे पार्टी नेतासँग लिफ्ट माग्छन्।

यसरी सार्वजनिक यातायात प्रयोग गर्नुलाई उनले आन्दोलनकै रूपमा लिएका छन्। भन्छन्, ‘यो एउटा आन्दोलन हो।’ कम्युनिस्ट पार्टीको उद्देश्य र आचरण (व्यवहार) मा देखापरेको अन्तरविरोधलाई सम्बोधन गर्न सार्वजनिक यातायात प्रयोग गरेको र पूर्वउपप्रधान तथा गृहमन्त्रीको हैसियतमा राज्यले दिएको सुविधा फिर्ता गरेको उनको भनाइ छ।

‘कम्युनिस्ट नेताको जीवन पारदर्शी हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ श्रेष्ठले भने, ‘सुख–सुविधा भोग गर्न तपाईंसँग पैत्रिक सम्पत्ति छरु पार्टीले गाडी चढ्न आर्थिक स्रोत उपलब्ध गराउँछरु राजनीतिबाहेक अरू कुनै पेसा–व्यवसाय छरु यस्ता प्रश्नको जायज उत्तर दिन नसक्नेले गाडी चढ्न सुहाउँदैन।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया