पुष्पकमलको नजर फेला नपरेका जनजातिमाथि -भरत दाहाल

२ जेष्ठ २०६९, मंगलवार १९:२० मा प्रकाशित

भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नो निवासमा गुरु राखेर मन्त्रालयको भागबण्डा मिलाएको १० दिनपछि पुष्पकमल दाहालले आफ्नै निवासमा जनजाति नेताहरुलाई खस समुदायको प्रतिकारमा उत्रन अपिल गरेको कुरा सञ्चार माध्यमहरुबाट बाहिर आयो। दाहालको यो हुँकारले २०५२ सालको त्यो समयलाई पुनःस्मरण गरायो, जुन बेला उनैले नेपालका गरिबहरुलाई साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादमाथि धावा बोल्न ‘आदेश’ दिएका थिए।
२०५२ सालमा पुष्पकमलमाथि विश्वास गर्ने गरिब नेपालीहरुका २० हजार कंकाल उनको पेटभित्र छन्। उनलाई क्रान्तिको ‘हिरो’ ठान्ने भूल गर्ने लाखौं नेपालीहरु अधकल्चो जीवन बोकेर आज सडकमा उत्तानो परेका छन्। सामाजिक द्वन्द्वलाई सधैँको निम्ति समाप्त पार्ने ०५२ साले उनको उपदेशले देशमा अन्त्यहीन द्वन्द्वको सूत्रपात गरेको छ। तर जसका विरुद्ध ‘जनयुद्ध’को उद्घोष गरेर गरिब नेपालीहरु तातो रगतको होलीमा रंगाइएका थिए तिनै साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी र दलाल नोकरशाही पूँजीवादीहरुको वफादार कुकुरका रुपमा अहिले पुष्पकमल दाहाल प्रतिक्रियावादी सत्ताको मालिक बनेर आफूलाई काँध हाल्ने युद्धकालीन जनता र सुकुम्बासीहरुमाथि डोजर चलाउँदै छन्।
बितेका ६ वर्षमा पुष्पकमल निर्वस्त्र भए। क्रान्तिकारी वामपन्थी र संसद्वादी दुवै वृत्तमा उनको पहिचान बन्न सकेन। पार्टीभित्र र बाहिर सबैतिर उनी नराम्ररी स्खलित भए। उनको ‘नायकी’ आवरणलाई भ्रष्टाचार, मौसमी बोली, स्वार्थका लागि गर्ने सौदाबाजीजस्ता कुराहरुले धुजाधुजा पारे। त्यसैले उनलाई खेल्नका लागि पुनः रगत चाहिएको छ। आफू ‘जनजातिवादी’ देखिएर अब उनले समुदायको रगत निचोर्न खोजिरहेका छन्। जनजातिहरुलाई यसरी उचाल्दा अखण्ड चितवन, ७ प्रदेश, संयुक्त नामका प्रदेशहरुमा उनले भित्रभित्रै लबिङ र सहमति गरेर दोहोरो तेहोरो भूमिका खेलिरहेको तथ्यप्रति कसैले आँख चिम्लनु हुँदैन। दलीय बैठकहरुमा आफ्नो स्वार्थको बार्गेनिङमा कमजोर बन्दै गएपछि त्यसलाई बलियो बनाउन ‘जनजाति’ कार्ड फ्याँके पनि सौदाबाजीमा सफल हुनासाथ पुष्पकमल ‘जनजातिवादी’ रहने छैनन् भन्ने तथ्यलाई जनजातिहरुले समयमै बुझ्नु पर्दछ।
इतिहासका कतिपय घटनाहरुमा व्यक्ति पात्रहरुका बारेमा धेरै कुरा बोल्नुपर्ने हुन्छ। ‘१२ बुँदे समझदारी’ पछि यसरी उल्लेख गरिरहनु पर्ने पात्रहरुमा पुष्पकमल र बाबुराम पर्दछन्। किनभने यस्ता पात्रहरुले आफ्नो निजी विवेकको धारणा बालिरहेका हुँदैनन्। तिनीहरुको बोलीभित्र एउटा ‘मिशन’ हुन्छ र यो ‘मिशन’ अन्यत्र जोडिएको हुन्छ। तसर्थ, पात्रको चर्चा गर्नु भनेको त्यसको बोलीका पछाडि रहेको उद्देश्यलाई बाहिर ल्याउनु हो। यो कुनै व्यक्तिको निजात्मक चर्चा मात्र होइन । कार्लमार्क्स एउटा इतिहास दर्शन हो। महात्मा गान्धी र हिटलरका नामहरु सामाजिक आन्दोलनको चरित्रका रुपमा उठाइन्छन्। विन लादेनको नाम उनको निजी जीवनको गाथाको रुपमा नभएर साम्राज्यवाद विरोधी अभियानका रुपमा चर्चामा आएको हो।
सबै मानिसका सुन्दर नाराहरुभित्र असल उद्देश्य हुँदैन। कतिपय मानिसहरुले बर्बादीको अभिष्ट बोकेर सुन्दर संसारको नारा दिन्छन्। हिटलरको ‘साम्राज्यवाद’ को नाराले यहुदी जातिको विनासको अभिष्ट बोकेको थियो। साम्राज्यवादको ‘प्रजातन्त्र’ र ‘मानव अधिकार’ले कमजोरहरुको बर्बादीमा आफ्नो भोग बिलासको सपना सजाएको हुन्छ। हाम्रै कुरुप तस्बिर बोकेर हजारौं नागरिकहरुको बली चढाएको थियो।
२०५२ सालमा नेपाली जनताको आकर्षण वर्गीय उत्पीडनको विरोधसँग जोडिएको थियो। त्यो बेला जातिको नारालाई मुख्य बनाएर पुष्पकमल र बाबुरामका लागि कसैले रगत दिँदैनथ्यो। त्यसैले साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवादका विरुद्धको वर्गीय नारा घन्काउनुको विकल्प थिएन। वर्गीय भावनालाई एउटा उद्देश्यमा प्रयोग गरियो। बीचमा उनीहरुले नै नेपालमा भएको जातीय उत्पीडनको वास्तविक प्रकृतिलाई बंग्याएर, अतिरञ्जित बनाएर जातिवादी वातावरण तयार पार्न भूमिका खेले। यसका पछाडि प्रस्ट कारणहरु रहेका छन्। पहिलो कारण यो हो कि १० वर्षसम्म वर्गका कुरा गरेर आफूले गरेको षड्यन्त्र तथा उत्पीडित वर्गप्रति गरेको धोखाधडीलाई पूरै ओझेलमा पार्न समाजलाई ‘जाति’को रंगले रंगाइदिनु। दोस्रो कारण हो– वर्गप्रति गद्धारी गरेपछि अब सो वर्गबाट समर्थन पाउने आधार समाप्त भएपछि दोस्रो कार्डका रुपमा जातिलाई प्रयोग गर्नु। यो कार्ड पुष्पकमल दाहाललाई सञ्चालन गर्ने अदृश्य शक्तिको दोस्रो चरणको रणनीतिसँग जोडिएको छ। १० वर्षे युद्धमा नराम्ररी प्रयोग गरिएर चेतेको थारु समुदाय पुष्पकमलको हातबाट पूरै बाहिर गइसकेको भने दाहालको ‘मधुर’ वाणीले मगरहरुमा कुनै प्रभाव पार्दैन। त्यसैले अर्को चरणको खेलका लागि दाहालको नजर उनको फेला नपरेका पूर्वीय जनजातिहरुमाथि तानिन पुगेको छ।
पहिलो चरणको रणनीति सामाजिक एवं वर्गीय द्वन्द्वको जग निर्माण गर्ने योजनासँगै पूरा भएको छ र दोस्रो रणनीति संविधान नबनाएर देशमा बहुआयामिक प्रकृतिको जातीय द्वन्द्व खडा गरेर अगाडि बढाउने षड्यन्त्रका रुपमा अगाडि बढ्दैछ। देशमा गृहयुद्ध सुरु गराएर राज्यलाई असफल बनाउने र अफगानिस्तानको अवस्थामा पुर्याुइसकेपछि यहाँ विदेशी फौज निम्त्याउने यसको दोस्रो लक्ष्य हो। विवादका नाममा संविधानसभा र दलीय बैठकहरुमा दिन गुजार्न भइरहेको नाटकले यो सबै तथ्यलाई घामजस्तै गरी छर्लङ्ग बनाइसकेको छ।
नेपालमा जातीय उत्पीडन छैन भन्नु अर्को अतिवादी सोंचाइ हो। यहाँ सैयौं वर्षदेखि दलित, महिला र जनजातिहरुमाथि भेदभाव हुँदै आएको छ भन्ने कुरा पनि एकदमै सत्य हो। तर समस्याको प्रकृति जे हो, त्यसलाई बंग्याएर साम्प्रदायिक सद्भाव भाँड्ने षड्यन्त्र यहाँ भइरहेको छ।
सामाजिक रुपमै उत्पीडित रहेको ‘जाति’ दलित हो। दलित समुदाय बाहेक अन्य कुनै पनि तप्कामाथि यहाँ सामाजिक उत्पीडन छैन। जनजाति, आदिवासी जे भने पनि उनीहरुमाथि उत्पीडन गर्दै आएको तप्का शासक वर्ग हो। राज्यले गर्दै आएको अन्याय नै जनजातिहरुमाथिको उत्पीडन हो। जनजातिहरुमाथि खस समुदायले कहिल्यै पनि अत्याचार गरेको इतिहास छैन। एउटा समुदायको हिन्दू धर्म, संस्कृति, मनोविज्ञान परम्परालाई दुरुपयोग गरी राज्यले जनजातिहरुमाथि भेदभाव गर्दै आएको छ। यो समस्या शासक वर्गीय जातियताबाट उत्पन्न भएको समस्या हो न कि अर्को कुनै सिंगो समुदायबाट।
सबैले बुझ्नु पर्ने अर्को वास्तविकता के हो भने शासक वर्गीय जातियता लाद्नेहरुमा खस समुदायको माथिल्लो शासक वर्ग मात्र छैन। तराईको कथित बाहुन क्षेत्री भनिने तप्काको जमिन्दार र पूँजीपतिहरुको तप्का पनि यसमा समान रुपमा मतियार बन्दै आएको छ। यादव, झा, श्रीवास्तव, गुप्ता, त्रिपाठी, ठाकुरजस्ता ‘उच्च जाति’ भनेर चिनाउन चाहनेहरुको माथिल्लो वर्ग तराईको मुख्य समस्या हो। यो कहिल्यै पनि उत्पीडित छैन। २००७ सालपछि, पञ्चायतकाल, बहुदलकाल र अहिले पनि यो शासक वर्ग रहिआएको छ। यो वर्गको अत्याचारबाट मुक्तिका लागि त्यहाँको आदिवासी, जनजाति र मुसलमानहरुलाई अधिकार चाहिएको हो। तराईको ‘मसिहा’ बन्न खोजेका ‘मधेसवादी’ नेताहरुले कोच, मैथिली, भोजपुरी, थारुजस्ता सभ्यता, संस्कृति र भाषाहरुलाई समाप्त पारेर भारतीय विस्तारवादको इशारामा ‘एक मधेस’को नारा उछाल्नुले पनि उनीहरु ‘मधेसी’हरुको मुक्ति चाहिरहेका छन्, कि तराईका मुलवासीहरुको नाम बेचेर आफ्नो अत्याचारलाई नयाँ सजावटमा जारी राख्न चाहिरहेका छन् भन्ने कुरा प्रस्ट पार्दछ।
नेपालीहरुले ध्यान दिनुपर्ने एकदमै महत्वको तेस्रो पक्ष हो– नेपालमा जातीय उत्पीडनको समस्याको मूल स्रोत ‘हिन्दुत्व’को अभिजात वर्गीय धारणा र यसबाट चलेको राज्य हो। दलित र जनजातिहरु यसैको शिकार हुँदै आएका छन्। यो तथ्यलाई उपेक्षा गरेर जनजाति र खस समुदायले एक अर्कालाई आफ्नो विपक्षी देख्नु यस्तो गम्भीर भूल हुनेछ, जसको क्षतिपूर्ति सामान्य प्रयासबाट हुन सक्ने छैन। तसर्थ, तराईका आदिवासीहरु, मुसलमानहरु र पहाडका जनजाति तथा खस समुदायहरु सबै एकजुट भएर ‘हिन्दूत्व’को पहिचानसँग जोडिएको खस तथा ‘मधेसी’ अभिजात वर्गको प्रतिरोधमा संयुक्त रुपमा उठ्नु पर्दछ।
चौथो तथ्य यो हो कि यदि नेपालको जातीय समस्या राज्यद्वारा सिर्जित समस्या हो भनि मान्ने हो भने यो शासक वर्गद्वारा सिर्जित गरिएको हो भनी बुझ्नु पर्दछ। यहाँको शासक वर्ग दुई सय वर्षदेखि साम्राज्यवाद–विस्तारवादको दलालका रुपमा काम गर्दै आएको छ। त्यसैले यहाँको जातीय समस्या सिधैँ साम्राज्यवाद–विस्तारवाद र त्यसका दलालहरुले लादेको आन्तरिक नवऔपनिवेशिकताको समस्या हो। जबसम्म नेपालको जातीय आन्दोलनलाई यी दुई शक्तिका विरुद्धमा केन्द्रित गर्न सकिँदैन तबसम्म आन्तरिक नवऔपनिवेशिकताको समस्याले समाधान दिन पाउने छैन। स्पष्ट भाषामा भन्नुपर्दा यो राष्ट्रिय मुक्ति आन्दोलनको सरोकारको विषय हो। र अन्तिम तथ्य के हो भने जातीय समस्याको समाधानको सबैभन्दा राम्रो उपाय जातीय समानता, समानुपातिक प्रतिनिधित्व र स्वायत्तताको अधिकार हो। हाम्रा ऐतिहासिक सभ्यता, संस्कृति, भाषा आदिलाई सम्मान गरेर प्रदेशको नामाकरण गर्नुमा कुनै आपत्ति हुनु हुँदैन। किराँत हाम्रो प्राचीन सभ्यता हो। मिथिला हाम्रो गौरव हो। थरुहट पनि पुरानो इतिहास हो। नेपाल (आजभोलि नेवाः नेवार जे भने पनि) हाम्रो राजनीतिक र भाषिक सभ्यता हो। यी सभ्यताहरुको चिनाउनु र स्थापित गर्नु सबैको कर्तव्य हो। तर जातिको पहिचानका नाममा एउटा जातीय समुदायलाई शासक मान्ने र अर्कोलाई शासित बनाउने मध्ययुगीन प्रवृत्ति कसैले स्वीकार गर्दैन र यस्तो दुस्साहस गर्नेको पतन पनि अवश्यंभावी छ। नेपालको छरिएको जातीय जनसंख्या वितरणलाई आधार मान्दा यहाँ बन्न सक्ने प्रदेशहरु बहुजातीय स्वायत्त प्रदेशहरु नै हुन्।
कुनै मानिस जुन सभ्यता र संस्कृतिमा हुर्केको हुन्छ, त्यसको पहिचान त्यही हुन्छ न कि जातीयता। मिथिला संस्कृतिमा बाँचेका खस वा जनजाति मैथिल हुन्छ। किराँती सभ्यतामा जन्मेको नेवार किराँती हुन्छ। किनभने फरक जातियताको मूलबाट आएको भए पनि उनीहरुले आफू बसेको ठाउँको भाषा, संस्कृति, आर्थिक जीवन, बसोबासको क्षेत्र, राजनीतिक प्रणाली आदिलाई समान रुपमा आत्मसात गरेका हुन्छन्। तर यहाँ जातीयतालाई नश्लका रुपमा अपव्याख्या गर्ने र हुँदै नभएको कुरा थोपर्ने षड्यन्त्र विदेशीहरुबाट भइरहेको छ। जस्तो कि तराईमा ‘मधेस’ शब्दले कुनै अर्थ निकाल्दैन। शाब्दिक रुपमा ‘मधेस’ भनेको बीचको भू–भाग हो। नेपालको बीचको भूभाग पहाडी प्रदेश हो। ‘मधेस’ भन्ने कुनै सभ्यता, संस्कृति र इतिहास पनि नेपालमा छैन। यो कुनै भाषिक वा जातीय समुदाय पनि होइन। त्यसैले तराई कुनै पनि अर्थमा ‘मधेस’ हुन सक्दैन। यो शब्दलाई भारतको मध्य प्रदेश (पहिलेको मध्यदेश) को उत्पत्तिसँग जोडेर तराईको मिथिला, थारु संस्कृति वा भोजपुरी, कोच भाषिक समुदायहरुलाई भारतीयकरण गर्ने र यहाँ दिल्ली संस्कृति लाद्ने षड्यन्त्रबाट ल्याइएको हो।
विदेशी शक्तिहरुले यहाँको वास्तविकता माथि बहसको वातावरण बन्न नदिनका लागि आफ्ना एजेन्टहरुलाई पैसाको आडमा नक्कली कुरा उछाल्न लगाइरहेका छन्। मिथिला, कोचिला, थरुहट आदिका विरुद्ध ‘मधेस’ र खस समुदायका विरुद्ध ‘जनजाति’ कार्डको प्रयोग वा जनजातिहरुका विरुद्ध ‘खस’ अहंकारवादको प्रचार आदि कुराहरु यस्तै प्रकारका विदेशी षड्यन्त्र हुन्। यी षड्यन्त्रकहरुको गहन ढंगले चिरफार गर्ने दिशामा अघि बढ्नासाथ पुष्पकमल, बाबुराम, महतो, त्रिपाठी, गुप्तालगायत अन्य दलभित्र रहेका दलालहरुका हतियार सदाका लागि भुत्ते हुन्छन् र विभिन्न आवरणमा यिनीहरुले चलाउँदै आएको लुट र अत्याचारका कथाहरु पनि सकिन्छन्।
पुष्पकमल र ‘मधेसवादी’हरु किन पनि भयभित छन् भने नेपाली जनता अब आफ्नो विवेकबाट अघि बढ्ने स्तरमा उठ्न थालेका छन्। सुदूरपश्चिम, थरुहट, मिथिला, भोजपुरा, कोचिला, लिम्वूवान जस्ता उभारहरुले केही समयका लागि अन्यौल सिर्जना गर्लान् तर यो जनताको मनमा लागेको आवाज हो र यो भन्दा महत्वको पक्ष के हो भने जनताको पंक्तिले अहिलेका दल र नेताहरुप्रति विश्वासको धैर्यता तोडेको छ। दलहरुप्रति मोहभंग भएको छ। जनता सडकमा उत्रने प्रक्रियाले त्यसका बीचमा नयाँ नेतृत्वको विकास गर्न सुरु गरेको छ। आजसम्म देश लुट्नेहरुको स्खलन र नयाँ नेतृत्वको उदयको प्रक्रिया तीव्र भएको छ। यसले निश्चित रुपमा नेतृत्वको आजसम्मको संकटलाई धेरै हदसम्म समाधान गर्ने र सबै वर्ग तथा समुदायहरु एउटा साझा निष्कर्षमा आउने छन्। किनभने जनताको पंक्तिमा अपराध भावना हुँदैन। अपराध भावना तिनीहरुमा हुन्छ, जो रगतमा रम्न अभ्यस्त भएका हुन्छन्। यस्तो भावना सबैभन्दा तीव्र भएकाहरु दश वर्षे ‘क्रान्ति’का नायक र गौर हत्याकाण्डका खलनायकहरु हुन्। समुदायहरुका बीचमा समझदारी बन्नासाथ यिनीहरुको कुत्सित खेल जीवनको पनि अन्त्य हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका