रानी जमरा सिँचाइको इन्टेकको ९० प्रतिशत निर्माण सम्पन्न

२६ जेष्ठ २०७१, सोमबार १९:०२ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक (नदीबाट पानीको बहाव परिवर्तन गर्ने पूर्वाधार) निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

सिँचाइ आयोजनाको प्रमुख पूर्वाधार मानिने इन्टेक निर्माण कार्यको ९० प्रतिशत कार्य आयोजनाको लक्ष्यअनुसार नै साढे दुई वर्षमा सम्पन्न हुन लागेको आयोजनाले बताएको छ ।
कर्णाली नदीमा अवस्थित उक्त आयोजनाको इन्टेकको निर्माण कार्य सम्पन्न पछि १०० घनमिटरप्रति सेकेन्डका दरले पानीको बहाव परिवर्तन गरिने आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रेमकुमार श्रीवास्तवले बताउनुभयो ।

पानी बहावका दृष्टिले नेपालकै सबैभन्दा ठूलो क्षमताको इन्टेकको २०० मिको मुख्य नहरसहित निर्माण रु एक अर्ब पाँच करोडको लागतमा निर्माण भएको हो ।

आयोजनाको मुख्य निर्माण कार्यमा कर्णाली पुलभन्दा १२० मि तल १०० क्युमेकको स्थायी गेटेड इन्टेक, करिब नौ किलोमिटरको मूल नहर निर्माण, ११ किमि लामो फिडर नहर, ८० किमि लम्बाइको ग्रामीण सडकको सुदृढीकरण र २० हजार ३०० हेक्टर क्षेत्रफलको सिञ्चित क्षेत्र बचावट तथा संरक्षण कार्य रहेको सिडिइ प्रेमकुमार श्रीवास्तव बताउनुहुन्छ ।

कैलाली जिल्लाका टीकापुर नगरपालिका र र आठ गाविस (पथरैया, दुर्गाैली, जानकीनगर, प्रतापपुुर, धनसिंहपुर, नारायणपुर, बलिया र मुनुवा)मा २० हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने उद्देश्यले सुरु गरिएको सो आयोजना सरकारको प्रथम प्राथमिकतामा रहेको आयोजना हो ।

आव ०६४/६५ देखि सुरु गरी आव ०७४\७५ सम्पन्न गरिने लक्ष्य रहेको सो आयोजनामा विश्व बैंकको ४३ मिलियन अमेरिकी डलर, सरकारको पाँच मिलियन अमेरिकी डलर र उपभोक्ताको एक मिलियन अमेरिकी डलर लगानी रहने सिँचाइ मन्त्रालयका सहायक प्रवक्ता नीर शाक्य बताउनुहुन्छ ।

विश्व बैंकको सहयोगमध्ये ५५ प्रतिशत अनुदान र ४५ प्रतिशत ऋणका रुपमा रहने र उपभोक्ताको अधिकांश रकम श्रमदान र परिचालनअन्तर्गत रहने छ ।

कर्णाली नदीको पश्चिमी भङ्गालो झरही नालामा आधारित रानी जमरा कुलरिया सिँचाइ प्रणाली खासगरी १०० वर्ष अगाडि थारु समुदायको प्रयासबाट थालनी भएको मानिन्छ । रानी कुलो विसं १९५३ मा पदमकुमारी शाह, कुलरिया कुलो विसं १९६० मा ढुण्डीराज शाही र जमरा कुलो विसं १९७२ मा मधु महतो र कन्हैया महत्तोद्वारा सुरुआत गरिएका सिँचाइ प्रणाली हुन् ।

हाल उपरोक्त सिँचाइ प्रणालीबाट मौसमी रुपमा ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ हँदै आए पनि आयोजनाको निर्माणसम्पन्न भएपछि २० हजार ३०० हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ हुने मन्त्रालयका सहायक प्रवक्ता शाक्य बताउनुहुन्छ ।

तीनै प्रणालीको संयुक्त व्यवस्थापन तथा समन्वयका लागि हाल रानी जमरा कुलरिया उपभोक्ता संस्था गठन गरी आधुनिकीकरण र सुदृढीकरण भइरहेको छ । कृषि उत्पादन र रोजगारीमा वृद्धि गर्ने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाबाट एक लाख ६० हजार जनसङ्ख्या लाभान्वित हुने अनुमान छ ।

कतिपय स्थानमा नहर वन क्षेत्रबाट प्रवेश गराउँदा वन कटानी र कतिपय स्थानमा वनमा रहेका अवैध बस्तीलाई उठाउने कार्यमा चुनौती थपिएको आयोजनाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय