भ्रष्टाचारको खात कसले कारबाही गर्ने…? -केदार सुवेदी

१ जेष्ठ २०६९, सोमबार १९:५५ मा प्रकाशित

माओवादीको सरकारले नियुक्त गरेका व्यक्तिहरू कतिसम्मको भ्रष्टाचार गरिरहेका छन् भन्ने प्रधानमन्त्री, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा परेको उजुरीहरूका खात उदाहरण भएका छन्। त्यसमध्ये स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशकले गरेको भ्रष्टाचारको यी तीन कार्यालयमा परेका उजुरीहरू जसको दर्ता नं. क्रमशः ११९५५ वैशाख १३, १८२६२ वैशाख २६ र सतर्कता केन्द्र ५५७ रहेको एउटा विवरण प्रस्तुत छ। भ्रष्टाचारसम्बन्धी उजुरी दिने निकाय यति नै छन्। उक्त उजुरीको व्यहोरा यस्तो छः–

नेपालको विकासका लागि विदेशी नियोगहरूले दिएको अनुदान, एसियाली विकास बैंक र विश्व बैंकले दिएको ऋण सहयोग र नेपाल सरकारको समेत गरी ३० अर्ब रूपैयाँभन्दा बढी वार्षिक बजेट भएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग भित्रका परियोजनाहरूमा भ्रष्टाचारले सीमा नाघेको छ। सडक, खानेपानी, झोलुंगेपुल, सिँचाइलगायतका क्षेत्रमा विभागले अहिलेसम्म गरेको खर्च र भएका विकासको मिहिन ढंगले अध्ययन र अनुगमन गर्ने हो भने २५ प्रतिशत पनि सदुपयोग हुन सकेको छैन। विभागका महानिर्देशक भूपेन्द्रबहादुर बस्नेतका आफ्नै कन्सलटेन्सी, फ्रेबिक कम्पनी र कन्स्ट्रक्सन कम्पनीमा दृश्य अदृश्य लगानी छ। उनको श्रीमतीको नाममा दर्ता गरिएको इन्सकुल्सिभ कन्सलेटेन्सीलाई विभाग र अन्तर्गतका जिल्लाहरूबाट २०६५ सालदेखि वार्षिक करोडौं रूपैयाँका काम दिएको छ। ती काममध्ये अधिकांश बिनाप्रतिस्पर्धा दिइएको अनुसन्धान गरेको खण्डमा प्रष्ट हुनेछ। महानिर्देशक बस्नेतकै भए पनि अर्कैको नाममा रहेको ट्रेनिङ सेन्टर नेपाललाई सडक र खानेपानीको लाखौंलाख बजेट जुम्ला, हुम्ला र कालीकोटजस्ता जिल्लामा ब्युटीपार्लर तालिम र बेमौसमी तरकारीखेतीको बारेमा तालिम दिएको भन्दै सिध्याउने काम भएको छ। तालिमै नदिई कीर्ते कागजात बनाएर राष्ट्रको विकास निर्माणको बजेटमा भ्रष्टाचार भएको छ। दुई छाक खान धौधौ परेका जनतालाई ग्रामीण सडक, खानेपानीका लागि दिएको ऋण सहयोग कसरी दुरूपयोग भएको छ भन्ने यी केही उदाहरण हुन्। झोलुंगेपुल नभएर तुइनमा झुन्डिएर स्कुल जाँदा अकाल मृत्युवरण गर्नुपर्ने विडम्बनापूर्ण अवस्था एकातिर छ भने अर्कोतिर त्यही झोलुंगेपुलको प्रारम्भिक वातावरणीय सर्वेक्षण गरेको भन्दै इन्सकुल्सिभजस्ता कन्सलटेन्सीले लाखौंलाख रूपैयाँ भुक्तानी लिएका छन्। कतिपय जिल्लामा अघिल्लै वर्ष निर्माण भइसकेको सडक पुनर्निर्माण गरेको भनेर करोडौं बजेट मिलिजुली खाने काम भएको छ। विभागका महानिर्देशक बस्नेत २०६५ सालमा ग्रामीण पुनर्निर्माण, पुनर्स्थापना आयोजना (आरआरआरएसडीपी) को प्रमुख भएपछि त्यस आयोजनाबाट कन्सल्टेन्सी छनोट, तालिम र ठेक्कापट्टामा भएको अनियमिततादेखि २०६८ सालपछि महानिर्देशक भएपछिको आरआरआरएसडीपी, सीआईपीजस्ता प्रोजेक्टमा भएका भ्रष्टाचारको छानबिन गरे करोडौंकरोड रूपैयाँ भ्रष्टाचार भएको तथ्य खुलासा हुनेछ। महानिर्देशक बस्नेतले चालू आर्थिक वर्षमा मौजुदा सूचीमा दर्ता नै नभएको इन्सकुल्सिभलाई करोडौं रूपैयाँका काम दिएका छन्। विभागको बेवसाइटमा सूची दर्ताका लागि आवेदन दिएका कम्पनीहरूको नाममा इन्स्कुल्सिभको नाम छैन। सूची दर्ता नभएको कम्पनीलाई काम दिनु नियमविपरीत हो। तर कहाँ निर्देशकको कम्पनीले सूची दर्ता नै नगरी विभिन्न जिल्लामा काम गरी करोडौंको काम गरी भुक्तानी लिइसकेको छ। त्यस्तै डोलिडारका परियोजनाहरूबाट सरसफाइ, सामाजिक परिचालन, लैंगिक समावेशीकरणलगायतका तालिमका लागि पनि बस्नेतले आफ्नै ट्रेनिङ सेन्टरलाई बजेट पार्दै आएका छन्। बस्नेत अख्तियारको प्रवक्ताबाट डोलिडारमा फिर्ता भएपछि आरआरआरएसडीपी प्रोजेक्ट प्रमुख भएपछि उनी संलग्न इन्सकुल्सिभ र ट्रेनिङ सेन्टर नेपालले सर्भे, प्रारम्भिक वातावरणीय परीक्षणका नाममा मात्र नपुगेर ब्युटीपार्लर तालिम, बेमौसमी तरकारीखेती र प्लम्बिङ तालिमका नाममा विभिन्न जिल्लाबाट करोडौं रूपैयाँ बिनाप्रतिस्पर्धा कोटेसनका आधारमा पाएको छ। ड्रिलीप परियोजनाबाट हुम्लामा बेमौसमी तरकारीखेतीका लागि २०६६ सालमा ७ लाख रूपैयाँ लिएको देखिन्छ। त्यस्तै २०६५ देखि २०६७ सम्म इन्सकुल्सिभ र ट्रेनिङ सेन्टरका नाममा डोलिडारको खानेपानी शाखा, ड्रिलिप र आरआरआरएसडीपीबाट भुक्तानी लिनेगरी नेपालगन्ज, हुम्लामा प्लम्बिङ, ब्युटिसियन र बेमौसमी तरकारीखेतीको शीर्षकमा बजेट निकासा भएको छ। २०६६ मा ग्रामीण खानेपानी सरसफाइसम्बन्धी म्यानुएल बनाउने भनेर १३ लाख, मनाङको चामे–खाङमा सडकबाट ४ लाख, मकवानपुरमा झोलुंगेपुलको सर्भे डिजाइनमा १० लाख, मन्थली–साँघुटार सडकको प्रारम्भिक वातावारणीय परीक्षणबापत लाखौं रूपैयाँ भुक्तानी लिइसकेको छ। यी केही उदाहरणमात्र हुन् उनले गरेका अनियमितता। जिल्लामा इन्जिनियर नियुक्तिदेखि ठेक्का र कन्सलटेन्सी छनोटमा आरआरएसडीपीमा उनले गरेको अनियमितताका। जिल्ला इन्जिनियर नियुक्तिदेखि ठेक्का र कन्सलटेन्सी छनोटमा आरआरआरएसडीपीमा उनले गरेको अनियमितता छर्लंग हुनेछ। एडीबीले सहयोग गरेको आरआईडीपी प्रोजेक्टदेखि ड्रिलिप प्रोजेक्टको प्रमुख हुँदा बस्नेतले साझै केन्द्रबाट सामान खरिद गरी ६० लाख रूपैयाँ भ्रष्टाचार गरेका थिए।
२०६८ फागुनमा विभागका सीडीई र इन्जिनियरहरूको सरूवामा कनिष्टहरूलाई विभागका प्रोजेक्ट प्रमुख र राम्रा जिल्लामा खटाइएको छ। २०५२ सालका सीडीईलाई जिम्मेवारी नदिई २०६२ का सीडीईलाई अर्बौं बजेट भएको आरएआइडीपीको प्रोजेक्ट प्रमुखमा तीन वर्षभन्दा बढी समयदेखि राखिएको छ। बस्नेतको भ्रष्टाचारमा साथ नदिने सीडीईहरूको दरबन्दी नै बाहिरी जिल्लामा राखिएको छ। उनले भनेको कन्सलटेन्सीलाई काम नदिने, उनले भनेको ठेकेदारहरूलाई काम नदिने इन्जिनियरको कार्यसम्पादन मूल्यांकन समेत बिगार्ने र दुर्गममा सरूवा गर्ने धम्कीले धेरै इन्जिनियर आजित छन्। बस्नेतलाई कमिसन बुक्राउने काठमाडौंका कुमार थापा र ललितपुरका माधव भट्टराई विभागकै कनिष्ट सीडीई भए पनि उनीहरूलाई साझै विभागमा ल्याइएको छ। भट्टराईलाई त पुल शाखाको प्रमुख नै बनाइएको छ। स्थानीय विकास सचिव शीतलबाबु रेग्मीले केही महिनाअघि ललितपुरमा आरआरआरएसडीपी प्रोजेक्टको विकास निर्माणको अनुगमन गर्दा प्राविधिक स्टिमेटअनुसार काम नभएको फेला पारेपछि कारबाही गर्न निर्देशन दिएका सीडीई भट्टराईलाई महानिर्देशक बस्नेतले पुरस्कृत गरी विभागमा अर्बौं बजेट भएको पुल शाखाको प्रमुख बनाइसकेका छन्। भक्तपुर जिल्ला प्राविधिक कार्यालयमा तीन वर्ष, त्यसपछि ललितपुरमा पाँच वर्ष डीटीओ प्रमुख डीटीओ प्रमुख रहेका भट्टराई जुनियर भए पनि प्रोजेक्ट प्रमुख हुन पाएका छन्।
सरूवामा २५ करोड रूपैयाँ बजेट भएका जिल्लाका लागि ५ लाख ५० करोडसम्मलाई १० लाख ५० करोड रूपैयाँ भन्दा माथि बजेट भएका जिल्लाका लागि १५ लाख रूपैयाँसम्म दररेट तोकेर अग्रिम घूस महानिर्देशक बस्नेतले उठाएका थिए। उनले यो घूस मन्त्रीसम्मलाई पुर्‍याएर विभागमा सचिवलाई समेत अवज्ञा गर्दै आएका छन्।
प्रधानमन्त्री कार्यालयले वरिष्ठलाई उपयुक्त जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयबाट दिइएको निर्देशन पनि रद्दीको टोकरीमा फालेर महानिर्देशक बस्नेतले सरूवा गरेका छन्। स्थानीय विकास मन्त्रीले नै कनिष्टलाई अर्बाैं रूपैयाँको प्रोजेक्ट प्रमुख बनाउँदा पनि वरिष्ठहरूलाई न्याय दिन सकेनन्। उल्टै उनले विभेदपूर्ण सरूवालाई वैधता दिने काम गरेका छन्। महानिर्देशक बस्नेतले उनको दृश्य अदृश्य लगानीका कन्सलटेन्सी, तालिम केन्द्र र कन्स्ट्रक्सन कम्पनीलाई काम दिन जिल्ला जिल्लाका प्राविधिक कार्यालय प्रमुखलाई निर्देशन दिने गरेका छन्। उनले भनेअनुसारका कम्पनीलाई काम नदिने जिल्ला प्राविधिक प्रमुखलाई दुर्गम सरूवा गर्ने धम्की दिँदै अनियमितता गर्न बाध्य पारेका छन्। तर यस्ता महानिर्देशकलाई परिवर्तनकारी शक्ति एमाओवादीको नेतृत्वको सरकारका स्थानीय विकास मन्त्रीले संरक्षण गर्दै भ्रष्टाचारमा हिस्सेदारी गरेका छन्। स्थानीय विकास मन्त्रालयमा एमाओवादीको शुभेच्छुक वरिष्ठ सीडीई र अरू कर्मचारीहरूको अपमान गरी यस्ता पूर्वमण्डले हुँदै कांग्रेसका मतियारलाई स्थानीय विकास मन्त्रीले संरक्षण गर्दै भ्रष्टाचारमा साथ दिएका छन्।
महानिर्देशक बस्नेत र आरएआईडीपीका प्रोजेक्ट म्यानेजर अशोक झाले केही महिनाअघि आरएआईडीपीको कन्सलटेन्सी छनोटमा कम दरमा टेन्डर हाल्ने कम्पनीलाई ठेक्का नदिई दुई करोड ५० लाख रूपैयाँ बढी हाल्ने इआरएमसीरसिल्टलाई दिएर १ करोड १५ लाख रूपैयाँ कमिसन खाएका छन्। वर्ल्ड बैंकको सहयोग रहेको आरएआईडीपीको करिब ५ करोड रूपैयाँको ठेक्कामा मल्टिइन्जिनियरिङको कम दरमा टेन्डर परेकोमा कमिसन नपाउने भएपछि महानिर्देशक बस्नेतले सर्त राखेको भन्दै दोस्रो बरियताको ईआरएमसीर/सिल्टलाई दिलाएका थिए। मल्टी २ करोड ५० लाख रूपैयाँ कम दरमा हालेको टेन्डर स्वीकृत नगरेपछि यो प्रकार सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेको थियो।
महानिर्देशक बस्नेतले आरआईडीपी, ड्रिलिप प्रोजेक्टको प्रमुखहुँदै आरआरआरएसडीपीको प्रमुख र महानिर्देशक भएपछि विकास निर्माणको बजेटमा भ्रस्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेका छन्। सोलखुम्बु घर भएका उनको चितवनमा बीसौं बिघा जमिन, काठमाडौंको डिल्लीबजारमा घर र अन्यत्र घडेरीलगायतको अकुत सम्पत्ति रहेको छानबिन हुनुपर्छ। र, अकुत सम्पत्ति आर्जनमा मुद्दा चलाइनुपर्छ। महानिर्देशक बस्नेतले विकास निर्माणका लागि आएको ऋण सहयोग र अनुदान सहयोग अनि सरकारको बजेटमा भ्रष्टाचार गरेको सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गर्दछु। विभागमा भएका अनियमितताबारे पत्रपत्रिकामा प्रकाशित समाचारहरूको कटिङसमेत यसै उजुरीमा नत्थी गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको