बस व्यवसायी समितिबीच बिवाद हुँदा तोडफोड

२२ जेष्ठ २०७१, बिहीबार १३:१० मा प्रकाशित

धनगढी, २२ जेठ । बस सेवा सञ्चालनको विषयलाई लिएर कैलालीमा दुई बस व्यवसायी समितिबीच उत्पन्न विवादले उग्र रुप लिएपछि दुवै पक्ष एकार्काका बस तोडफोडमा उत्रिएका छन् ।
गन्तव्यतर्फ गइरहेका र बसबिसौनीमा रोकिराखिएका बसमा भइरहेको तोडफोडको घटनाले यात्रुले सास्ती झेल्नुपरेको छ । सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका सम्बन्धमा तीन हप्तादेखि विवाद छ ।
कर्णाली रिभरले फूलबारी (कैलाली)–काठमाडौँ रुटमा वाइफाई र इन्टरनेट सुविधासहितका बस सञ्चालनको तयारी गरेपछि सुदूरपश्चिमले गरेको विरोधसँगै दुई समितिबीचको विवादले उग्र रुप लिएको हो ।
जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार बुधबार साँझदेखि आज बिहानसम्म दुवै बस समितिका गरी झन्डै एक दर्जन बसमा तोडफोड भएको छ ।
आज बिहान गन्तव्यतर्फ गइरहेको कर्णाली रिभरको ना ४ ख ६६५८ नम्बरको बसमा सुदूरपश्चिम यातायात व्यवसायी पक्षधरले पूर्वपश्चिम राजमार्गको लम्की–चिसापानी सडकखण्डमा तोडफोड गरेको कर्णाली रिभरसाइड यातायातले जनाएको छ ।
घटनापछि तोडफोड भएको बस सडकमा तेस्र्याइएपछि लम्की–चिसापानी राजमार्ग सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति धनगढीस्थित बसबिसौनीमा रोकिइराखिएको दुई वटै बस समितिका बससमेत तोडफोड गरिएको छ ।
घटना नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि हातपात गर्ने धनगढीका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक विष्ट र प्रहरी जवान प्रकाश सिंह सामान्य घाइते भएका छन् ।
दुवै समितिबीचको विवाद समाधान गर्न केही दिनअघि बसेको बैठकले एक खालको सहमति गरेको भए पनि सहमतिको पालना नगरेको आरोप सुदूरपश्चिम यातायात व्यवसायी समितिले लगाएको छ ।
यद्यपि कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिले प्रचलित कानुनबमोजिम आफ्ना बस सञ्चालनमा सुदूर पश्चिम यातायातले रोक लगाउँदै अहिलेको प्रतिस्पर्धा युगमा एकाधिकार लाद्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति