विद्यार्थी नभएपछि विद्यालय बन्द

२१ जेष्ठ २०७१, बुधबार १४:३४ मा प्रकाशित

बागलुङ, २१ जेठ । विद्यार्थी नै नभएपछि यहाँको एक प्राथमिक विद्यालय बन्द भएको छ । हरिचौर गाविस–९ सेतीबेसीमा रहेको देउराली प्राथमिक विद्यालय मङ्गलबारदेखि बन्द भएको हो ।
नयाँ शैक्षिकसत्र विसं २०७१ मा भर्ना भएका सात विद्यार्थी छिमेकी विद्यालयमा गएपछि विद्यालय बन्द भएकोे प्रधानाध्यापक विन्दु शर्माले बताए । अत्यन्त न्यून सङ्ख्यामा रहेका विद्यार्थीहरूमध्ये केही पार्वती माध्यमिक विद्यालय र बाँकी निजी विद्यालयमा गएको शर्माले जानकारी दिए ।
चालु शैक्षिकसत्रमा विद्यालयमा कक्षा १, ४ र ५ मात्र सञ्चालनमा रहेको थियो । कक्षा १ मा तीन, कक्षा ४ मा दुई र कक्षा ५ मा दुईजना मात्र विद्यार्थी थिए । २०४० मा स्थापना भएको विद्यालयमा अघिल्लो शैक्षिकसत्रमा जम्मा १२ जना विद्यार्थीले अध्ययन गरेका थिए ।
विद्यार्थी सङ्ख्या कम भएपछि गत शैक्षिकसत्रमा विद्यालयको एक राहत दरबन्दी समायोजन गरी पृथ्वी उच्च माध्यामिक विद्यालय हरिचौरमा लगिएको थियो ।
विद्यालय बन्द भएपछि अब विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिने जिल्ला शिक्षा कार्यालय जनाएको छ । ‘विद्यार्थी नै नभएपछि विद्यालय बन्द हुन पुगेको हो’, जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले भने, ‘अब उक्त विद्यालयको भौतिक संरचना र जनशक्ति नजिकको अर्को विद्यालयमा समायोजन हुन्छ ।’
पछिल्लो समय निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढेपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जान थालेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र वातावरणमा बेला–बेलामा प्रश्न उठ्ने गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयहरूले प्रेरित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
सदरमुकाम र बजारोन्मुख क्षेत्रका सामुदायिक विद्यालयले गुणस्तर र सेवासुविधा वृद्धि गरे पनि ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूको समस्या भने ज्यूँका–त्यूँ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग