‘हिन्दुत्वबारे हाम्रो अडान यथावत्’: विजय जोली

८ जेष्ठ २०७१, बिहीबार २३:०५ मा प्रकाशित

भारतीय जनता पार्टीले १६औँ लोकसभाको निर्वाचन पूर्ण बहुमत ल्याइसकेपछि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केही दिनभित्रमै गठन हुँदै छ। यस विषयलाई लिएर नेपालमा विभिन्न आशङ्का, अनुमान र बहस सुरु भएको छ। भारतले नेपालमा कस्तो नीति अङ्गीकार गर्ला? हिन्दुत्व र राजसंस्थाबारे उसको दृष्टिकोण के हुनसक्छ, मोदीको नेपाल नीति कस्तो होला, ऋषि धमलाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीसँग गरेको कुराकानीको मुख्य–मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ:
० भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण नेपालबाट हुनसक्ला?
– नेपालका प्रधानमन्त्री सुशील कोइरालाको भावी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको छ। नेपालका प्रधानमन्त्रीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ। पशुपतिनाथको दर्शन गरेर आशीर्वाद लिन पनि आग्रह गर्नुभएको छ। यो भारत र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउन महत्त्वपूर्ण घटनाक्रम हो। नेपाल र भारतका जनताको हितलाई ध्यानमा राख्दै म यसलाई ऐतिहासिक घटनाक्रम मान्छु। भारतीय जनता पार्टी र नरेन्द्र मोदीको मनमा नेपाल र नेपाली, राजनेताप्रति अधिक प्रेम छ। मोदी आफूलाई नेपालको सबैभन्दा नजिक मान्नुहुन्छ। नेपालमा पशुपतिनाथ छ, हिन्दू भएको नाताले व्यक्ति नतमस्तक भएर त्यहाँ आशीर्वाद लिन्छ, विकास र जनताको भलाइका लागि। त्यो केवल नेपालमा मात्र छ। मलाई लाग्छ– अहिले मोदी सरकार बनाउने प्रक्रियामा लाग्नुभएको छ। सरकार बनाएपछि, उहाँले नेपाल भ्रमणको विषयमा पनि सोचविचार गर्नुहुन्छ। उहाँ नेपाल आउने कार्यतालिका पनि तय भएको छ र नेपालमा पनि उहाँलाई भव्य स्वागत हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ। किनकि नेपालमा पनि जनता, राजनेता, प्रशासक, समाजिक कार्यकर्ता सबैको चाहना यही छ– नरेन्द्र मोदी नेपाल आऊन् र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाऊन्।
० उसो भए उहाँको पहिलो विदेश भ्रमण नेपाल हुनसक्छ होइन त?
– हाम्रो धारण छ कि छिमेकी मुलुकसँग मित्रवत् सम्बन्ध अझै प्रगाढ होस्। नेपालसँग मिलेर अनेक युद्ध लडेर भारतले आफ्नो रक्षा गरेको इतिहास छ। हामी पाकिस्तानसँग पनि मित्रवत् व्यवहार राख्न चाहन्छाँै। नरेन्द्र मोदीको नेतृत्वमा भारत हाम्रा छिमेकी चीन, बंगलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स सबैसँगै नेपालसँग पनि नजिकको मित्रवत् सम्बन्ध बनाउन चाहन्छ। म भारतीय जनता पार्टीको विदेश विभाग प्रमुखको नाताले एउटा कुरा स्पष्ट पार्न चाहन्छु– हामी राष्ट्रवादी छौँ, हिन्दू हौँ, यसको अतिरिक्त हामी सबै धर्मलाई सम्मान गर्छौं। हामी सबैसँग मिलेर सुदृढ सम्बन्ध बनाउँदै सबैको विकासमा साझेदार भएर अघि बढ्छौँ। नेपाल हिन्दूबाहुल्य राष्ट्र हो। हिन्दू कसैको विरुद्ध लड्दैन। हिन्दू आफ्नो रक्षा गर्दै अरूको पनि रक्षा गर्छ।
० नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाल र भारतबीचको सम्बन्ध कस्तो होला?
– अहिले युवापिँढीमा नेपाल र भारतबीचको सम्बन्ध सुदृढ होस् भन्ने भावना छ। हामीले एक–अर्काको सहयोग यातायात, उद्योग, इन्फ्रास्ट्रक्चर विकास, शिक्षा, सैन्य सहायताको क्षेत्रमा, आतङ्कवादी गतिविधिलाई परास्त गर्ने क्षेत्रमा सहयोग र समन्वय गर्नुपर्छ। दुवै देश विकास चाहन्छन्। यसमा मिलेर अघि बढ्नुपर्छ।
० नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनिसकेपछि आन्तरिक रूपमा नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहने हो कि?
– भारतीय जनता पार्टीले सधैँ यो मानेको छ कि नेपालमा जे हुन्छ त्यो नेपालको जनता र राजनेताले तय गर्नुपर्छ। भारतले एक छिमेकी भएको नाताले नेपालको आन्दोलनमा हस्तक्षेप गर्न हुँदैन। भारतीय जनता पार्टीको सधैँ एउटा धारणा रहेको छ कि नेपाल र नेपाली हाम्रै भाइ र बहिनी हुन्। भाइ र बहिनीबीच जसरी माया, प्रेम, समझदारी र एक–अर्कालाई बलियो बनाउने कुरा गरिन्छ। त्यस्तै व्यवहार हामी पनि गर्छौं। नेपाल र भारत दुवै बलियो हुनुपर्छ भन्ने सोच्छौँ हामी। हामी सधैँ भारत र नेपालबीचको सम्बन्धलाई अझै सुदृढ बढाउनुपर्छ भन्ने पक्षमा छौ। नेपालमा रहेर भारतविरोधी गतिविधि गर्नेहरूलाई पनि दुवै देश मिलेर परास्त गर्नुपर्छ। नरेन्द्र मोदीको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने र आर्थिक रूपमा सम्पन्न नेपाल बनाउने नीति अङ्गीकार गर्नेछ।
० नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर केही समयअघि भाजपाका राष्ट्रिय अध्यक्ष राजनाथ सिंहले नेपालमै आएर दिनुभएको अभिव्यक्तिमा तपाईंहरू अझै पनि अडिग हुनुहुन्छ?
– नेपाल हिन्दूराष्ट्र हुन्छ कि हुँदैन भन्ने कुरा स्वयम् नेपाली जनताले निर्णय गर्ने विषय हो। नेपाल हिन्दू बाहुल्य हुँदाहुँदै माओवादीका कारण जसरी नेपाल धर्मनिरपेक्ष राष्ट्र भयो त्यस विषयमा रिपोर्टर्स क्लब नेपालकै साक्षात्कार कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले चासो व्यक्त गर्नुभएको थियो। हिन्दू राष्ट्रवादी भएको नाताले उहाँको चासो र चिन्ता स्वाभाविक थियो। तर, उहाँले नेपालको निर्णय नेपाली जनताले लिनुपर्छ र नेपालको आन्तरिक मामिलामा हामी हस्तक्षेप गर्दैनौँ भनेर स्पष्ट पार्नुभएको थियो। नेपालमा बहुसङ्ख्यक हिन्दू हुँदाहुँदै जनआन्दोलनको नाममा जसरी धर्मनिरपेक्ष राष्ट्र बनाइयो एउटा हिन्दू भएको नाताले हाम्रो चिन्ता र चासो कायम छ। नेपाल हिन्दू राष्ट्र भएको नाताले यहाँको प्रति प्रेम, श्रद्धा र सम्मान रहेको तथ्यलाई भुल्नुहुँदैन।
० भाजपा नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउन सक्रिय भएर लाग्छ त?
– भारतीय जनता पार्टी दबाबको राजनीतिमा विश्वास गर्दैन। नेपाल कुन बाटोमा चल्ने हो त्यो स्वयम् नेपाली जनताले तय गर्नुपर्छ। तर, एउटा हिन्दू भएको नाताले म एउटा कुरा भन्न सक्छु, मलाई हिन्दू भएकोमा गर्व छ। ९० प्रतिशतभन्दा बढी नेपाली जनतालाई हिन्दू भएकोमा गर्व छ। र, भाइबहिनी हुनुको नाताले उनीहरूको भावनालाई म समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तर, नेपाली जनताले जुन किसिमको व्यवस्था चुनेका छन्, जुन नीति चाहन्छन् त्यो उनीहरूकै कुरा हो। हामी दबाबमा कसैलाई पनि काम गर्न विवश गर्दैनौँ।
० नेपालमा राजतन्त्रका सहयोगीहरूलाई र हिन्दूवादीहरूलाई भारतीय सहयोग अब कस्तो हुन्छ?
– भारत र नेपालले एक–अर्काबाट धेरै कुरा बुझ्नुपर्छ। दुई देश एक–अर्काको अरू नजिक आउनुपर्छ। नेपाल र भारतमा जस्तो बहुलोकतान्त्रिक पद्धति छ। जनताको म्यान्डेटलाई आत्मसात् गर्दै लोकतान्त्रिक राज्य–व्यवस्थालाई दुवै देश सुदृढ गर्नतर्फ लाग्नुपर्छ। संसदीय प्रजातन्त्रलाई सुदृढ गर्दै हतियारको राजनीतिलाई अन्त्य गर्नुपर्छ र विकासको बाटोमा अघि बढ्नुपर्छ।
० मनमोहन सिंहको विदेश नीतिमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि नेपाल नीतिमा परिवर्तन आउँछ कि आउँदैन?
– यूपीए सरकारको दशवर्षे कार्यकालमा नेपालको प्रति भारतको दृष्टिकोण सशक्त रहन सकेन। एक छिमेकी देश भएको नाताले नेपाल र भारतबीचको सम्बन्धलाई जसरी अघि बढाउनुपर्दथ्यो त्यसरी अघि बढ्न सकेन। नेपालमा जनआन्दोलनको बेला पनि जुन किसिमको परिस्थिति बन्यो त्यसमा काङ्ग्रेेसका नेता करण सिंहले जुन भूमिका निर्वाह गर्नुभयो त्यो सबैको चासोको विषय बन्यो। त्यसैले आजको परिस्थितिमा नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार एउटा भाइ भएको नाताले खुला हृदयले नेपालको जनताको हितमा काम गर्छ। त्यसको पक्षमा छ। दुवै देशमा यो सम्बन्धले विकासको आँधी चलोस् भन्ने हामी चाहन्छौँ। नेपालको राजनीतिमा भने हाम्रो हस्तक्षेप हुँदैन।
० नेपालमा नयाँ संविधान निर्माणमा भारतीय सहयोग कस्तो रहन्छ?
– हामीसँग नेपालका राजनीतिक दलका नेताहरूले नेपाली जनतासमक्ष सशक्त संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोहीअनुसार निर्माण हुनुपर्छ। हामी यो अनुरोध र अपेक्षाको साथ नेपाललाई हेछर्ौं कि सहमतिको आधारमा बहुदलीय प्रजातन्त्रलाई सुदृढ गर्ने गरी संविधान निर्माण होस्।
० नेपालका प्रधानमन्त्री सुशील कोइरालाप्रति तपाईंहरूको भनाइ के छ?
– नेपालका प्रधानमन्त्री सुशील कोइराला एकदमै परिपक्व, बुद्धिजीवी, जनतामा लोकप्रिय, मिहिनेत गर्ने, सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन सक्ने राजनेता हुनुहुन्छ। उहाँलाई हामी के सल्लाह दिनु? तर, यो अपेक्षा राख्छौँ– गठबन्धनको सरकार आपसी भाइचारा, सम्झौता र सहमतिले चल्छ। विवादित विषयलाई बसेर सुल्झाउनुपर्छ। काङ्ग्रेसले नेतृत्व गरेकोले उहाँहरूले सबै दलसँग सहमति गरेर साथ लिएर शान्तपूर्ण सौहार्द वातावरणमा नेपालको चुनौतीलाई पार गरेर नेपाली जनताको हितमा काम गर्नुहुन्छ। भारत सरकार र भारतीय जनता पार्टीको लोकतान्त्रिक मूल्यलाई प्रवर्द्धनका लागि सधैँ समर्थन र सहयोग रहन्छ।
० के नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि नेपालमा हिन्दू सर्किट बनाउने योजनामा लाग्नुहुन्छ?
– नरेन्द्र हिन्दू, राजनाथ सिंह हिन्दू, लालकृष्ण आडवाणी हिन्दू, ऋषि धमला पनि हिन्दू नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि हिन्दू। हिन्दूवादी हुनुको मतलब सबैसँग प्रेम र सद्भावनाका साथ अघि बढ्नु हो। सबै धर्मलाई साथ लिएर हिँड्नुपर्छ। भाजपाले पनि मुसलमानलाई साथ लिएर हिँडेको छ। नेपालमा हिन्दूधर्मको विषयमा जसरी निर्णय लिइयो त्यसलाई हामी लोकतान्त्रिक पद्धतिबाट भएको निर्णय मान्दैनौँ। त्यसलाई जनताले अनुमोदन गरेको हामी ठान्दैनौँ।
० तर, संसद्ले अनुमोदन गरिसक्यो नि, यसलाई नमान्नु भनेको त भाजपाको नेपालको राजनीतिमा आन्तरिक हस्तेक्षप भएन र?
– मैले तपार्इंलाई धेरैपटक भनेको छु– हामी नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप गर्न चाहँदैनौँ, तर नेपालमा हिन्दूधर्म हुनुपर्छ भन्ने हाम्रो अडान कायमै छ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व