जेठ १४ मा संविधान जारी नभए कांग्रेस सरकारमा बस्दैन: गगन थापा

२८ बैशाख २०६९, बिहीबार १८:४१ मा प्रकाशित

काठमाडौं, २८ वैशाख । कांग्रेस युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी नभए कांग्रेस सरकारमा नबस्ने बताएका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘कांग्रेस सरकारमा आइहाल्यो । अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपेर सहमतिको नाजायज फाइदा उठाउने हो भने कांग्रेस सरकारमा बस्दैन ।’
कार्यक्रममा थापाले प्रमुख चार दलका शीर्ष नेतालाई ठेकेदारको संज्ञा दिँदै चार वर्षसम्म संविधानसभाको बैठक बस्नै नदिएर सभासदहरुलाई भूमिकाविहीन पारेको समेत आरोप लगाए ।
‘उनीहरुले १९ दिनको समय बाँकी छँदा संविधान बनाउने जिम्मा ६०१ सभासदको थाप्लोमा हालिदिएका छन्, त्यो आपत्तिजनक छ,’ उनले भने– उनीहरुले अब ठेकदारी गर्दैनौं भन्ने हो भने हामी अझै पनि संविधान बनाउन सक्षम छौं ।
नेता थापाले कसैले चाहेर पनि जातीय आधारमा प्रदेश बन्न नसक्ने र त्यस्तो प्रदेश बने पनि टिक्न नसक्ने दाबी गरे । कांग्रेसले संघीयतामा सहमतिका लागि १८ प्रदेशको प्रस्तावमा छलफल चलाइरहेको पनि उनले बताए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका युवा नेता एवं सभासद रवीन्द्र अधिकारीले जातीय आधारमा संघीयता घोषणा गर्दा मुलुक विखण्डनमा जाने दाबी गरे । ‘अब संघीयतालाई अस्वीकार गरेर कहीँ पनि पुगिँदैन,’ उनले भने– तर, एकल जातीय पहिचान भएको संघीयता दुई दिन पनि टिक्न सक्दैन । त्यसले अनावश्यक द्वन्द्व निम्त्याउँछ ।
प्रदेश विभाजनको खिचातानी रहिरहने हो भने संविधान नबन्ने उनले ठोकुवा गरे । ‘अब एकल जातिको प्रदेश सम्भव छैन’ उनले भने– एमाले बहुपहिचान भएको ११ प्रदेशको खाकामा छलफल चलाउन तयार छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका युवा नेता एवं सभासद हितमान शाक्यले जातीय आधारमा राज्य पुनर्संरचना भए मुलुकमा जातीय द्वन्द्व निम्तिने बताए ।
राज्य पुनर्संरचना आयोगले दिएको १० प्रदेश र संविधानसभाको समितिले दिएको १४ प्रदेशका बीचमा समाधान खोज्न सकिने उनको भनाइ थियो ।
‘नेपालभन्दा सानो स्विजरल्यान्डमा २७, २८ वटा संघीय इकाइ छन्, नेपालमा धेरै हुँदैमा चल्न नसक्ने होइन,’ उनले भने–१२ प्रदेशसम्ममा समझदारी खोज्न सकिन्छ ।
कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एवं सभासद जितेन्द्र सोनलले संघीयतामा बखेडा झिकेर संविधान नबनाउने खेल भइरहेको आरोप लगाए । मधेसी मोर्चा, अन्य मधेसवादी दल र जनजातिको ककस एकल जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने पक्षमा भएको पनि उनले बताए ।
‘जेठ १४ मा संविधान नआउनुको विकल्प छैन,’ उनले भने– संघीयता सहितको संविधान दुई घन्टा पनि टिक्दैन । १० भन्दा कम प्रदेश स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई