एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालको लगातार दोस्रो जित

१९ बैशाख २०७१, शुक्रबार १६:३६ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । मलेसियामा जारी एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । सिम बलर सोमपाल कामीको उत्कृष्ट पाँच विकेट र कमब्याक अलराउन्डर महबुब आलमको विस्फोटक ५३ रन सहयोगमा आज (शुक्रबार) नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले जितका लागि आवश्यक १५० रन ७५ बलको खेल बाँकी छँदै लक्ष्य हासिल गरेको हो । क्वालालम्पुरस्थित बायेमास ओभल क्रिकेट मैदानमा भएको प्रतियोगिताको पाँचौं र आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई खेलका सबै पक्षमा भरपर्दो किसिमले पराजित गरेको हो ।
बिहीबार युएईविरुद्ध चार विकेटले जित हासिल गर्दाका नायकद्वय विकेटकिपर–ब्याट्सम्यान सुवास खकुरेल र हार्ड हिटर उपकप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भए पनि र नरेश बुढाऐर र कप्तान पारस खड्काको ब्याट नचले पनि महबुब आलम र शरद भेषवाकरले नेपाली जितको झण्डा गाड्न उल्लेखनीय योगदान पु¥याए ।
नेपालको सुरुआत अत्यन्तै खराब थियो । टिमले खाता पनि नखोल्दै खकुरेल तेस्रो बलमा ० रनमै आउट भए । पाँचौं ओभरमा ज्ञानेन्द्र १३ रनको निजीस्कोरमा पेभेलियन फर्किए । टिमस्कोर ३६ पुग्दा अर्का ओपनर नरेश बुढाऐर २९ बलमा ८ रन र कप्तान पारस खड्का १८ बलमा ११ रन बनाएर आउट भइसकेका थिए । यस्तो नाजुक स्थितिमा महबुब आलम शरद भेषवाकरलाई साथ दिन मैदान प्रवेश गरेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया नेपाली बलिङसामु कुनै पनि बेला जमेर खेल्न सकेन । उसले राम्रो सुरुआत गर्न सकेको थिएन । सातौं ओभरमा २८ रन बनाउँदा मलेसियाका तीन विकेट ढलिसकेका थिए र ती सबै विकेट सोमपालले नै लिएका थिए । पछि पनि मलेसियाली इनिङलाई सस्तैमा समेट्न ओपनिङ बलर सोमपालले पाँच विकेट लिएका थिए ।
नेपालका सोमपाल कामी म्यान अफ द म्याच भए । मलेसियाविरुद्ध पाँच र युएईविरुद्ध तीनसमेत गरी उनले अहिलेसम्म दुई म्याचमा आठ विकेट लिइसकेका छन् । नेपालले अब आफ्नो अर्को म्याच आइतबार ओमानविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०