बेलायत छाडेर गाईपालनमा

१८ बैशाख २०७१, बिहीबार ०९:०७ मा प्रकाशित

चितवन, १८ वैशाख । बेलायतको राजधानी लन्डनमा ११ वर्ष बिताएका चितवन, भण्डारा–९ डडुवा गाउँका प्रदिपराज पाण्डेले गाईपालनमा हात हालेका छन्। तीन वर्षअघि गाउँ आएका उनले जर्मनी र दुबईमा कार्यरत थप दुईजना आफन्तलाई पनि सामेल गराएर गाउँमै गाई फार्म स्थापना गरेका हुन्।

‘सञ्चारमाध्यमहरुले नेपालमा दुग्ध व्यवसाय फष्टाएको खबर दिन थालेपछि नेपालमा नै केही गरौं भनेर यो काममा हात हालेको हुँ,’ पाण्डेले भने। नातामा ज्वाइँ पर्ने जर्मनीमा कार्यरत रविन्द्र ढकाल र रविन्द्रका भाइ दुबईमा कार्यरत सञ्जयलाई पनि सामेल गरेर तीनजनाले २०६९ चैत्रमा डडुवामा गाई फार्म खोलेका हुन्।

प्रदिपले लन्डनमा डिपार्टमेन्टल स्टोरमा काम गर्थे। त्यहाँ दुग्ध पदार्थ पनि राम्रै बिक्री हुन्थ्यो। नेपालमा पनि दुग्ध व्यवसायको विकास हुन थालेको सुनेपछि उनी नेपाल आएर डिपार्टमेन्टल स्टोर र गाई फार्म दुवै खोलेका हुन्। उनको भरतपुर र पूर्वी चितवनको पर्सामा आस्था डिपार्टमेन्टल स्टोर्स छ।

गाई फार्मको नाम पनि उनले आस्था नै राखेका छन्। गाई फार्म खोल्न तीनजनाले गरेर ३५ लाख रुपैयाँ लगानी गरेका हुन्। फार्ममा दूध दिने ११, ब्याउने बेला भएका तीन, बाच्छी १० र एउटा भैंसी छ। दैनिक ८० लिटर दूध उत्पादन हुन्छ। उनले दुई बिघा जमिनमा घाँसखेती गरेका छन्।

लन्डन बस्दा सुनेजस्तो सुखद अवस्था नेपाल आएर व्यवसाय सुरु गर्दा भोग्न नपाएको उनको गुनासो छ। ‘बेलायत हुँदा सुने जस्तो राम्रो अवस्था भने रहेनछ भन्ने प्रस्ट भयो। गोठ बनाउन प्राविधिक सल्लाह दिने मान्छेसमेत मैले भेटिन,’ पाण्डेले भने, ‘उपचार गराउने पशु स्वास्थ्यकर्मी नपाएर १० लिटर दूध दिने गाई र तीनवटा बाच्छी मरे।’

चार गाईबाट सुरु भएको उनका फार्ममा ३५ वटासम्म पुगेका थिए। तर धेरै कुरा मेसो नपाएकाले संख्या घटाएको उनले बताए। उनको फार्ममा ६० वटा गाई अटछन्। विस्तारै सय गाई पाल्ने उनको योजना छ। तर प्राविधिक जानकारी पाउन नसकेकाले गाई थप्न नसकेको उनले बताए।

दूधको मूल्य नपाउँदा उनी निराश पनि भएका थिए। कुनै बेला लिटरको ३८ रुपैयाँमा बेचेको दूधको मूल्य बढ्नुको साटो घटेर ३२ रुपैयाँसम्म भएको उनले बताए। गाई संख्या बढाएर विस्तारै आफैंले डेरी खोल्ने र सो डेरीको दूध डिमार्टमेन्टल स्टोर्समा बेच्ने पाण्डेको योजना छ।

‘मैले सरकारी निकाय जिल्ला पशुसेवा कार्यालयबाट उचित परामर्श र सहयोग पाउनै सकिन। धेरै धाएपछि घाँसको तीन किलो बीउ दिएको थियो। लाखौं खर्च गरेको फार्मलाई यसरी बेवास्ता गरेर हुन्छ,’ पाण्डेले भने। विदेशबाट फर्केर र विदेश जान छाडेर सयौं युवा देशमै स्वरोजगार हुन थालेका बेला सरकारी निकाय पनि सहयोगी हुनुपर्ने उनी बताउँछन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार