काठमाडौंमै अझै छन् कमलरी

१५ बैशाख २०७१, सोमबार ०६:४५ मा प्रकाशित

काठमाडौं, १५ वैशाख । सरकारले मुक्त घोषणा गरे पनि राजधानीमै कमलरी हरू रहेको पाइएको छ । एक अध्ययनअनुसार काठमाडौंका विभिन्न परिवारमा अहिले पनि १ सय ४० बालिका कमलरी बसेका छन् । तिनमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङका मात्रै ७३ जना छन् । अधिकांश १७ वर्षमुनिका बालिका छन् । सरकारले ०७० असार १३ मा कमलरी मुक्तिको घोषणा गरेको थियो ।

गत वर्ष घरेलु कामदारका रूपमा बसेकी दाङ लालमटियाकी १३ वर्षीया सिर्जना चौधरीको ललितपुरको चाकुपाटस्थित युवराज पौडेलको घरमा मृत्यु भएको थियो । उक्त घटनापछि सत्यतथ्य छानबिन र प्रथा उन्मूलन माग गर्दै कमलरी हरूले सिंहदरबार अघि आन्दोलन गरेका थिए । त्यसपछि कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबीच दस बुँदे सम्झौता भएको थियो ।

सम्झौतामा चौधरीको मृत्युको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने, आन्दोलनका क्रममा प्रहरीको कुटाइले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, त्यसअघि मृत्यु भएकी अर्की बालिका मेघी चौधरीको परिवारलाई राहत दिनेलगायत सम्झौता गरिएको थियो ।

त्यतिबेला घाइते भएकाले सहमतिअनुसार अझै उपचार खर्च नपाएको गुनासो गरे । ‘म प्रहरीको कुटाइबाट ४९ घन्टासम्म बेहोस र घाइते भएकी थिएँ, हालसम्म पनि शारीरिक रूपमा तन्दुरुस्त भइसकेकी छैन,’ दाङबाट काठमाडौं आइपुगेकी उर्मिला चौधरीले भनिन्, ‘अझै सरकारले दिने भनेको उपचार खर्च पाएकी छैन ।’

सम्झौतापत्रमा अर्काको घरमा काम गरिरहेकै अवस्थामा बेपत्ता भएका २७ बालिका र मृत्यु भएका पाँच जनाको घटनाबारे छानबिन गर्न समिति गठन गर्ने भनिए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनीहरूको गुनासो छ ।

कमलरी अधिकारकर्मी फकला थारू चाकुपाटस्थित चौधरीको घटना छानबिन गर्न समिति बने पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

बजेटअनुसार कमलरी छात्रवृति बृद्धि गर्न शिक्षा निर्देशिका ०६८ लाई परिमार्जन गर्ने भनिए पनि हालसम्म भएको छैन । मुक्त कमलरी लाई परिचयपत्र वितरण नगरिएको, कुमारी आमाबाट जन्मिएका सन्तानको पहिचान र अंशको अधिकार सुनिश्चित गर्ने प्रक्रिया अघि नबढाएको गुनासो उनीहरूको छ ।

सहमतिअनुसार सरकारले सिर्जनाको परिवारलाई पाँच लाख र मेघीको परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको मुक्त कमलरी विकास मञ्चले जनाएको छ । सम्झौता कार्यान्वयन गराउन माग गर्दै दाङबाट आएका कमलरी को टोलीले महिला, गृह र शिक्षा मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ । काठमाडौंमै कमलरी बस्न बाध्य पारिएका बालिकालाई आगामी साताभित्रै उद्धार गरिने मञ्चले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न