जेथा बेचेर आए, व्यथा बोकेर फर्किए

१४ बैशाख २०७१, आईतवार ०५:४९ मा प्रकाशित

क्वालालम्पुर, १४ वैशाख । करिब चार वर्षअघि मलेसिया आएका हात्तीखर्क-६ धनकुटाका गणेशहाङ तिगेला काम गरिरहेका बेला अचानक ढले । मलेसियाको एक कम्पनीमा सुरक्षागार्ड काम गर्ने उनी अचेत भएको देखेपछि नजिकै काम गर्ने नेपाली सहकर्मीहरूले ट्याक्सीमा अस्पताल दौडाए । नेपालबाट तन्दुरुस्त आएका २५ बर्षीय गणेशले सोचेजस्तो धन कमाउन त परै जाओस्, उल्टै मस्तिष्कघातका कारण कुँजो ज्यान लिएर स्वदेश फर्किनुपर्‍यो ।

करिब दुई साताअघि फर्किएका गणेशको जस्तै सन् २०१२ मा मलेसिया आउँदा सर्लाहीका जसोदत्त थारूलाई कुनै पनि शारीरिक समस्या थिएन । उनी आएको वर्ष दिनमै प्यारालाइसिसले थलिए र महिनौंको उपचारपछि पनि निको नभएपछि कुँजो शरीर लिएर नेपाल फिरे ।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । मलेसियामा निरोगी (सपाङ्ग) भित्रिएकामध्ये बर्सेनि कतिपय नेपाली विभिन्न खाले अपाङ्गता लिएर घर र्फकेका छन् । सोनमा-४, महोत्तरीका प्रमोद साह सुदीको काम गर्दा मेसिनले दाहिने हात छिनायो । उनी एउटा मात्र हात लिएर घर फर्किए ।

केराबारी(४ मोरङ घर भई तीन वर्षअघि मलेसिया आएका पूर्ण धमलाले मानसिक सन्तुलन नै गुमाएपछि उनलाई आफन्तजनले स्थानीय संघसंस्था र दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काए ।

कारण जेसुकै भए पनि धन कमाउन जेथा बेचेर सकुशल पराइभूमिमा उत्रिएका कैयौं नेपाली रोगरव्यथा बोकेर स्वदेश र्फकनुपर्दा बाँकी जीवन पीडादायी बन्ने गरेको छ । यसरी अंगभंग भएर स्वदेश र्फकने पछिल्ला वर्ष झन्-झन् बढै गएको पाइन्छ । विदेशमा रहँदा घरायसी चिन्ता, आर्थिक उन्नति गर्न नसक्दा बढ्ने उदासीनता, नेपालबाट आउँदा सोचेभन्दा काम र तलबसुविधा फरक पर्नुले पनि मानसिक सन्तुलन बिग्रने गरेको जानकारहरू बताउँछन् ।

नेपाली दूतावासको एक तथ्यांकअनुसार २०१३ मा गम्भीर खाले शारीरिक तथा मानसिक समस्या भएपछि उद्धार गरी ३५ जनालाई घर फर्काइएको थियो । उक्त तथ्यांकले हरेक महिना झन्डै ३ नेपाली अपाङ्ग भएको देखाउँछ ।

दूतावासका एक अधिकारीका अनुसार दुर्घटनामध्ये सडक र मेसिनवाला बढी छन् । त्यस्ता पीडितका लागि कम्पनीले बिमाको पहल नगरिदिँदा त्यसबाट पनि वञ्चित हुने गरेका छन् । मलेसियामा अंगभंग भएकालाई अवस्थाअनुसार करिब ७ लाख रुपैयाँसम्म दुर्घटना बिमा मिल्छ ।

अर्कातिर घाइतेको उपचार खर्च कम्पनीले नबेहोरिदिँदा कतिपय नेपाली अस्पतालमै महिनौंसम्म अलपत्र रहेका उदाहरणसमेत छन् । ‘उसको उपचार खर्च झन्डै ९ हजार रिंगिट (करिब ३ लाख रुपैयाँ) भएको रैछ,’ मस्तिष्क घातले थलिएका गणेशतिर देखाउँदै उनका काका मनकुमारले भने, ‘त्यत्रो पैसा कसरी जुटाउने भन्ने चिन्ता थियो । तर धन्न दूतावासको पहलपछि सबै उपचार खर्च गणेश काम गर्ने कम्पनीले नै बेहोर्‍यो । नत्र निकै साह्रो पथ्र्यो ।’

अस्पतालबाट डिस्चार्ज भएपछि उद्धार गरी दुई साताअघि स्वदेश फर्काइएका गणेशहाङ लिम्बु यतिखेर आफैंले खाना खान, बोल्न र हिँड्डुल गर्न अशक्त छन् भने शरीरको देब्रेपाटो चल्दैन । ‘खाना नाकबाट पाइपको सहाराले खुवाउनुपर्छ । देब्रे हर नै चल्दैन ।’ गणेशलाई लिएर स्वदेश फिर्ने बेला काका मनकुमारले भावुक हुँदै सुनाए, ‘घरमा आमामात्रै हुनुहुन्छ । परिवारमा अरू कोही छैन । अब यसको हेरचाह गरिदिने कोही छैनन् । आर्थिक अवस्था पनि एकदमै नाजुक छ ।’

नेपालीले आ-आफ्ना जिल्ला, गाउँठाउँका नाममा गठन गरेका संघसंस्था एवं जातीय संगठनहरूले आपत् पर्दा सहयोग जुटाउँछन् । प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र राना मगरका अनुसार उक्त संघले हालसम्म झन्डै १० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । त्यसका लागि ‘मगर राहत कोष’ खडा गरिएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र