शरीर होइन मन मिल्नुपर्छ :: अभिनेत्री रेखा थापा

११ बैशाख २०७१, बिहीबार २१:५५ मा प्रकाशित

चलचित्र हिम्मतवालीको छायाङ्कन सकाएर यो चलचित्रलाई पोस्ट प्रोडक्सनमा छिराएपछि अहिले अभिनेत्री रेखा थापा केही फुर्सदमा देखिन्छिन् । तर, यो फुर्सदमा पनि उनी विभिन्न कारण चर्चामा आइरहेकी छिन् । फेरि एकपटक उनी पूर्वपति तथा चलचित्र निर्माता छवि ओझाले दिएको सार्वजनिक अभिव्यक्ति र चलचित्र हिम्मतवालीकै एक पात्र सुदर्शन गौतमका कारण बजारमा छाइरहेकी छिन् ।
० चलचित्रमा मात्र होइन, चलचित्रबाहिर पनि अभिनय गर्न रेखालाई कसैले सक्दैन भन्छन् नि ?
– कुरा त्यस्तो होइन । म मेरो क्षेत्र र पेसालाई माया गर्छु अनि सम्मान । तर, केहीले यसलाई गलत रूपमा व्याख्या गरे ।
० दुवै हात नभएका सुदर्शन गौतमसँग सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक रूपमा नै माया साटेको देखियो नि ?
– म त भन्छु सबैले सबैलाई माया गर्न जान्नुपर्छ । सुदर्शन मेरो चलचित्रको एउटा बलियो पात्र पनि हो । दुवै हात नभएको ऊ उदाहरणीय पुरुष हो । उसबाट सबैले सिक्नुपर्छ । उसलाई साथ अनि हौसला दिनुपर्छ । मैले यिनै कुरा उल्लेख गरेँ, तर यहाँ गलत रूपमा व्याख्या गरियो । मेरो चलचित्र हिम्मतवालीका सबै युनिट र दर्शकलाई माया गर्छु म ।
० जबजब चलचित्र चल्न सुरु हुन्छ तब रेखा विभिन्न तिकडम मच्चाउँछिन् भन्ने कुराचाहिँ के हो नि ?
– मैले सुनियोजित रूपमा नै कुनै तिकडम मच्चाएकी छैन र मच्चाउनु पनि पर्दैन । अब फिल्म चलाउन वा मलाई चर्चामा आउन यस्तो फोहोरी खेल खेल्नुपर्ने आवश्यकता छैन । दुवै हात नभएका सुदर्शन गौतमसँगको फेसबुक कुराकानी कुनै पे्रम वा विवाहका लागि होइन, ऊ मेरो मिल्ने साथी अनि चलचित्रको बलियो पात्र हो । उसलाई नै मैले चलचित्रमा खेलाएकी हुँ ।
० पूर्वपतिका बजारमा आएका नयाँ गुनासाहरू रेखाले बच्चा जन्माउन मानिनन् भन्ने कुरा के हो नि ?
– जिम्मेवारीको महसुस नगर्ने र प्रतिबद्धता नभएको मान्छेसँग जीवन बिताउन गाह्रो हुन्छ । अहिले यस्तो अभिव्यक्ति दिनेको के भर थियो होला । त्यतिबेला सन्तान जन्माएको भए के हुन्थ्यो ? विजोग हुन्थ्यो अहिले मेरो । कसैलाई धर्तीमा ल्याएपछि उसको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।
० अझै निर्माता छवि ओझाका अभिव्यक्तिहरू आइरहेका छन् । कस्तो लाग्छ ?
– बोल्न पाउनुपर्छ । पीडालाई व्यक्त गर्न पाइयो भने मन शान्त हुन्छ ।
० भनेपछि मन त पहिलेदेखि नै मिलेको रहेन छ, होइन त ?
– शरीर होइन मन मिल्न सक्नुपर्छ । अनि मात्र परिवारमा शान्ति र समृद्धि छाउँछ । शरीर मिलेर पाएको शान्ति र आनन्द क्षणिक हो । म त अरूलाई भन्छु नि शरीर होइन मन मिलाउनतिर लाग्नोस् । त्यो नै लामो समयसम्म चल्छ ।
० के अब रेखा विवाह गर्छिन् त ?
– त्यो समयको जिम्मेवारी हो । म यो गर्छु र ऊ गर्छु भनेर हिँड्दिनँ । मैले आजसम्म जे गरेँ अनि जहाँ छु मेरै क्षमता र दक्षता अनि बलबाहुले हो र दर्शकहरूको साथले हो । अरूलाई विवाहले सुख दियो, आनन्द दियो होला अनि जीवन सुखद होला तर विवाहभन्दा डिभोर्सपछि मैले स्वतन्त्रता, आँट, जाँगर र हौसला अनि काम गर्ने हिम्मत पाएकी छु । तर, स्वतन्त्रताको नाममा गलत नभएर सही काम गरेर हिँडेकी छु । कसैको बन्धनमा बस्दा आफ्नो इच्छा र उद्देश्यमा असर पर्दोरहेछ । विवाहले अरूलाई के दियो त्यो मलाई थाहा भएन, तर मलाई विवाहले पीडा, दुःख र बन्धन दिएको थियो । तर, आज त्यो छैन । विवाह ठूलो कुरा होइन जब मन नै मिल्दैन भने । शरीर होइन पहिले मन मिल्नुपर्छ । विवाहको बारेमा यति नै अहिलेलाई ।
० रेखालाई ताक्नेहरू कत्तिको छन् नि अहिले ?
– होलान् धेरै । तर, ताक्दैमा कहाँ पाइन्छ र ? भन्न आँट गर्नेहरू कमै छन् र शरीर ताक्नेहरू धेरै छन् मन खोज्नेहरू पाइएको छैन । पाइयो भन्दैमा सुटुक्क अर्काको मनमा छिरिहाल्ने पनि परिनँ नि म ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार