सभासदकै विद्यालय हाताबाट पुस्तक बिक्री

९ बैशाख २०७१, मंगलवार ०५:४५ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । निजी विद्यालय सञ्चालकले कमिसनका लागि अदालतको आदेश अवज्ञा गर्दै विद्यालय परिसरबाट पाठयपुस्तक बिक्री गरिरहेका छन् ।

नियमविपरीत पुस्तक बिक्री गर्नेमा भीएस निकेतन, नाइटिङ्गेललगायत दर्जनभन्दा बढी विद्यालय छन् । यसबारे वाणिज्य विभागमा उजुरी परेको छ । भीएसका सञ्चालक बाबुराम पोखरेल र नाइटिङ्गेलका सञ्चालक डीएल चौधरी सभासद हुन् । नियम बनाउनेबाटै कानुन उल्लंघन हुँदा पनि सरकारले कारबाहीमा चासो दिएको छैन ।

०६९ जेठ १० मा सर्वोच्च अदालतले निजी र सामुदायिक विद्यालयलाई बिक्री कक्ष खोलेर पोसाक, स्टेसनरी, पाठ्यपुस्तक र पाठ्यसामगी बिक्री नगराउन आदेश दिएको थियो । त्यस्तै शिक्षा नियमावलीको नियम ३७ को २ मा कुनै पनि विद्यालयले आफ्नो क्षेत्रबाट पुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य पार्न नहुने उल्लेख छ ।

निजी विद्यालय सञ्चालकको सहमतिमा एक वर्षअघि ल्याएको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकामा समेत विद्यालय आफैँले पाठ्यपुस्तक तथा स्टेसनरी खरिद(बिक्री गर्न नपाउने व्यवस्था छ ।

राष्ट्रिय अभिभावक संघ अध्यक्ष धर्मदत्त देवकोटाले कमिसनकै लागि नियमविपरीत काम हुने गरेको आरोप लगाए । ‘विद्यालय आसपासमा बिक्री गर्न दिनुपर्छ । यस्ता पसलबाट अभिभावकले छुटसमेत पाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘लाखौं कमिसनका लागि विद्यालय हाताभित्र बिक्री गर्नु कानुन उल्लंघन हो ।’

विद्यालयहरूले कमिसनकै लागि निश्चित पसलबाट पुस्तक किन्न अभिभावकलाई बाध्य पार्ने गरेका छन् । भीएस निकेतनले तोकेकै पसलबाट पोसाक सिलाउनुपर्ने र कापी पनि तोकिएको पसलबाटै किन्नुपर्ने व्यवस्था गरेको अभिभावकको गुनासो छ । ‘अभिभावकलाई जताततै ठगिरहेका छन्,’ देवकोटाले भने ।

सभासद चौधरीले बिक्री स्टल आफूले नभई पुस्तक पसलले राखेको दाबी गरे । ‘बिक्रीको स्टल मेरो होइन,’ उनले भने, ‘विद्यार्थीको सुविधाका लागि पुस्तक पसलले राखेको हो ।’ अर्का सभासद पोखरेललाई फोन र एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेका अनुसार बालबाटिका, क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलगायत दर्जनभन्दा बढी विद्यालयले ठगी गरेको गुनासो आएको छ । अभिभावकले ठगीमा परेको फोनबाट उजुरी गरेको विभागले जनाएका हो ।

‘विद्यालय ज्यादतीबारे करिब एक दर्जन उजुरी आएका छन् । उजुरी गर्नेमा अधिकांश अभिभावक छन्,’ उनले भने, ‘तर, उजुरी अधिकांश फोनबाटै छन् ।’ उनका अनुसार लिखित उजुरी गर्दा अभिभावकको नामबाट विद्यार्थीलाई मानसिक तनाव दिने भन्दै फोनबाट उजुरी गरेका हुन् ।

यस्तै, उपभोक्ता अधिकार अनुसन्धान मञ्चले पनि पुस्तक र पोसाक विद्यालय हाताभित्र बेच्ने र अभिभावकसँग चर्को मूल्य लिएकाले अनुगमन गर्न विभागमा उजुरी दिएको छ । ‘नयाँ शैक्षिक सत्रमा विद्यालयले विभिन्न बहानामा ठगी गरेकाले आवश्यक कदम चाल्न आग्रह गर्छौं,’ मञ्च अध्यक्ष माधव तिमल्सिनाले उजुरीमा उल्लेख गरेका छन् ।

विभागका अनुसार उजुरीमा अधिकांशले पुस्तकको मूल्य, वाषिर्क शुल्क, ल्याब, विद्यालय मर्मत, विद्यालयले वितरण गर्ने कापी, परिचयपत्र लगायतमा बढी शुल्क असुल्ने गरेको निर्देशक बेल्बासेले बताए । ‘उपत्यकाका करिब ९० प्रतिशत निजी विद्यालयले मनोमानी गरेको पाइएको छ,’ उनले भने, ‘नाफाकै लागि ब्युटिपार्लर र चुरा पसलबाटसमेत पुस्तक बिक्री भएको छ ।’ उनले कमिसनकै लागि क्यारियर बिल्डिङ एकेडेमीले ब्युटिपार्लरबाट पाठ्यपुस्तक बिक्री गरेको उजुरी परेको बताए ।

बेल्बासेका अनुसार विद्यालयले वितरण गर्ने कापीमा समेत ठगी भएको छ । ‘उस्तै कापी सामान्य पसलले दर्जन किन्दा ४ वटासम्म छुट दिन्छ । ६० रुपैयाँ पर्ने कापी ४५ रुपैयाँमा पाइन्छ,’ उनले भने, ‘तर, विद्यालयबाट खरिद गरिने दर्जन कापीमा पनि छुट हुँदैन ।’

यस्तै, विद्यार्थीले विद्यालयका भित्तामा सिसाकलमले केरेको शुल्कसमेत लिएको उजुरी परेको उनले बताए । संयुक्त बजार अनुगमन निर्देशिका ०६९ अनुसार विद्यालयस्तरका शैक्षिक प्रतिष्ठानमा शिक्षा मन्त्रालय मातहतको निकायले अनुगमनको संयोजन गर्छ । ‘विद्यालयलाई कारबाही गर्न जिल्ला शिक्षा कार्यार्लय र शिक्षा विभागमा पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अनुगमनका लागि माग आए हामी तयार छौँ ।’ प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले नियमविपरीत पुस्तक बिक्री गरेको जानकारी नभएको बताए ।

शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले नियमविपरीत पुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘नियम बनाउनेले उल्लंघन गरेको पाइनु पराकाष्ठा नै हो,’ उनले भने, ‘जसले कानुन बनाउने हो, उसले उल्लंघन गर्नु भनेको सरकारलाई चुनौती हो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको रथयात्रामा

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

आजको प्रमुख समाचार