जैविक मलमा माटो बिगार्ने रसायन

७ बैशाख २०७१, आईतवार ०६:५७ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । रासायनिक मलले माटो बिगार्‍यो भन्दै उत्पादकत्व बढाउन किनिएको प्रांगारिक मल नै उब्जाउ शक्ति नष्ट गर्ने रसायनयुक्त भेटिएको छ।

सरकारले अघिल्लो वर्ष निजी उद्योगीसँग किनेको करिब २ करोड ६० लाख मूल्यको १ हजार ९ सय टन प्रांगारिक मलमा धातु पगाल्ने रसायन मिसाएको पाइए पनि कृषि सामग्री लिमिटेडले अहिले त्यही मल धमाधम किसानलाई बिक्री गरिरहेको छ।

कम्पनीको निर्देशनमा मातहत क्षेत्रीय कार्यालयले वैज्ञानिक परीक्षणमा गुणस्तरहीन भेटिएको मौज्दात मल बेचिरहेको स्रोतले जानकारी दिएको छ।

कम्पनीसँग मौज्दात उक्त परिमाणको प्रांगारिक मलमा धातु पगाल्ने अक्साइड मिसाइएको केही समयअघि वैज्ञानिक परीक्षणले पुष्टि गरेको थियो।

माटोविज्ञका अनुसार अक्साइड मिश्रित मलले माटोको उर्वराशक्ति नष्ट गर्छ। यसले बालीको उत्पादकत्वसमेत घटाउँछ। केही समयअघि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लगायत सरोकारवाला संस्थाले कम्पनीमा मौज्दात मलको गुणस्तर परीक्षण गर्दा अक्साइड मिसाइएको पाइएको नार्कका एक वैज्ञानिकले जानकारी दिए।

ती वैज्ञानिकका अनुसार व्यापारीले मलको रङ कालो पार्न यस्तो खाले कडा रसायन मिसाउँछन्। ‘अक्साइडयुक्त मलले बिरुवाको डाँठ कुहिने, पात पहेंलो हुने र फल नलागी बोट मक्किएर जानेजस्ता समस्या ल्याउँछ,’ नाम उल्लेख नगर्ने सर्तमा नार्कका एक वैज्ञानिकले शनिबार भने, ‘अक्साइड मिसाइएको पुष्टि भएको प्रतिवेदन तयार गरेर कृषि विकास मन्त्रालय पठाइसकेका छौं।’

कृषि मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले मलको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे। नार्कले तयार पारेको प्रतिवेदनबारे पनि मन्त्रालयमा आधिकारिक जानकारी नआएको उनले बताए।

कम्पनीस्रोतका अनुसार हानिकारक रसायन मिसाइएको मल विराटनगर, वीरगन्ज, बर्दिबास, नेपालगन्जलगायत कार्यालयबाट धमाधम बिक्री भइरहेको छ।

सरकारले रासायनिक मल आयात प्रतिस्थापन गर्ने उद्देश्यले प्रांगारिक मल किने पनि त्यसको गुणस्तरप्रति चासो नदिएको राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष उद्धव अधिकारीले बताए।

‘किसानको सोझोपनको फाइदा उठाउँदै कृषि सामग्री कम्पनीले मलमा मनोमानी गरिरहेको छ,’ अधिकारीले नागरिकसँग भने, ‘सरकार आफैंले किनेको मलमा त गुणस्तरको प्रश्न उठ्छ भने अब कसलाई विश्वास गर्ने ?’

आर्थिक वर्ष २०६९/७० मा कम्पनीले २ करोड ६० लाख रुपैयाँ खर्चेर किनेको मलमा हानिकारक रसायन रहेको थाहा पाउँदापाउँदै किसानलाई बेच्न निर्देशन दिइएको हो। कम्पनीले दुर्गा–भवानी जैविक प्रांगारिक मल कारखाना, विराटनगरबाट उक्त मल किनेको थियो।

कम्पनीका निमित्त महाप्रबन्धक अम्मरराज खैरले प्रांगारिक मल कमसल नभएको दाबी गरे। ‘हामी किसानलाई गुणस्तरहीन मल बिक्री गर्दैनौं,’ उनले भने, ‘कम्पनीले किन्दा नै गुणस्तर परीक्षण गरेको हुन्छ।’

क्षेत्रीय कार्यालयलाई मौज्दात रहेको मल तत्काल बेच्न निर्देशन दिएको उनले पुष्टि गरे।

सरकारले आगामी वर्षका लागि नयाँ मल किन्न टेन्डर आह्वान गर्ने समय आइसकेकाले स्टक मल बेच्न निर्देशन दिइएको खैरको भनाइ छ। कम्पनीले बर्सेनि लाखौं टन मल किन्छ। तर, उससँग मलको गुणस्तर जाँच्ने प्रयोगशाला छैन। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण