कोइरालासँग रिसाएका पौडेल देश दौडाहामा निस्किए

७ बैशाख २०७१, आईतवार ०५:२८ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । ‘कांग्रेस कहिलेसम्म भागबन्डामा जाने ?’ पार्टीभित्र संस्थागत बन्दै गएको साठी-चालीसको भागबन्डाले चेपुवामा परेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शनिबार मेची-काली जागरण अभियानको दोस्रो चरण कार्यक्रममा निस्कनुअघि केही सञ्चारकर्मीमाझ भने, ‘मेरो अभियानको मुख्य उद्देश्य भागबन्डा र गुटबन्दीको अन्त्य गर्नु हो ।’

अभियानले नेताहरूलाई दबाब दिए पनि भागबन्डा अन्त्य हुनेमा धेरै कांग्रेसी नेतालाई विश्वास छैन । महाभारतमा जरासन्द, भीमसेन र कृष्णको प्रसंग कोट्याउँदै पौडलले भने, ‘भागबन्डाको अन्त्य नखोज्ने हो भने र एउटा छट्टु कृष्णको उदय भयो भने फेरि विभाजनको मार खेप्नुपर्छ ।’

०६४ असोज ८ मा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको कांग्रेस र शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस ९प्रजातान्त्रिक० बीच एकीकरण गर्दा पार्टी संरचना साठी चालीसको आधारमा मिलाइएको थियो । त्यसपछि १२ औं एकता महाधिवेशनले साठी चालीसको भागबन्डा अन्त्य गर्ने अपेक्षा राखिए पनि त्यसो हुन सकेन ।

सुशील कोइराला सभापति निर्वाचित भएलगत्तै भागबन्डाको अन्त्य गर्ने घोषणा गरेका थिए । तर उनको कार्यकालमा भागबन्डा संस्थागत भयो । संविधानसभा निर्वाचनमा उम्मेदवार तय, समानुपातिक सभासद छनोटदेखि मन्त्री बनाउनेसम्मका काम भागबन्डामै भए । साठी चालीसको भागबन्डा अब पार्टीमा मात्रै नभई नेविसंघ, महिला संघलगायत भ्रातृ संस्थामा समेत सुरु भएको छ । ‘कांग्रेस विधि र विधानले नभएर भागबन्डाले चलेको छ,’ एक नेताले भने ।

पौडेलले आफू संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण विभागको मेची(काली जागरण अभियानको मुख्य लक्ष्य भागबन्डा अन्त्य गर्न खोज्ने बताए पनि यसभित्रको निहित उद्देश्य पार्टीभित्रै तेस्रो शक्तिको खोजी हो । यसलाई पौडेल स्वयंले पनि अस्वीकार गरेनन् । ‘भन्नालाई तेस्रो शक्ति निर्माण गर्न खोजेको पनि भन्न सकिन्छ,’ सञ्चारकर्मीमाझ उनले भने, ‘तर मुख्य कुरो भागबन्डा अन्त्य गर्ने हो ।’

दुई पक्षबीचको भागबन्डाका कारण आफू पेलिँदै आएको बुझाइ पौडेललाई परेको छ । पछिल्लो पटक उनी र सभापति कोइरालासँगको सम्बन्ध चिसिँदो छ । पूर्वसहमतिअनुसार कार्यवाहक सभापति नपाएको भन्दै पौडेल कोइरालासँग रिसिँदै आएका छन् । सभापति कोइरालाप्रति पार्टी र सरकार सञ्चालनमा समेत आलोचना बढिरहेको मौका छोपेर उनले यो अभियान थालेका छन् ।

कांग्रेस नेता प्रकाशशरण महतले यस्तो अभियानले पार्टीभित्रको भागबन्डा अन्त्य नहुने बताए । ‘प्रमुख नेताहरू बसेर योग्यता र क्षमताका आधारमा मूल्यांकन पद्धति र प्रणाली नबसालेसम्म भागबन्डा अन्त्य हुँदैन,’ उनले भने, ‘सक्रिय सदस्यता वितरणदेखि नै यसको अन्त्य खोजिनुपर्छ ।’

पौडेलले थालेको अभियानले देउवाभन्दा पनि कोइरालालाई झस्काएको छ । पहिलो चरणको कार्यक्रममा अनुपस्थित रहेका प्रधानमन्त्री कोइराला पूर्वबाट सुरु हुने दोस्रो चरणको कार्यक्रमका लागि भने शनिबारै झापा पुगे ।

शीर्षसहितका प्रमुख नेताहरू झापा पुगेका छन् । अभियानमा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइनेछ । पौडेलका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीको शैद्धान्तिक र रणनीतिक पक्ष, प्रजातान्त्रिक समाजवाद, समसामयिक विषय र स्थानीय निर्वाचनको विषयलाई केन्द्रविन्दुमा राखिएको छ । झापा, मोरङ, राजविराज, वीरगंजमा यो अभियान वैशाख १३ सम्म जारी हुनेछ ।

कतिपय नेताहरूले पार्टीले सरकारको नेतृत्व लिएका बेला यस्तो अभियानको तुलनामा जनतालाई राहत हुने कार्यक्रम र सेवा दिनसके पार्टी संगठनका लागि धेरै राम्रो हुने बताएका छन् । ‘प्रधानमन्त्रीसहित सबै नेता राजधानी बाहिरको कार्यक्रममा व्यस्त बन्नुको साटो केन्द्रमा व्यवस्थापन हुन नसकेका विषय र मुद्दालाई हल गर्नेतिर लाग्दा राम्रो सन्देश जान्थ्यो,’ महतले भने, ‘सरकारको नेतृत्व लिएका बेला राज्य संयन्त्रलाई परिचालन गरेर जनतालाई डेलिभरी दिने काममा केन्द्रित हुन सकेको भए कांग्रेस जनतामाझ लोकप्रिय हुन सक्थ्यो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय