आन्दोलनका उपलब्धी ओझेलमा परेको विपक्षी दलहरुको ठहर

६ बैशाख २०७१, शनिबार १५:१३ मा प्रकाशित


काठमाडौं, ६ वैशाख । एमाओवादीसहितका विपक्षी दलहरुले सांस्कृतिक भाषिक आन्दोलनका उपलब्धी ओझेलमा पर्न थालेको आरोप लगाएका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज (शनिबार) बसेको सात विपक्ष दलहरुको बैठकले जनताका एजेन्डाहरु ओझेलमा पर्न लागेको ठहर गरेको हो । ‘परिवर्तनलाई सम्बोधन गर्ने एजेन्डा आगामी संविधानमा लिपिबद्ध हुने सम्भावना कम हुँदै गएको छ,’ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘उपलब्धी रक्षा गर्न मिलेर अगाडि बढ्ने सहमति भएको छ ।’
बैठक पछि पत्रकारसँग कुरागर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न समयमा भएका राजनीतिक, सांस्कृतिक तथा भाषिक आन्दोलनले उठाएका मागलाई आगामी संविधानमा लिपिबद्ध गर्न मिलेर जाने सहमति भएको बताए ।
‘जनताका विषय स्थापित गर्न र जनपक्षीय संविधान निर्माणका लागि संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दलसँग मिलेर काम गर्ने, समान धारणा बनाउने, पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानको पक्षमा एकताबद्ध हुने निर्णय भएको छ,’ उनले भने ।
विपक्षी दलहरुले एजेन्डा मिल्ने दलहरुबीचमा गतिलो समझदारी गरेर जाने पनि निर्णय गरेका छन् ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग गठनको प्रक्रिया अगाडि बढे पनि त्यसलाई विवादित बनाइएको भन्दै बैठकले आपत्ति जनाएको छ । विपक्ष दलहरुले आयोग गठनबारे पर्ने संशोधन प्रस्तावमा समेत समान धारणा राख्ने निष्कर्ष निकालेका छन् ।
मधेस आन्दोलन र मधेसवादी दलहरुबीच २०६४ सालमा भएको सहमति कार्यान्वयनका लागि पनि एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको महासचिव देवले जानकारी दिए ।
बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन निर्माण गर्ने सैद्धान्तिक सहमति गरेको छ ।
बैठकमा एमाओवादी अध्यक्ष दाहालका साथै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छेदार, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष यादव, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार