विमानस्थलमा बत्ति गएपछि

५ बैशाख २०७१, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । युनाइटेड अरब इमिरेट्स (युएई)को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

काठमाडौं अवतरण गर्न ‘ल्यान्डिङ गियरु झारिसकेको जहाज विमानस्थलको दक्षिणपट्टि कोटेश्वर चोकमाथि आइपुगेको थियो। झिलिमिली बत्ति बलिरहेको धावनमार्ग र विमानस्थलमा एक्कासि बत्ति निभ्यो। जताततै अन्धकार छायो।

‘जहाजले धावनमार्ग छुन एक निमेषमात्र बाँकी हुँदा झ्याप्पै बत्ति गयो, अगाडि पूरै अन्धकार, न धावनमार्ग देखियो न विमानस्थल,’ सम्बद्ध स्रोतले चालकदलका एक सदस्यलाई उद्धृत गर्दै बिहीबार भन्यो, ‘हाम्रो अगाडि जहाजलाई जबर्जस्ती ओभरसुट गराउनुको विकल्प थिएन। धन्न, जहाजलाई उकास्न सफल भयौं र ठूलो दुर्घटनाबाट जोगियौं।’

यो घटना बुधबार राति त्रिभुवन विमानस्थलमा भएको हो। स्रोतका अनुसार एयर अरेबियाको उडान नम्बर जी ९५३५ भएको एयरबस ए ३२० मोडलको उक्त जहाज राति ९ : ५५ बजे विमानस्थल अवतरण गर्ने तालिकाअनुसार आइरहेको थियो। धावनमार्ग ओर्लन ठिक्क परेको जहाज त्यसबेला जमिनबाट ५० मिटरमात्र माथि थियो।

‘चालकदलले अनुमानका आधारमा धावनमार्गमा जहाज अवतरण गराउनु निकै जोखिमपूर्ण काम हो, त्यस्तो जोखिम मोल्नुभन्दा जबर्जस्ती जहाजलाई उकास्नु नै बुद्धिमानी हो,’ एयर अरेबियाका नेपालस्थित एक अधिकारीले भने, ‘अनुभवी चालकदलले जहाजलाई उकासे र सम्भावित दुर्घटना हुनबाट जोगाए। तर, हाम्रो विमानस्थलको लापरबाहीको सिकार वायुसेवा कम्पनी र यात्रु हुन पाउँदैनन्।’

उनका अनुसार जहाज उकासिएर गएको ४० मिनेटपछि राति १०:३५ बजेमात्र पुनः अवतरण गर्न सफल भएको थियो। अवतरण गर्नै लागेको जहाज एक्कासि उकासिँदा यात्रु अत्तालिएका थिए। त्यसबेला विमानस्थलमा ओमान एयर, ड्रागन एयर र नेपाल वायुसेवा निगमका जहाज पार्किङमा थिए। जहाज उकास्न नसकी अवतरण गराइएको भए जे पनि हुनसक्थ्यो।

‘राति तीव्र गतिमा गाडी वा मोटरसाइकल कुदाइरहँदा बलिरहेको हेडलाइट एक्कासि बन्द हुँदा चालकलाई जे हुन्छ, जहाजमा पनि त्यस्तै हुन्छ,’ एक वरिष्ठ पाइलटले भने, ‘बाटोमा त गाडी वा बाइक झ्याप्पै रोक्न सकिएला तर, आकासमा के गर्ने ?’

एयर अरेबियाको त्रिभुवन विमानस्थलस्थित अधिकारीहरूले घटनालगत्तै विमानस्थल व्यवस्थापनलाई जानकारी गराएका थिए। तर, व्यवस्थापनले घटनाबारे बिहीबार कुरा गर्ने भन्दै ‘गैरजिम्मेवारु जवाफ दिएको सम्बद्ध अधिकारीले बताए।

बत्ति गए पनि ब्याट्री ब्याकअप भएकाले आठ सेकेन्डमै आउँछ भन्ने जवाफ विमानस्थल व्यवस्थापनबाट आएको उनले जानकारी दिए। एयर अरेबियाका अधिकारीहरूले ‘त्यत्रो ठूलो जहाज अवतरण गर्न लागेका बेला बत्ति गएको विषयलाई आठ सेकेन्ड त हो नि भन्दै पन्छिनुलाई विमानस्थल व्यवस्थापनको लापरबाहीको पराकाष्ठा’ भनेका छन्।

‘तीव्र गतिमा आएको जहाज आठ सेकेन्डमा त उत्तरपट्टि बौद्ध कटेर कता पुगिसक्छ,’ ती अधिकारीले भने, ‘दुर्घटना भएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्योरु अनि त्यसमाथि नेपालको छवि के हुन्थ्यो ? असाध्यै संवेदनशील विषयलाई पनि जिम्मेवार निकायले हल्का रूपमा लिइदिए। हामी दुःखी छौं। हामी त जोगियौं, तर भोलि अर्को वायुसेवालाई पनि यस्तो घटना नहोला भन्न सकिन्न।’

उनका अनुसार सारजहाँ फर्किएपछि उक्त जहाजका क्याप्टेनले आफ्नो नागरिक उड्डयन प्राधिकरणमा घटनाबारे लिखित जानकारी गराएका थिए। उताबाट घटनाबारे सत्यतथ्य जानकारी दिन यहाँको उड्डयन प्राधिकरणको नाममा पत्र आउँदैछ।

‘हाम्रो देशमा अहिले दैनिक १२ घन्टा लोडसेडिङ छ भन्ने विमानस्थल व्यवस्थापनलाई थाहा छ कि छैनरुु उनले भने, ‘बत्ति गयो भनेर पन्छिन पाइँदैन। त्यसो भए बत्ति गएका बेला जहाज उडान–अवतरण नगर्ने ?

त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले विमानस्थलमा बत्ति गएका बेला जेनेरेटरबाट बत्ति बल्न १० सेकेन्ड लाग्ने बताए। ‘यति समय भनेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी हो,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘बत्ति गएको १५ सेकेन्डभित्र पुनः बल्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। फेरि हाम्रो कारणले बत्ति गएको होइन, विद्युत प्राधिकरणले गर्दा हो।’ उनले एयर अरेबियाको घटनाबारे मौखिक जानकारी पाए पनि लिखित नआएको बताए।

यसअघि सन् २००५ मा गल्फ एयर त्रिभुवन विमानस्थलबाट उडान गर्न धावनमार्गमा तीव्र गतिमा कुदिरहेका बेला पनि झ्याप्पै बत्ति निभेको थियो। त्यसबेला पनि जहाज उड्नुको विकल्प थिएन र अँध्यारोमै उडेको थियो।

त्यसैगरी गत कात्तिक पहिलो साता फ्लाई दुबईको जहाज उड्न धावनमार्गमा कुदिरहँदा एउटा कुकुरले बाटो काटिदिएपछि किचेर जहाज अगाडि बढे पनि धावनमार्ग २ सय मिटर बाँकी छँदा रोकिएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा