अधिकारी दम्पतीलाई खाना खुवाउन दैनिक पाँच हजार

४ बैशाख २०७१, बिहीबार ०७:५४ मा प्रकाशित

काठमाडौं, ४ वैशाख । मानिस खाना र पानी नखाई कति दिन बाँच्न सक्छरु दुई, चार वा अरू केही दिनरु गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पती १ सय ७२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छन्। उनीहरुले पछिल्लोपटक अनशन बसेकै दिनदेखि मुखबाट केही खाएका छैनन्। त्यसो भनेर कुनै अद्‍भूत शक्तिले होइन, खाना खुवाउने चिकित्सकीय विकल्पले अधिकारी दम्पतीलाई बचाइरहेको हो ।

गोरखा फुजेलका अधिकारी दम्पती छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमरण अनशन बसिरहेका छन्। यही प्रकरणलाई लिएर बुधबार संविधानसभा बैठकसमेत अवरुद्ध भयो ।

अनशनस्थल वीर अस्पतालका निर्देशक डा। बुलन्द थापाका अनुसार नन्दप्रसाद र गंगामायालाई बचाउन नशाबाट आवश्यक पौष्टिक तत्वयुक्त झोल खुवाइँदै आएको छ। उनका अनुसार अधिकारी दम्पतीको जीवनरक्षाका लागि दिइने खुराकमा सरकारले दैनिक कम्तीमा ५ हजार खर्च गरिरहेको छ ।

यो खर्च अस्पतालले लिने बेड र प्रयोगशाला परीक्षणबाहेकको हो । ‘अस्पतालमा लाग्ने खर्चबाहेक औषधि र पौष्टिक आहारमा मात्रै हालसम्म १६ लाख खर्च भइसकेको छ,’ डा. थापाले भने, ‘विशेष हेरचाह र नशाबाट दिइने झोल पौष्टिक आहारले नै उहाँहरुलाई बचाउन सकिएको हो।’

अस्पतालले अधिकारी दम्पतीका लागि खर्च भएको रकम स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको छ। थापाका अनुसार यो विषय स्वास्थ्यमन्त्रीले मन्त्रिपरिषदमा लैजाने वचन दिएका छन्। उनले अस्पतालले आन्तरिक स्रोतबाट गरेको खर्च र सेवाको हिसाब गर्दा ३० लाखभन्दा बढी खर्च भइसकेको जानकारी पनि दिए।

यद्यपि, अधिकारी दम्पतीको स्वास्थ्य जोखिममुक्त छैन। डा। थापाका अनुसार अवस्था नाजुक छ, खाना दिन नशामा प्वाल पारेकाले संक्रमणको जोखिम छ र पाचन प्रक्रिया बिस्तारै ‘डिसफङ्सन’ हुँदै गएको छ।

‘जुनसुकै बेला अधिकारी दम्पतीलाई जेसुकै हुनसक्छ,’ उनले भने, ‘यो त संसारमै नौलो घटना होला, कसरी बचाइरहनुभएको छ भनेर धेरैले जिज्ञासा राख्छन्।’

थापाका अनुसार अधिकारी दम्पतीलाई चिकित्सकले नशाका माध्यमबाट जीवनरक्षा निम्ति आवश्यक सबै पौष्टिक तत्व मिश्रित ‘टोटल प्यारेन्टल न्युट्रिसन’ फ्लुड दिइरहेका छन्। उनीहरुलाई पौष्टिक झोल, स्लाइन दिन र रगतको नमुना निकाल्न मिल्ने एउटै थ्रिस्टपर लगाइएको छ। खानाका लागि मुख्य पाचन नशासम्म छुनेगरी प्वाल बनाएर पाइप जडान गरिएको छ। यस्तो पाइप नन्दप्रसादको घाँटीनजिकै र गंगामायाको खुट्टामा फिट गरिएको छ।

सातामा दुईदेखि तीनपटकसम्म दिइने यस्तो यस्तो फ्लुड (झोल) एउटैको ६ हजार पर्छ। यसमा मानिस बाँच्नका लागि आवश्यक कार्बोहाइडे्रड, प्रोटिन, चिल्लो पदार्थ, मिनरल र भिटामिनको मिश्रण हुन्छ। अर्को महत्वपूर्ण तत्व पानीका लागि रिंगल ल्याक्टेड स्लाइन दिइएको छ।

कुनै संक्रमण देखिनासाथ एन्टिबायोटिक्स दिएर त्यसलाई दबाउने गरिन्छ। केही दिनअघि खाना दिन घाँटीमा पाइप छिराउने प्वालमा संक्रमण भएपछि गंगामायामा ज्वरो बढेको थियो। लगत्तै चिकित्सकले घाँटीको पाइप निकालेर खुट्टामा जडान गरी खाना दिन थालेका थिए।

सुरुमा स्लाइन मात्रै दिइने गरिएकोमा गत भदौ १८ गते अधिकारी दम्पतीको जीवनरक्षाका लागि जबर्जस्ती भए पनि खुवाउनू भन्ने सर्वोच्चको आदेशपछि यस्तो खाना दिन सुरु गरिएको हो। ‘अहिले पनि झोल र स्लाइन इन्कार गर्दा जबर्जस्ती भए पनि खुवाउँछौं,’ डा. थापाले भने।

त्यसबाहेक, अस्पतालले अधिकारी दम्पतीलाई उच्च विशेषज्ञ समूहले ‘क्लोज निगरानी’ गरिरहेको छ। मेडिकल विभागअन्तर्गत सातजना चिकित्सक रहेको युटिन २ ले अधिकारी दम्पतीको २४ सै घन्टा स्वास्थ्य निगरानी गर्छ। त्यसबाहेक, अन्य विशेषज्ञसहितको टोलीले बिहान र साँझ राउन्ड लिन्छ।
यी बाहेक मेडिसिनबाहेक मिर्गौला रोग, एनेस्थेसिया, मुटु, मुत्ररोग, शल्यत्रिया र हाडजोर्नीका विशेषज्ञले पनि बरोबर जाँच गरिरहन्छन्।

लामो समयसम्म खाना नखाँदा पाचनमा समस्यासँगै, बेडमा सुत्दा पिसाबको संक्रमण र हाडजोर्नीसम्बन्धी समस्या र खाटेघाउको जोखिम हुन्छ। यस्ता समस्याबाट जोगाउन विशेष नर्सिङ केयर र सावधानी चाहिन्छ। जोखिमबाट बचाउनै अधिकारी दम्पतीलाई एक साताअघि मात्र भेटमा कडाइ र उच्च निगरानीका लागि आइसियुमा सारिएको थियो।
चिकित्सकका अनुसार लामो समय मुखबाट खाना, पानी नलिँदा पाचन प्रणालीले काम नगर्ने खतरा हुन्छ। ‘अब खाना खुवाउन थाल्दा पनि ठूलो समस्या आउन सक्छ,’ थापा भन्छन्, ‘सानो बच्चालाई जस्तै बिस्तारै स्तिारै खान दिएर मात्रै नर्मल अवस्थामा फर्काउन सकिन्छ।’

अधिकारी दम्पतीका छोरा कृष्णप्रसाद हत्यामा संलग्न आरोपमा १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्दा दायर गरिए पनि उनीहरुले अनशन तोड्न इन्कार गरिरहेका छन्। मंगलबार पनि प्रधानमन्त्री कार्यलयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा आइजिपी, गृहसचिव लगायतका उच्च अधिकारी वीर अस्पताल पुगेर अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह गरेका थिए।

सरकारी टोलीसँग नन्दप्रसादले आफूले किटानी जाहेरी दिएकालाई हतकडी लगाएर जेल चलान नगर्दासम्म अनशन नछाड्ने बताए।
पटकपटक गरी नौ महिनादेखि वीरमा अनशनरत अधिकारी दम्पतीका कारण वीर अस्पतालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो जारी छ। निर्देशक थापाले यस प्रकरणले आफूलाई निकै व्यस्त गराएको बताए। ‘युएनदेखि मानवअधिकार आयोगमा स्वास्थ्य रिपोर्ट पठाउनुपर्छ,’ उनले भने, ‘नेता, मन्त्री, सचिव, उच्च अधिकारी निरन्तर आइरहन्छन्, उनीहरुलाई भेट गराउँदा अस्पतालको कामसमेत प्रभावित भएको छ।’

नन्दप्रसाद र गंगामायाका १७ वर्षे छोरा कृष्णप्रसादको माओवादी कार्यकर्ताले नौ वर्षअघि हत्या गरेका थिए। छोराका हत्याराविरुद्ध किटानी जायरी दिँदा पनि प्रहरीले वास्ता नगरेपछि सुरुमा अधिकारी दम्पती प्रधानमन्त्री भेट्न काठमाडौं छिरेका थिए।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भेट्न नदिएपछि उनीहरुले प्रधानमन्त्री निवासअगाडि नै अनशन थालेका थिए। सरकारले अधिकारी दम्पतीलाई पहिलोपटक गत जेठ ३१ मा मानसिक अस्पताल लगेर भर्ना गराएको थियो। घटना बाहिर आएपछि उनीहरुले बालुवाटारमा अनशन थालेका थिए। त्यसपछि उनीहरुलाई वीरमा ल्याइएको थियो।

यसअघि पनि वीरमै लामो अवधि अनशन बसेका अधिकारी दम्पतीलाई मन्त्रिपरिषद अध्यक्ष खिलाराज रेग्मीले अभियुक्तलाई पक्रिएर कारबाही गर्ने वचन दिएर अभियुक्त रामप्रसाद अधिकारीलाई गिरफ्तार गरेपछि अनशन छाडेका थिए। तर प्रहरीले भदौ २० मा पक्राउ गरेका रामप्रसादलाई दुई दिनमै छाडेको थियो। अघिल्लोपटक अनशन बसेको समयपछि गिरफ्तार प्रमुख अभियुक्तलाई समेत प्रमाण नपुगेको भन्दै चितवनका सरकारी वकिलले मुद्दा चलाउन नमानेपछि नन्दप्रसाद र गंगामाया पछिल्लोपटक कात्तिक ७ देखि अनशनमा छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न