क्यान–खेलाडी तीनबुँदे सहमति

४ बैशाख २०७१, बिहीबार ०७:४६ मा प्रकाशित


काठमाडौं, ४ वैशाख । राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान) बीचको तनाव बुधबार तीनबुँदे सहमतिमा अन्त्य भएको छ। क्रिकेट विकासका लागि योजना तथा अनुगमन समिति बनाए कार्यान्वयन गर्ने सहमतिसँगैै क्यान विघटनसहितको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीको आन्दोलन सकिएको छ। अब उनीहरु मैदानमा ब्याट र बलसँगै देखिनेछन् ।

राष्ट्रिय टोलीका खेलाडीले क्यानको कार्यशैलीप्रति असहमति जनाउँदै क्यान विघटनसहित दसबुँदे माग राख्दै काठमाडौं र पोखरामा जारी राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शान्तिराम शर्माको मध्यस्थतामा दुई दिन चलेको वार्ता बुधबार राति अबेर सहमतिमा टुंगिएको हो ।

मध्यबानेश्वरस्थित क्यान मुख्यालयमा भएको सहमतिअनुसार बुधबारै राखेप सदस्य सचिव लामाको संयोजकत्वमा क्रिकेट विकास र विस्तारका लागि योजना बनाएर क्यानलाई दिने तथा कार्यान्वयन भए–नभएको अनुगमन गर्ने पाँच सदस्यीय योजना तथा अनुगमन समिति गठन गरिएको छ ।

सहमतिअनुसार समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्नेछ। समितिले दिएको योजना क्यानले कार्यान्वयन गरे–नगरेका अनुगमनसमेत उसैले गर्नेछ । समितिमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का, युवा तथा खेलकुद मन्त्रालय तथा क्यानका प्रतिनिधि सदस्य छन् । मन्त्रालयका प्रतिनिधि उपसचिवभन्दा माथिल्लो तहको अधिकृत हुनुपर्ने पनि सहमतिमा उल्लेख छ ।

सदस्य सचिव लामा, मन्त्रालयका सहसचिव शर्मा, राखेपका विभागीय प्रमुख प्रकाशचन्द्र घिमिरे, क्यानका वार्ता टोली संयोजक चतुरबहादुर चन्द, सदस्य ठाकुरप्रताप थापा, राष्ट्रिय टोलीका कप्तान पारसलगायत सबै खेलाडीले सहमतिमा हस्ताक्षर गरेका थिए । राष्ट्रिय टोलीले चैत २६ मा क्यानसमक्ष राखेको १० बुँदे माग यथाशीघ्र पूरा गर्ने पनि दुईपक्षीय सहमति छ ।

राष्ट्रिय टोलीका खेलाडी राष्ट्रिय प्रतियोगितासँगै माग पूरा नभएसम्म अप्रिल अन्त्यमा मलेसियामा सुरु हुने एसिसी प्रिमियर लिगलगायत सबै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नखेल्ने घोषणासाथ आन्दोलनमा उत्रिएका थिए । क्यानमा आर्थिक पारदर्शिता हुनुपर्ने, पृथु बास्कोटाको उपचारमा क्यान गम्भीर हुनुपर्ने, लामो समयदेखि रोकिएको खेलाडीको तलबभत्ता तुरुन्त दिइनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा ठोस पहल हुनुपर्ने, बिएस इन्टरनेसनलसँग गरिएको प्रायोजन सम्झौता खेलाडीको व्यक्तिगत प्रायोजनमा बाध्यकारी बुँदा हटाउनुपर्ने, घरेलु क्रिकेट संरचना चुस्त र व्यावसायिक बनाउनुपर्ने, क्यानलाई व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्नेलगायत माग राखेर खेलाडीले चैत २७ मा खेलाडीले आन्दोलन घोषणा गरेका थिए ।

क्यान विघटनको मागबाट खेलाडी टसको मस नभएपछि मंगलबार पाँच घन्टासम्म चलेको वार्ता निष्कर्षहीन भएको थियो । बुधबार योजना तथा अनुगमन समिति बनाउनेमा सहमति भएकाले समस्या सुल्भ्किएको कप्तान पारसले प्रतिक्रिया दिए। ‘हामीलाई कानुनबारे जानकारी थिएन। नेपालको कानुनअनुसार प्रधानमन्त्रीले चाहे पनि क्यान विघटन नहुने रहेछ,’ बुधबार करिब सात घन्टाको वार्तापछि पारसले भने, ‘हामीले विश्वास गरेको सदस्य सचिवलाई हो । उहाँकै नेतृत्वमा समिति बनेपछि अब समस्या सुल्भ्किएको छ । यो समितिले क्रिकेट विकासका योजना बनाउँछ र क्यानले त्यसलाई कार्यान्वयन गर्छ । कार्यान्वयन भए–नभएको पनि समितिले नै अनुगमन गर्छ।’

समिति अधिकारसम्पन्न हुने बताउँदै पारसले अब खेलाडीहरु समितिको नेतृत्वमा आएको बतए । भने, ‘अब हामी क्यानको अन्डरमा होइन, समितिको अन्डरमा आएका छौं। समितिले जहिले भन्छ, त्यही दिनदेखि मैदानमा फर्किन्छौं।’

सदस्य सचिव लामाले समिति पूर्ण अधिकारसम्पन्न भएको बताउँदै समितिका योजना कार्यान्वयन नगरे क्यानमाथि कारबाही हुने बताए। ‘सदस्य सचिव नै प्रमुख भएकाले यो पक्कै पनि अधिकारसम्पन्न हुन्छ। यसले आफैँ अनुगमन गर्ने भएकाले क्यानले योजना कार्यान्वयन नगरे कारबाही गरिन्छ। अब क्रिकेटमा बेथितिलाई ठाउँ छैन,’ लामाले भने ।

क्यानका उपाध्यक्षसमेत रहेका वार्ता टोलीका संयोजक चन्दले विगतमा समन्वय नभएकाले समस्या आएको स्विकार्दै अबका दिनमा समितिले त्यसको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार