गौरवमय दक्षिणपन्थी यथास्थितिवाद -देवप्रकाश त्रिपाठी

२१ बैशाख २०६९, बिहीबार ०३:५१ मा प्रकाशित

माओवादी कम्युनिष्टहरूलाई मूलप्रवाहीकरण गर्न भइरहेका प्रयासहरूसँगै मुलुकमा अग्रगामी र क्रान्तिकारी बन्ने लहर चल्यो, चल्दै छ । यस क्रममा पुराना र स्थापित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसमेत अग्रगामी बन्ने स्पर्धामा जुटेका छन् । अग्रगमन आफैंमा सकारात्मक तर तटस्थ शब्द हो, यस अर्थमा कोही पनि मानिस या समूह अग्रगामी बन्न चाहनु अस्वाभाविक होइन । तर, यहाँ अग्रगमनको अगुवाइ आफूले मात्र गरिरहेको दाबी माओवादीहरूले गरिरहेका छन् र अन्य समूह तथा व्यक्तिहरू लुरुलुरु माओवादीको पछि लागिरहेका छन् । माओवादीको अग्रगमन कुनै नयाँ र समृद्धितर्फ नभई संसारमै असफल प्रमाणित भइसकेको थोत्रो जनवादी व्यवस्था उर्फ कम्युनिष्ट पार्टीको एकदलीय अधिनायकवादी व्यवस्थातिर हो भन्नेमा कुनै शङ्का गरिरहनुपर्दैन, तिनका दस्तावेज र व्यवहार आफैंले बोलिरहेका छन् । अग्रगमन उच्चकोटिको प्रजातान्त्रिक प्रणाली, नागरिक स्वतन्त्रता र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा एकदलीय अधिनायकवादजस्तो कहालीलाग्दो गन्तव्यतर्फ सोझिनु आफैंमा हास्यास्पद र डरलाग्दो छ । एक सय चारवर्षे लामो जहानियाँ शासन र तीस वर्षे पञ्चायती निरङ्कुश शासनविरुद्धको लडाइँमा अगुवा भूमिका निर्वाह गर्ने नेपाली काङ्गे्रसजस्तो प्रजातन्त्रवादी राजनीतिक दलका नेताहरूसमेत आफ्ना स्थापित मौलिक मूल्य–मान्यता फ्याँकेर माओवादीको पछि लाग्दा सिङ्गै मुलुक भ्रमित हुन पुगेको छ, अग्रगमनको मसिहा माओवादी मात्र हुन् कि भन्ने भ्रमपूर्ण सन्देश जनजनमा प्रवाहित भइरहेको छ । अधिनायकवादीका पछि लागेर प्रजातान्त्रिक मूल्य र मान्यताहरूको जगेर्ना गर्न सकिँदैन भन्ने सामान्य सिद्धान्तलाई पनि काङ्गे्रसले बुझ्न नसक्दाको परिणाम यतिबेला मुलुकलाई प्राप्त भएको छ । आफ्ना अग्रजहरूको ठूलो सङ्घर्ष र गहनतम् तपस्याद्वारा प्राप्त गरेको हिरामोतीका माला फालेर कतै रसिया या चाइनामा बनेका प्लास्टिकका माला भिर्ने तत्परता जुन नेपाली काङ्गे्रसले लियो यसले काङ्गे्रसलाई चिन्नै नसकिने गरी बिथोलिदिएको छ । देशको सबैभन्दा पुरानो बलवान पार्टी नै यसरी पथच्युत भइदिँदा मुलुकको प्रजातान्त्रिक आन्दोलन धरापमा परेको छ । काङ्गे्रसले संवैधानिक राजतन्त्रप्रतिको आफ्नो स्थापित मान्यता मात्र परित्याग गरेन, बहुसङ्ख्यक जनताको भावनाविपरीत सनातनी परम्परालाई निरुत्साहित तुल्याउने मार्ग अनुशरण ग¥यो । राष्ट्रियता र समाजवादप्रतिको पूर्ववत् धारणामा पनि काङ्गे्रस अडिन सकेन । अब विश्वमा प्रचलित संसदीय प्रजातान्त्रिक प्रणालीप्रतिको आस्था र विश्वासलाई पनि बदल्ने सङ्केत काङ्ग्रेस नेतृत्वले गरिरहेको छ । २०६३ को राजनीतिक परिवर्तनपश्चात् नेपाली काङ्गे्रस आफ्ना पूर्ववत् मान्यताहरूबाट स्खलित हुँदै जाने क्रममा र बाँकी रहेको एउटा एजेण्डा संसदीय प्रजातान्त्रिक प्रणालीलाई पनि परित्याग गरेमा त्यसपछि काङ्गे्रस र माओवादीबीचको अन्तर दार्शनिक, वैचारिक एवम् सैद्धान्तिक नभई पात्र र प्रवृत्तिगत मात्र हुन जानेछ । हामी माक्र्स, लेनिन र माओत्सेतुङहरूलाई मार्गदर्शक गुरु मान्दैनौँ भन्नेबाहेक काङ्गे्रससँग अरू कुन गहना हुनेछ जुन देखेर जनता आकर्षित हुनेछन्– काङ्गे्रसले प्रमाणित गर्न सकोस् । अग्रगामी र क्रान्तिकारी देखिने नाममा नत्थी लगाइएका राँगा र गोरुजस्तै माओवादीका पछिपछि हिँड्ने समूहलाई त्यस्तो बेलामा समवेदनाबाहेक के भन्न सकिएला ?
ब्रिटेनमा कुनै बेला सक्रिय राजतन्त्र थियो र संसद्मा राजाको दाहिनेतिर बस्नेहरू राजाका हरेक कदमलाई अन्धाधुन्द समर्थन जनाउँथे भने बायाँपट्टि रहेकाहरू राजाको आलोचनात्मक समर्थन गर्थे । दायाँ बस्नेहरू जो राजाका पूर्ण समर्थक थिए तिनलाई यथास्थितिवादी तथा दक्षिणपन्थी भन्न थालिएको र बायाँतिर रहनेहरूलाई वामपन्थी विशेषण दिइएको सन्दर्भलाई जोडेर अहिलेसम्म कम्युनिष्टहरूले आफूलाई वामपन्थी भन्न रुचाएका छन् । तर, तीन शताब्दीभित्र संसारमा धेरै ठूलठूला परिवर्तन भइसकेका छन् । वामपन्थी दाबी गर्ने कम्युनिष्टहरू एकदलीय अधिनायकवादी सत्ताका मालिक पनि बनिसकेका छन् । जतिसुकै नयाँ भएको दाबी गरिए पनि माक्र्सवाद दुई सय वर्ष पुरानो भइसकेको छ भने माओवादको जन्म भएको पनि पौने एक सय वर्ष पुग्न लागिसकेको छ । विश्वका बाइस मुलुकमा स्थापित कम्युनिष्ट सत्ता भौतिक रूपले अधिकांश र सैद्धान्तिक रूपले सबै ठाउँमा विस्थापित भइसकेका छन् । लेनिन र माओद्वारा स्थापित सत्ताका समर्थक माओवादी कम्युनिष्टहरूले अग्रगामी र वामपन्थी भएको दाबी गर्नु असान्दर्भिक भइसकेको मान्न सकिन्छ । बरु यस अर्थमा उनीहरूलाई पुरातनपन्थी र दक्षिणपन्थी भन्नु उचित हुन सक्छ । प्रजातान्त्रिक प्रणाली र त्यसअन्तर्गत बनेका सत्ता र सरकारको समर्थन गर्दा कोही दक्षिणपन्थी यथास्थितिवादी हुन्छन् भने कम्युनिष्ट पद्धति तथा त्यसअन्तर्गत निर्मित सत्ता र सरकारका समर्थकचाहिँ वामपन्थी या प्रगतिशील भइरहने भन्ने हुँदैन, उनीहरूलाई पनि घोर दक्षिणपन्थी नै मान्न सकिन्छ । यो वास्तविकतालाई अस्वीकार गर्ने र कम्युनिष्टलाई मात्र वामपन्थी एवम् प्रगतिशील ठान्ने हो भने यसप्रकारका वामपन्थी प्रगतिशील बन्नुभन्दा दक्षिणपन्थी यथास्थितिवादी बन्नु नै सतप्रतिशत उपयुक्त र जायज छ । किनभने यतिबेला नेपालमा वामपन्थी प्रगतिशील बन्नु भनेको हिंसाको पक्षपोषण गर्नु हो, अराजकतापूर्ण व्यवहार गर्नु हो, गरिखानेभन्दा लुटिखाने तरिकामा विश्वास राख्नु हो, विदेशी इसारा र निर्देशनअनुरूप चल्नु हो, विध्वंशमा आस्था राख्नु हो, सामाजिक एवम् जातीय सद्भाव भङ्ग गर्ने कार्यमा अग्रसर हुनु हो, क्षेत्रीय तथा जातीय एकता तोड्न क्रियाशील बन्नु हो, प्रजातन्त्रको विकल्पमा एकदलीय अधिनायकवादी विचारलाई अपनाउनु हो, मानवअधिकार, सम्पत्तिमाथिको अधिकार र पे्रस स्वतन्त्रताको विपक्षमा उभिनु हो । त्यति मात्र होइन, आफ्नो राष्ट्रले परापूर्वकालदेखि अवलम्बन गरिआएको मौलिक सनातन धर्म विस्थापित गरी गरिब र अशिक्षित नेपाली जनतालाई नगद र औषधिका चक्कीको बलमा इसाईकरण गर्न सक्रिय रहनुलाई पनि आजका दिनमा खाँटी वामपन्थी र प्रगतिशील कर्मका रूपमा लिन थालिएको छ । आफ्ना तुच्छ महत्वाकाङ्क्षा पूरा गर्न देशलाई नै अस्तव्यस्त बनाउन सकिन्छ भन्ने मान्यता पनि प्रगतिशील र वामपन्थी भनिने कित्ताले स्थापित गर्न खोजिरहेको छ ।
जातका कुरा गर्दा वामपन्थी होइने र राष्ट्रको कुरा गर्दा दक्षिणपन्थी हुने हो भने त्यस्तो वामपन्थी बन्नुमा भन्दा दक्षिणपन्थी यथास्थितिवादी बनेर नै गौरव गर्न सकिन्छ । हिंसा, अराजकता र एकदलीय अधिनायकवादको पक्ष लिँदा वामपन्थी प्रगतिशील बनिने, शान्ति, कानुनी शासन र प्रजातन्त्रको पक्षमा उभिँदा दक्षिणपन्थी होइने हो भने दक्षिणपन्थी यथास्थितिवादी बन्नु गौरव र शानको विषय हो भन्नैपर्छ । जातीय तथा क्षेत्रीय विभाजनकारी सोच राख्दा वामपन्थी होइने र जाति, क्षेत्र र समाजको सद्भाव कायम राख्दै राष्ट्रिय एकता एवम् सार्वभौमिक सर्वोच्चतालाई उच्च महत्व दिइनुपर्छ भन्दा दक्षिणपन्थी बनिन्छ भने दक्षिणपन्थी विचार नै आजको नेपालमा अनिवार्य आवश्यकता बनिरहेको वास्तविकतालाई स्वीकार गर्नुपर्ने हुन्छ । विश्वका समृद्ध मुलुकहरूमा परम्परावादी या दक्षिणपन्थी बन्नुलाई गौरवको विषय मानिन्छ । अमेरिका र विश्वका अन्य समृद्ध मुलुकमा आफू खाँटी परम्परावादी र दक्षिणपन्थी भएकोले आफूलाई मतदान गर्न त्यहाँका राजनीतिक दल तथा तिनका नेता–कार्यकर्ताहरूले जनतामा आग्रह गर्ने गरेको देख्न पाइन्छ । अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपति रोनाल्ड रेगन खाँटी परम्परावादी दक्षिणपन्थी थिए । सन् २००८ मा बाराक ओबामाका प्रतिस्पर्धी रिपब्लिकन उम्मेदवार जोन मकेनले रेगनका पक्का हिमायती र खाँटी परम्परावादी भएकोले आफूलाई मतदान गर्न आग्रह गरेका थिए । ज्ञातव्य छ, अमेरिकाको रिपब्लिकन पार्टी जो अत्यन्त शक्तिशाली छ त्यसलाई परम्परावादी यथास्थितिवादी र दक्षिणपन्थी शक्तिका रूपमा बुझिन्छ । अमेरिका मात्र होइन ब्रिटेन, अस्टे«लिया, जर्मन, न्युजिल्याण्ड, क्यानडा, नर्वेलगायतका समृद्ध देशको राजनीतिमा ‘कन्जर्भेटिभ’ समुदायको बलियो पकड कायम छ । छिमेकी मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीलाई यथास्थितिवादी दक्षिणपन्थी भन्ने गरिन्छ, भारतमा आफ्नो राष्ट्रवादी भूमिकाले उसलाई शक्तिमान तुल्याएको छ । कथित वामपन्थी प्रगतिशील दाबी गर्नेहरूभन्दा भाजपा नै त्यहाँको शक्तिशाली पार्टी बनेको छ । जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक पार्टीकी एञ्जेला मार्केल सत्तामा छिन् भने अर्को दल क्रिश्चियन सोसल युनियन पनि शक्तिशाली मानिन्छ । ब्रिटेनमा कन्जर्भेटिभ पार्टीको बोलवाला नै छ । अस्टे«लियाको नेसनल पार्टी अफ अस्टे«लिया, न्युजिल्याण्डको सबैभन्दा ठूलो दल नेसनल पार्टी, क्यानडाको कन्जर्भेटिभ पार्टी, नर्वेको प्रोगे्रस पार्टी र क्रिश्चियन डेमोक्रेटिक पार्टी अदिले यथास्थितिवाद र परम्परावादकै पक्षपोषण गर्छन् । ती मुलुकलाई हरतरहले समृद्ध तुल्याउन पनि दक्षिणपन्थी यथास्थितिवादी राजनीतिक दलहरूले सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसैले समृद्ध मुलुकहरूमा परम्परावादी, यथास्थितिवादी या दक्षिणपन्थी बन्नुलाई निकै गौरवपूर्ण मानिन्छ । वामपन्थी कम्युनिष्टहरू विध्वंश र विनाशमा ज्यादा रुचि राख्छन् भने यथास्थितिवादी दक्षिणपन्थीहरू परम्परा र पुराना मौलिक मूल्य, मान्यता एवम् सभ्यता र समृद्धिलाई कायम राख्दै थप उन्नति–प्रगतिका निम्ति क्रियाशील हुन्छन् । नेपाल र यस्तै गरिब मुलुकहरूमा कम्युनिष्ट वामपन्थीहरूको प्रभाव ज्यादा भएकोले जनसाधारण र सामँन्य दिमागका राजनीतिकर्मीहरू अग्रगामी देखिन वामपन्थी बन्ने या तिनको नजिक पुग्ने गरेका हुन् । पुराना मूल्य, मान्यता, सभ्यता, संस्कृति, परम्परा र समृद्धि जोगाउन नखोज्नेले सभ्यता र समृद्धिलाई नयाँ उचाइमा पु¥याउने क्षमता राख्दैनन् भन्ने ज्ञान प्राप्त नभइन्जेल नेपाली समाजमा वामपन्थी कम्युनिष्टहरूको प्रभाव कायम रहने देखिन्छ । तर, हामीले कालान्तरमा आत्मबोध गर्नैपर्ने तीतो यथार्थ के हो भने जबसम्म यो मुलुकमा कम्युनिष्ट वामपन्थीहरूको प्रभाव कायम रहन्छ तबसम्म देशले शान्ति, स्थिरता र समृद्धि प्राप्त गर्नेछैन । विध्वंशमा विश्वास राख्ने शक्तिलाई अघि लगाएर देशले समृद्धि प्राप्त गर्ने आशा राख्नु भनेको बाँदरहरूलाई बालीनाली रक्षा गर्ने जिम्मा दिएर भकारी भर्ने सपना देख्नुजस्तै हो । त्यसैले आउनुहोस् हामी सबै नेपाली नेपाल र नेपालीको एकता जोगाउँदै समृद्ध प्राप्तिको दिशामा अघि बढ्न दक्षिणपन्थी यथास्थितिवादको पवित्र विचारमुनि एकताबद्ध होऊँ र यस मुलुकलाई हरतरहले समृद्ध तुल्याउने मार्गमा आफूलाई समर्पण गरौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको