शोभराजलाई ३८ वर्षपछि अर्को मुद्दा

३० चैत्र २०७०, आईतवार ०६:५४ मा प्रकाशित

काठमाडौं, ३० चैत । अपराध गरेको करिब ३८ वर्षपछि कुख्यात अपराधी चाल्र्स शोभराजविरुद्ध भक्तपुर अदालतमा मुद्दा दायर भएको छ । क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्या अभियोगमा सरकारी वकिलको कार्यालयले भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अमेरिकन नागरिक कोनी ब्रन्चिजको हत्या मुद्दामा विगत १० वर्षदेखि केन्द्रीय कारागारमा रहेका शोभराजविरुद्ध १९ चैतमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुलुकी ऐनको ज्यानसम्बन्धी महलको दफा १३ को उपदाफा ३ अनुसार शोभराजविरुद्ध कर्तव्यज्यान मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरिएको भक्तपुरका जिल्ला न्यायाधिवक्ता भरतमणि रिजालले बताए ।

ज्यानसम्बन्धी महलको सो उपदफामा सर्वस्वसहित जन्मकैदसम्म सजाय हुनसक्ने प्रावधान छ । अदालतले शेभराजलाई केही दिनमै बयानका लागि बोलाउने तयारी गरेको छ ।

६ पुस ०३२ मा क्यानेडेली नागरिक लउरेन्ट करिरेको हत्याको घटनामा शोभराजविरुद्ध मुद्दा दायर भएको थियो । पछि अनुसन्धान गर्ने गरी ०३२ सालमै भक्तपुरको सरकारी वकिल कार्यालयले सो मुद्दा तामेलीमा राखेको थियो ।

शोभराजको कैद अवधि छोटिँदै गएपछि भक्तपुर प्रहरीले गत वर्षबाट मुद्दाको अनुसन्धान पुनस् थालेको थियो । अनुसन्धान पूरा गरी गत महिना जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएकोमा करिब एक महिनाको अध्ययन र छलफलपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

लउरेन्ट करिरेको शव भक्तपुरको साँगानजिकै फेलापरेको थियो । मणिको खानी देखाउन लैजाने भन्दै शोभराजले लउरेन्टको हत्या गरेको उनीमाथि लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’मा उल्लेख छ ।

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज अपराध गरेको वेला प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि ०६० मा नेपाल आउँदा पक्राउ परेका थिए । सोही मुद्दामा उनी अहिले जेलमा छन् ।

पुरानो मुद्दा भए पनि शोभराजविरुद्ध महत्त्वपूर्ण प्रमाणहरू जुटाउन प्रहरी सफल भएको थियो । त्यतिवेला हत्या गरिएका लउरेन्टको कपडाहरू शोभराजको गाडीमा फेलापरेको थियो । जुन कुरा त्यसवेला नै प्रहरीले मुचुल्कामा उल्लेख गरेको थियो । परिस्थितिजन्य प्रमाणहरू पनि प्रशस्त भएको भक्तपुर प्रहरीले जनाएको छ ।

शोभराजकै बयान पनि प्रहरीका लागि बलियो आधार भएको छ । बयानको क्रममा सुरुमा उनले कोनी र लउरेन्ट दुवैलाई आफूले नचिनेको बताएका थिए । पछि उनीहरू प्रेमी–प्रेमिका भएको र एउटै कोठामा बस्ने गरेको उनले बताएका छन् ।

लउरेन्टको शव देख्ने भक्तपुरका दुई व्यक्तिले पनि अनुसन्धानमा सहयोग गरेका छन् । साँगामा फालिएको शव हत्या गरेर फालिएकोजस्तो देखिएको र शोभराजले हत्या गरेर फालेको भन्ने आफूहरूले सुनेको उनीहरूले बताएका छन् ।

त्यतिवेला करिब ४० वर्षका रहेका ती प्रत्यक्षदर्शीहरू अहिले ८० वर्ष पुगिसकेका छन् । अनुसन्धान प्रतिवेदनमा मुद्दालाई सहयोग गर्ने प्रशस्त प्रमाण रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।

सुरुमा प्रहरीले अमेरिकन युवती कोनीको मुद्दामा मात्र अनुसन्धान गरेको थियो । भक्तपुर प्रहरीले भने क्यानेडेली युवकको हत्या मुद्दामा गत वर्षबाट अनुसन्धान थालेको थियो ।

०३२ मा शोभराज थाइल्यान्डमा रहस्यमय ढंगले लगातार सातजनाको हत्या गरी नेपाल आएका थिए । त्यहीवेला उनले ६ पुसमा लउरेन्ट र ८ पुसमा कोनीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खानेकुरामा विषादी प्रयोग गरी बेहोस बनाएर उनले हत्या गरेका थिए ।

हत्यापछि लउरेन्टकै पासपोर्टमा बैंकक पुगेर उनी पुनस् नेपाल फर्किएका थिए । बैंककबाट एक व्यक्तिको पासपोर्ट चोरेर उनी नेपाल आएका थिए । नेपालबाट फेरि बैंकक गई फर्कंदा प्रहरीले अनुसन्धान थालिसकेको थियो । त्यसवेला उनी पक्राउ परे पनि प्रहरीलाई छक्याएर भागेका थिए ।

प्रहरीले अनुसन्धान थालेपछि सोल्टी होटलमा बसेका उनी राति नै त्यहाँबाट भागेका थिए । शोभराजबारे लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’ पुस्तकमा उल्लेख भएअनुसार काठमाडौंका तत्कालीन प्रहरी प्रमुख चन्द्रवीर राईले शोभराजदम्पतीलाई स्वयम्भूमा पक्राउ गरेका थिए ।

आफू आम्र्सटडम युनिभर्सिटीको प्रोफेसर हेनरिकुश बिन्तान्जा भएको भन्दै उनले झुक्याएका थिए । त्यसवेला प्रहरीलाई झुक्याउन सफल भएका शोभराजको कोठामा भोलिपल्ट छापा हान्दा उनी राति नै भारततर्फ भागिसकेका थिए ।

शोभराज केन्द्रीय कारागारको गोलघरमा कैदजीवन बिताउँदै आएका छन् । गोलघर जेलभित्रको पनि जेल हो । जहाँ जेलभित्र गलत गतिविधिमा संलग्न व्यक्तिहरूलाई राख्ने गरिन्छ । नेपालको सर्वोच्च अदालतले समेत जिल्ला अदालतको जन्मकैदको फैसलालाई सदर गरिसकेकाले उनी २० वर्ष जेलमा बस्नुपर्ने हुन्छ ।

शोभराजले करिब आधा सजाय भुक्तान गरिसकेका छन् । नेपालको कानुनमा आधा सजाय भुक्तान गरिसकेका र राम्रो आचरण भएका कैदीहरूलाई बाँकी कैद सजाय मिनाहा गर्न सक्ने प्रावधान छ ।

अर्कोतर्फ ७० वर्ष उमेर पुगेका कैदीहरूको आचरण राम्रो भएमा पनि छुट्न सक्छन् । शोभराज आगामी चैतमा ७० वर्ष पुग्नेछन् । तर, जेलमै रहँदा पनि हत्या–प्रयास, झगडा, मोबाइल प्रयोगलगायतका घटनाले उनको कैद मिनाहा हुने सम्भावना थिएन । जेल अवधि छोटिँदै गएका वेला उनीविरुद्ध भक्तपुरमा अर्को मुद्दा दायर भएको हो ।

तेस्रो मुद्दा
ज्यान मुद्दामा शोभराजविरुद्ध नेपालमा क्यानडाका युवक लाउरेन्ट करिरेको सहित तीन मुद्दा दायर भएका छन् । अमेरिकन युवती कोनी ब्रन्चिजको मुद्दामा उनी अहिले जेलमा छन् ।

तीन वर्षअघि युनुस अन्सारीलाई केन्द्रीय कारागारमै गोली हान्ने भारतीय नागरिक मनमित सिंहलाई सहयोग गरेको घटनामा पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । तेस्रो मुद्दामा भारत र थाइल्यान्डका अधिकारीले समेत नेपाल प्रहरीलाई शोभराजविरुद्ध प्रमाणहरू दिएर सहयोग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा