श्रीमतीसहित सैनिक अपहरण आरोपमा ११ पक्राउ

३० चैत्र २०७०, आईतवार ०६:४७ मा प्रकाशित

काठमाडौं, ३० चैत । बेचिएका युवती उद्धार गर्ने उद्देश्यले खोलिएको एक गैरसरकारी संस्थाका कर्मचारी नै अपहरण तथा ब्ल्याकमेलिङको धन्दामा संलग्न रहेको खुलेको छ । ललितपुरको नख्खिपोटस्थित मिसन एक्सन नेपाल नामक संस्थाका कर्मचारीले एक सैनिकलाई श्रीमती र सासूआमासहित अपहरण गरेर सात लाख रुपैयाँ फिरौतीमा सहमति गरेर मुक्त 

गरेका छन् ।

चेलीबेटी बेचबिखनमा संलग्न भएको आरोप लगाउँदै सेनाका सिपाही सोमबहादुर थिङ, उनकी श्रीमती हरिमाया थिङ र सासूआमा माइली तामाङलाई गत २३ चैतमा जोरपाटीबाट अपहरण गरिएको हो । नख्खिपोटस्थित कार्यालयमै पुर्‍याएर बन्धक बनाई १२ घन्टापछि उनीहरूलाई मध्यराति मुक्त गरिएको थियो । अपहरणमा संलग्न सो संस्थाका पाँच कर्मचारीसहित ११ जनालाई बौद्ध प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका लीलाबहादुर मोक्तान, श्रीकृष्ण सुनार, ललित विक, ओखलढुंगाका तीर्थबहादुर खत्री, प्रेमबहादुर कटुवाल, मकवानपुरका नानीलाल घलान, सिन्धुलीका जीवनकुमार सोना, बलराम श्रेष्ठ, सुनसरीका वैजन्ती राई, मीरा राई र रामेछापकी सुनिता नेपाली छन् । उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

पक्राउ परेकाहरूले आफूहरूबाट उद्धार गरिएकी एक युवतीको बयानका आधारमा सोधपुछका लागि मात्र उनीहरूलाई कार्यालयमा राखिएको दाबी गरेका छन् । तर, कानुन हातमा लिएर अनुसन्धानको नाममा बन्धक बनाउने र पछि फिरौती रकमको डिल भएकाले घटना आपराधिक नै भएको डिएसपी श्यामसिंह चौधरी बताउँछन् ।

सिन्धुपाल्चोक घर भएका थिङको परिवारलाई माकलबारीबाट ट्याक्सी र मोटरसाइकलमा आएका १०–१२ जनाको समूहले अपहरण गरेको थियो । अपहरणपछि सुरुमा उनीहरूले एक करोड मागेको र पछि ५० लाख, २५ लाख हुँदै घटेर सात लाख दिने सहमतिमा राति कार्यालयबाट मुक्त गरिएको पीडितले बताएका छन् ।

बेचबिखनमा परेकी एक युवतीले थिङले नै आफूलाई बिक्री गरेको भन्ने बताएकाले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको अभियुक्तहरूको दाबी छ । तर, प्रहरीले भने मानव बेचबिखनमा छानबिन गर्ने भन्दै उनीहरूले धेरै व्यक्तिबाट फाइदा उठाएको बताएको छ ।

पेस्तोलसहित दुई महिला समातिए

काठमाडौंर पेस्तोल देखाएर लुटपाटको योजना बनाइरहेको अवस्थामा प्रहरीले दुई महिलासहित चारजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोल देखाएर सुन लुट्ने योजना बनाउँदै गरेका दुई महिला र दुई पुरुषलाई प्रहरीले शनिबार बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका धनबहादुर तामाङ, उदयपुरकी प्रमिला कार्की, इलामकी सुनमाया विक र सिन्धुपाल्चोकका नवाङ नुर्वु शेर्पा छन् । सशस्त्र प्रहरी बल र बौद्ध प्रहरीले संयुक्त रुपमा बौद्धस्थित ग्रेर रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकबाट ६० केजी सुन तस्करी भएर आउन लागेको भन्दै सोही सुन लुटेर रातारात लखपती बन्ने योजना बनाइरहेका बेला प्रहरीले उनीहरुलाई मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्ताल र त्यसको नौ वटा गोलीसहित पक्राउ गरेको हो ।

सुन लुट्ने योजना धनबहादुर तामाङले बनाएका थिए । योजनालाई मूर्तरुप दिन पेस्तोल चाहिने भएपछि उनले आफ्नै कर्मचारी प्रमिला कार्कीमार्फत् सुनमाया विक र नवाङ नुर्बुलाई भेटेका थिए ।

नवाङ नुर्वुले डायमण्ड नामक व्यक्तिसँग तीन लाख रुपैयाँमा सो पेस्तोल खरिद गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको विपद् उद्धार उपत्यका गणबाट खटिएको प्रहरीले हतियारको सूचना पाएपछि प्रहरीसँग मिलेर उनीहरलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार