लुटिने भयौं यो बर्षामा पनि

२७ चैत्र २०७०, बिहीबार ०७:४२ मा प्रकाशित

काठमाडौं, २७ चैत । ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मी जोड्न सुनकोसीमा निर्माणाधीन फलामे पुल असारअघि नै पूरा हुनेमा विश्वस्त थिए, पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा र सोलुका बासिन्दा।

एघार वर्षअघि सुरु भएर केही महिनायता कामले गति लिएपछि उनीहरूमा पलाएको आशा सोमबार राति एकाएक सुनकोसीमै बगेको छ, बन्दाबन्दैको पुल भत्किएर।
सडक विभागका प्राविधिकले ‘ठूलो हावाहुरीका कारण पुल भत्किएकोु बताएका छन्। ‘तीव्र हावाको दबाबले नै हो भन्ने लागेको छ,’ हर्कपुर–ओखलढुंगा सडक आयोजना प्रमुख अर्जुन अर्यालले बुधबार भने, ‘पुल बनाउन राखिएका अस्थायी टेका पनि कमजोर र लामो दुरीमा रहेछन्।’

स्थानीयले भने नियोजित रूपमै पुल भत्काइएको आरोप लगाएका छन्। यही शंकाका कारण ओखलढुंगा, मानेभञ्ज्याङका सर्वसाधारणले बुधबार सडक बन्द गराए।
स्थानीय दीपक राईका अनुसार जिल्ला प्रशासन कार्यालयलाई १ सय ४ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै पुल भत्किनुको कारण पत्ता लगाउन र जेठ मसान्तभित्र काम सक्न माग गरिएको छ।

स्थानीयले जेठ मसान्तलाई नै लक्षित गर्नुको कारण आउँदो बर्खा हो। जेठसम्म पुल नबने खोला तार्ने नाममा हुने गुन्डागर्दी र बजारमा व्यापारीको मनोमानी यस वर्ष पनि दोहोरिने देखेर उनीहरू त्रस्त छन्।

सुनकोसी किनाराका घुर्मी, हर्कपुर र दूधकोसी किनाराको जयरामघाटका केही व्यवसायीले पहिल्यैदेखि पुल बनाउन व्यवधान पुर्‍याउँदै आएको पृष्ठभूमिसँग यहाँका बासिन्दा परिचित छन्। उनीहरूका अनुसार यही अवरोधका कारण सुनकोसी पुल ११ वर्षपछि बल्लतल्ल सकिने अवस्थामा पुगेको थियो। दुई वर्षअघि जयरामघाटमा निर्माण सुरु भएको दूधकोसी पुलको काम पनि करिब ३० प्रतिशतमात्र सकिएको छ। २०६९ असारमा दूधकोसीको फेरी र त्यसअघि सुनकोसीको फेरी बग्नुले पनि स्थानीयको शंकामा बल पुर्‍याएको हो। फेरी बाँधेका फलामे लठ्ठा नियोजित किसिमले काटेर नदीमा बगाइएको उनीहरूको भनाइ छ।

‘फलामे लठ्ठा कसरी चुँडियोरुु जयरामघाटका एक स्थानीयले भने, ‘यहाँ पुल नबनोस् र व्यवसाय फस्टाओस् भनेर लागिपर्नेहरू प्रशस्तै छन्।’
ओलखढुंगाका सभासद रामहरि खतिवडा घुर्मीबाट मात्र वार्षिक ७ अर्बको कारोबार हुने गरेको बताउँछन्। ‘पुल बनेपछि व्यापार सुक्छ भन्ने चिन्ता होला, उनीहरूले बन्न नदिन भूमिका खेलेका हुनसक्छन्,’ उनले भने।

सोलु, ओखलढुंगा र खोटाङबासी माथिल्लो सगरमाथा सडक, हर्कपुर–हलेसी र मध्यपहाडी राजमार्गको सञ्जालमा परे पनि पुल अभावमा सोझो यातायात चल्दैन। सरकारले सुरुका केही वर्ष हिउँदमा फेरी राखेर खोला वारपार गराउने बन्दोबस्त गरेको थियो। तीन वर्षयता बेलिब्रिज राखेर अस्थायी काम चलाइएको छ। विगतको अनुभव हेर्दा जेठ दोस्रो सातासम्म दुवै नदीका बेलिब्रिज निकालिन्छ। त्यसपछि सुरु हुन्छ, व्यवसायीको मनोमानी र गुन्डागर्दी।

‘आफ्नो सामान आफैं बोक्छु भन्न पाइँदैन,’ सोलुका स्थानीय पुष्प भट्टराईले अघिल्लो वर्षको अनुभव सुनाउँदै भने, ‘भरियाका नाममा स्थानीय मुन्द्रेहरूको जगजगी चल्छ।’
‘कोसी गर्जिएको हुन्छ, त्यही बेला मुन्द्रेहरूको दिन खुल्छ,’ खोटाङ अर्खोलेका भेषराम रिजाल सही थाप्छन्, ‘पुल बनेपछि छुट्कारा पाइएला भन्ने लागेको थियो, फेरि लुटिने भइयो।’

उनीहरूका अनुसार वरको सामान पर सार्दा ३ सयदेखि ७ सय रुपैयाँसम्म तिर्नुपर्छ। यातायात साधनमा पनि चर्को भाडा लाग्छ। बेलिब्रिज निकाल्नुअघि नै यातायात व्यवसायीले आपसी मिलेमतोमा कोसी वारि–पारि गाडी राखेर भाडा तय गर्ने भुक्तभोगी बताउँछन्। ‘ठाउँ–ठाउँमा गाडी फेर्नुपर्छ, गाडीवालाले भनेअनुसार भाडा तिर्नुपर्छ,’ सोलुका राजन कार्कीले भने।

यात्रुले नाइँनास्ती गर्दा कुटाइ खाने अवस्थासमेत आउने स्थानीयको अनुभव छ। ‘पैसाको खोलो बग्छ, दादागिरी गर्नेको दिन आउँछ,’ हलेसीका एक प्रहरीले भने, ‘हामी निरीहजस्तै हुन्छौं।’

सुनकोसी पुल हुँदा र नहुँदा उपभोग्य सामानमा प्रतिकेजी ८ रुपैयाँका दरले मूल्य घटबढ हुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजु बताउँछन्। ‘व्यवसायीले त परेको मूल्य जोडेर सामान बिक्री गरिहाल्छन्,’ उनले भने, ‘मर्का पर्ने उपभोक्तालाई हो।’

यातायात व्यवसायीका अनुसार हर्कपुरबाट दैनिक १ सय ५० वटा मालबाहक गाडी र डेढ सयदेखि २ सय हाराहारी यात्रुबाहक जिप वारपार गर्ने गरेका छन्। वाइबा भैरव कन्स्ट्रक्सनले १४ करोड रुपैयाँमा ठेक्का लिएको पुल समयमा नबन्दाको असर ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक विकासमा परिरहेको छ। उक्त कन्स्ट्रक्सनले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ मा पुल निर्माणको जिम्मा लिएको हो। गत मंसिरमा पनि सुनकोसीको अस्थायी बेलिब्रिज निर्माणकै चरणमा भाँच्चिएको थियो।

पुल बन्नु–नबन्नु र बेलिब्रिज झिकिनु–राखिनुको प्रत्यक्ष लाभहानि उदयपुरको सानो बजार घुर्मीले बेहोर्छ। पहाडी जिल्ला कटारी र निर्माणाधीन मध्यपहाडी राजमार्गको केन्द्र बनेको घुर्मीमा छाप्रेपसलहरूको बाहुल्य छ। सडक विस्तारसँगै नयाँ–नयाँ बजार खुले पनि बेलिब्रिजको विकल्प बन्द हुँदा बर्खामा घुर्मी नै गुल्जार हुने गर्छ। यस वर्ष सुनकोसीमा पुल बनेको भए घुर्मीको व्यापार सिथिल हुँदै जान्थ्यो।

यही व्यापारिक स्वार्थकै कारण पुल बन्न ढिलाइ भइरहेको र बेलिब्रिजमा अवरोध आउने गरेको स्थानीयको आरोप छ।
मध्यपहाडी राजमार्गको निर्माण सुरु भएको पाँच वर्षमा पनि घुर्मीको ट्र्याकसम्म खुलेको छैन। घुर्मी–खुर्कोटको करिब ६० किलोमिटर मध्यपहाडी राजमार्गमध्ये घुर्मी खण्डको करिब १ किलोमिटरबाहेक सडक चौडा भएको छ।

कहिले बन्छ पुल ?
भत्किएको पुलको काम १०–१५ दिन पर धकेलिएको हर्कपुर–ओखलढुंगा सडक आयोजना प्रमुख अर्जुन अर्याल बताउँछन्। उनका अनुसार वैशाख १० सम्म फलामको काम सक्ने र असारसम्म गाडी चलाउनसक्ने काम भइरहेको थियो।

सोमबारको क्षतिपछि यसै आर्थिक वर्ष यातायात सञ्चालन हुनेमा भने अर्याल शंका व्यक्त गर्छन्। ‘फलामको काम त सकिन्छ तर बर्खाको समयमा बाँकी काम सक्न कति सम्भव हुन्छ, हेरौं,’ उनले भने।

वाइबा कन्स्ट्रक्सनका इन्जिनियर टासी लामाले भने असार मसान्तभित्र पुलमा गाडी गुडाउने लक्ष्य पछाडि धकेलिएको बताए। क्षति र टुटफुटबारे बृहत अध्ययनपछि निर्माण कार्य थाल्ने जानकारी दिँदै उनले भने, ‘सामान खोल्न, उठाउन र मर्मत गर्ने कामले पुल पूरा हुने मिति ६ महिना पछि सर्‍यो।’

सुनकोसी नदीको पुल करिब १ सय ७० मिटर लामो छ। बीचमा पिलर राखेर दुई भागमा बाँडिएको छ। सोमबार हर्कपुरतर्फको ८५ मिटर खण्ड भत्किएको हो। लामाका अनुसार पुलको ८५ प्रतिशत काम सकिएको छ। उनले २ सय २५ टन स्टिल भत्किएर नदीको किनारमा थुप्रिएको बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भने व्यवस्थापिका संसदको बुधबारको बैठकमा ‘सरकार कुनै हालतमा यसै आर्थिक वर्ष पुल सञ्चालनमा ल्याउन प्रतिबद्ध रहेकोु बताएका छन्।

यसबीच खोटाङका सभासद पिके राई, सडक विभागका इन्जिनियर अर्जुन अर्याल, इन्जिनियर रमेश पौडेल, वाइबा कन्स्ट्रक्सनका ठेकेदार कृष्ण लामा, हुलास स्टिल इन्डस्ट्रिजका इन्जिनियर उद्धव रानामगरलगायतको टोलीले बुधबार भत्किएको पुल निरीक्षण गर्‍यो। सडक विभागका इन्जिनियर अर्जुन थापा संयोजकत्वको प्राविधिक छानबिन समिति पनि बुधबारै हर्कपुर पुगेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले