‘राष्ट्रपतिबाट कांग्रेसलाई अन्तर्घात’

२५ चैत्र २०७०, मंगलवार ०७:०३ मा प्रकाशित

काठमाडौं, २५ चैत । देशका राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा निर्वाचनमा कसैलाई हराउन र कसैलाई जिताउन पदको दुरुपयोग गरेको आरोप लागेको छ । आरोप राष्ट्रपतिको मातृपार्टी कांग्रेसकै क्षेत्रीय समितिले लगाएको छ र उजुरी केन्द्रीय कार्यालयमा पठाएको छ ।

निर्वाचनमा धनुषा ४ का कांग्रेस उम्मेदवार रामसरोज यादवलाई हराउन राष्ट्रपति डा.यादव प्रत्यक्ष संलग्न भएको भन्दै क्षेत्रीय कार्यसमितिले उजुरी गरेको छ । कार्यसमितिले पार्टी उम्मेदवारलाई हराउन जिल्लाका केही नेतालाई राष्ट्रपति यादवले निर्देशन दिएको आरोप लागेको छ ।

राष्ट्रपतिलाई भेटेर गएपछि कांग्रेस धनुषाका नेता वृजलाल महासेठ, महेन्द्र महतो, रामहृदय मण्डलले कांग्रेस उम्मेदवारलाई असहयोग गरेको धनुषा ४ का क्षेत्रीय सभापति हरिशंकर साहले बताए । ‘उहाँहरू तीनजनाले राष्ट्रपतिलाई भेटेर आएपछि हामीले चुनावमा सहयोग पाएनौँ,’ साहले नयाँ पत्रिकासँग भने, ‘आफ्नै उम्मेदवारलाई हराउन राष्ट्रपतिको पनि भूमिका भएकोले केन्द्रीय कार्यालयमा उजुरी गरेका छौँ ।’

कांग्रेस उम्मेदवार रामसरोज यादवले पनि सद्भावनाका सञ्जयकुमार साहको पक्षमा लाग्न पार्टीका नेता–कार्यकर्तालाई राष्ट्रपतिले नै निर्देशन दिएको दाबी गरे । ‘कुर्था गाविसका तीनजनालाई राष्ट्रपतिनिवासमा बोलाई उहाँले निर्देशन दिनुभएको हो,’ यादवले भने, ‘सञ्जय साहलाई जिताउन उहाँ (राष्ट्रपति) र लीला कोइराला पनि लाग्नुभयो ।’ जनकपुर बमकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले वारेन्ट जारी गरेपछि विजयी साह अहिले फरार छन् ।

धनुषा ४ का क्षेत्रीय सभापति साहले क्षेत्रीय समितिले फ्याक्समार्फत उजुरी केन्द्रीय कार्यालयमा पठाएको बताए । तर, अनुशासन समितिका संयोजक आमोदप्रसाद उपाध्यायले भने राष्ट्रपतिविरुद्ध उजुरी आएको अस्वीकार गरे । ‘पार्टीमा यस विषयमा उजुरी परेको थाहा छैन । मैले पनि हल्ला सुनेको हुँ,’ उपाध्यायले भने, ‘उहाँले कांग्रेस छाडिसक्नुभएको छ । उहाँलाई आरोपित गर्न खोज्नु गैरजिम्मेवारपना हो ।’

त्यसअघि क्षेत्र नं. ५ मा पनि राष्ट्रपतिको दबाबमा उनका छोरा डा. चन्द्रमोहन यादवले टिकट खोसेको आरोप छ । सो क्षेत्रबाट चन्द्रमोहनको नाम सिफारिस नै भएको थिएन । सिफारिसमा नपरेपछि उता छोराले पार्टी कार्यालय घेराउ गरे भने यता राष्ट्रपतिले प्रभाव प्रयोग गरेर टिकट दिलाइछाडे भन्ने कांग्रेस कार्यकर्ताहरुकै गुनासो छ ।

एमाले उम्मेदवारलाई हराउन राष्ट्रपतिको हात

संविधानसभा निर्वाचनमा धाँधलीमा राष्ट्रपति डा. रामवरण यादव संलग्न भएको आरोप एमालेसहित अन्य दलका उम्मेदवारले पनि लगाएका छन् । धनुषा ५ मा चुनाव लडेका आफ्नै छोरा चन्द्रमोहनलाई जिताउन राष्ट्रपति सक्रिय भएको आरोप एमाले उम्मेदवार रघुवीर महासेठसहितले लगाएका थिए ।

धनुषा ५ मा एमालेका महासेठसहित स्वतन्त्र उम्मेदवारहरू सञ्जयकुमार मिश्र, शम्भु यादव, गंगा मुखिया, गगनदेव ठाकुर, चन्द्रकिशोर साह र विश्वनाथ यादव चुनावी मैदानमा थिए । १६ मंसिरमा काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले धनुषा ५ को चुनाव रद्दको माग गरेका थिए ।

राष्ट्रपति नै धाँधलीमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै उनीहरूले नैतिकताका आधारमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरेका थिए । ०६४ को निर्वाचनमा राष्ट्रपति यादव यही क्षेत्रबाट विजयी भएका थिए । तर, राष्ट्रपतिले छोडेपछि भएको उपनिर्वाचनमा महासेठले जितेका थिए । तर, यसपालिको निर्वाचनमा राष्ट्रपतिपुत्र चन्द्रमोहन विजयी भएका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारमा समेत सिफारिस नगरेपछि उनले दलबलसहितका आफ्ना मान्छेलाई कांग्रेस कार्यालय घेराउ गराउनसमेत लगाएका थिए ।

राष्ट्रपतिका अर्का छोरा शेखर र छोरी अनिता यादवले सुरक्षाकर्मीको समेत साथ लिई बुथ कब्जा गरेको आरोप महासेठसहितका उम्मेदवारको थियो । सुरक्षा निकाय र कर्मचारीको साथ लिँदै रूख चिह्नमा छाप लगाएर मतपेटिका परिवर्तन गरेको आरोपसमेत उनीहरूले लगाएका थिए । धाँधलीमा राष्ट्रपतिनिवासबाट सादा पोसाकमा गएका सेना र सशस्त्र प्रहरीसमेत प्रयोग भएको दाबी उनीहरूको थियो ।

‘धनुषा निर्वाचन क्षेत्र ५ मा चुनाव भएकै होइन । राष्ट्रपतिको प्रत्यक्ष संलग्नतामा उनका छोरालाई जिताइएको हो,’ महासेठले पत्रकार सम्मेलनमा भनेका थिए, ‘त्यसैले त्यस क्षेत्रको चुनाव रद्द गरी पुनस् मतदान गर्नुपर्छ ।’

धाँधलीको छानबिन गर्न राष्ट्रपति कार्यालयको कलडिटेलको छानबिन गर्नुपर्ने मागसमेत महासेठको थियो । ‘विश्वास लाग्दैन भने कलडिटेल हेरौँ, शीतलनिवास, सुरक्षाकर्मी र धनुषाका प्रशासन निकायका व्यक्तिहरूबीच के–के कुराकानी भएको रहेछ, सबै थाहा हुन्छ,’ उनले भनेका थिए, ‘छोरालाई जिताउन धाँधलीमा संलग्न भइसकेपछि नैतिकताका आधारमा पनि उनले (राष्ट्रपतिले) राजीनामा दिनुपर्छ ।’ तर, राष्ट्रपति कार्यालयका अधिकारीहरूले चुनाव हारेपछि लगाइएको आरोपमा कुनै सत्यता नभएको बताएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार