मन्त्रीको मोबाइलमा सूचनाको ओइरो

२५ चैत्र २०७०, मंगलवार ०६:४९ मा प्रकाशित

काठमाडौं, २५ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशको स्थायी बसोबास अनुमति (पिआर) र डिभी लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने बताएपछि उनलाई सूचनाको ओइरो लागेको छ । मन्त्री पण्डितलाई अज्ञात व्यक्तिहरूबाट मोबाइलमा एसएमएस र रजिस्ट्री पत्रमार्फत सूचना प्राप्त हुन थालेको छ ।

राष्ट्रियताप्रति ओतप्रोत भएका नेपालीले आफ्नो मोबाइलमा लगातार एसएमएस गरेर पिआर र डिभी लिएका कर्मचारीका विषयमा जानकारी दिएको मन्त्री पण्डितले बताए । मन्त्री पण्डितले आफ्नो मोबाइल देखाउँदै भने, ‘केही दिनदेखि मेरो यो मोबाइलमा पिआर र डिभी लिएका कर्मचारीको नाम लेखेर लगातार एसएमएस आइरहेको छ ।’ दैनिक दर्जनभन्दा बढी एसएमएस आउने गरेको उनको भनाइ छ ।

मन्त्री पण्डितले रजिस्ट्री पत्रमार्फत पनि धेरै नाम प्राप्त भइरहेको जानकारी दिए । सर्वसाधारण नागरिकले पनि आफ्नो अभियानमा ठूलो चासो दिँदै सहयोग गरिरहेको उनले बताए । ‘सबैबाट सहयोग पाएको छु, त्यसैले सफल हुनेमा दृढ छु,’ उनले भने । एसएमएस र रजिस्ट्री पत्रमार्फत आएका नामलाई रुजु गरेर ‘भेरिफाई’ गर्ने काम भइरहेको उनको भनाइ छ ।

पण्डितको निजी र स्वकीय सचिवालयमा पनि पत्रहरू आइरहेका छन् । उनका स्वकीय सचिव ओसिम आलमले भने, ‘दैनिक आठदेखि १० वटासम्म पत्र हुलाकमार्फत आउने गरेका छन् ।’

मन्त्री पण्डितले पिआर र डिभी लिएका कर्मचारीलाई कारबाही गर्न निजामती सेवा ऐनको चौथो संशोधन गर्ने गृहकार्यलाई पनि तीव्रता दिएका छन् । ऐन संशोधनको विषयमा उनले सोमबार मुख्यसचिव लीलामणि पौड्यालसँग छलफल गरेका छन् ।

विदेशको स्थायी बसोबासको अनुमति लिने कर्मचारीलाई कारबाही गर्ने बताएपछि सुरुमा विभिन्न पक्षबाट अवरोध र दबाब आए पनि पछिल्ला दिनमा भने कसैले दबाब दिन नसकेको मन्त्री पण्डितले बताए । उनले भने, ‘कसैको अनुचित दबाबबाट म झुक्ने मान्छे पनि होइन । थाहा पाए होलान् त्यसैले फोन गर्न छोडे ।’ राम्रो काम गर्दा आउने दबाब सामना गर्न आफू तयार रहेको उनको भनाइ छ ।

सरुवा माग्न मन्त्रालय धाउने घटे


सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नियमअनुसार मात्रै कर्मचारी सरुवा गर्ने र नियमविपरीत भए कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । उनको प्रतिबद्धतापछि सरुवा माग्दै आउनेहरूको संख्या घटेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार सरुवाका लागि धाउने विभिन्न कर्मचारीसम्बद्ध ट्रेड युनियनका पदाधिकारीको मन्त्रालय आउने क्रम पनि न्यून भएको छ ।

पहिले घुमाउरो बाटोबाट सरुवाको फाइल अगाडि बढाउनेहरू अहिले आउन नसकेको पण्डितका स्वकीय सचिवालयको दाबी छ । ‘यसअघि यहाँ सेटिङ मिलाएर सरुवा हुने गरेको रहेछ,’ पण्डितको स्वकीय सचिव आलमले भने, ‘मन्त्रीज्यूले कसैले कुनै प्रकारको सेटिङ गरेको पाइए कारबाही गर्ने चेतावनी दिनुभएकाले कसैले त्यस्तो हिम्मत गर्ने अवस्था छैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले