बढुवा हुन मात्रै आउँछन् प्राध्यापक

२५ चैत्र २०७०, मंगलवार ०६:३९ मा प्रकाशित


काठमाडौं, २५ चैत । त्रिभुवन विश्वविद्यालयका थुप्रै स्थायी शिक्षक विभिन्न देशको स्थायी बसोबास अनुमति ९पिआर० र डिभीवाला भएको पाइएको छ । केही प्राध्यापक पिआर तथा डिभी लिएर विदेशमै बस्ने र बढुवाका लागि मात्र नेपाल आउने गरेका छन् ।

त्रिविले बढुवाका लागि विज्ञापन खुलाएपछि केही प्राध्यापक नेपाल फर्किएका छन् । विगतमा पनि विज्ञापन गरेपछि नेपाल फर्कने प्राध्यापकले अहिले पनि सोही प्रवृत्ति दोहोर्‍याएका हुन् ।

यसका उदाहरण बनेका छन्– त्रिविको आंगिक क्याम्पस पाटन संयुक्त क्याम्पसका शिक्षक राजन पोखरेल । उनी क्यानडाका पिआरवाला हुन् । पहिले रिडर हुँदा विज्ञापन खुलेपछि नेपाल आएका उनी अहिले प्राध्यापकको विज्ञापन खुलेपछि फेरि नेपाल आएको स्रोतको भनाइ छ ।

पाटन संयुक्त क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक प्रतापसिंह विष्ट पनि पिआरवाला हुन् । कम्प्युटर साइन्स केन्द्रीय विभागका उपप्राध्यापक मीनबहादुर खाती क्यानडाका पिआर हुन् । उनी बेतलबी बिदा मिलाएर गत असारमा क्यानडा पुगेका छन् ।

महेन्द्ररत्न क्याम्पस ताहाचलका एजुकेसन साइन्स विषयका उपप्राध्यापक ढाकाराम अधिकारी क्यानडाका पिआरवाला हुन् । उनी अहिले विदेशमै छन् । महेन्द्ररत्न क्याम्पसका भूगोल शिक्षाका खड्ग राई युकेका पिआर हुन् ।

यस्ता धेरै शिक्षक तथा कर्मचारी त्रिविको पद ओगटेर बसेका छन् । नयाँ प्रवेश गर्न चाहना भएका युवा जनशक्तिलाई समेत डिभी र पिआरवालाले प्रभाव पारिरहेको त्रिविकै अधिकारीको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस्ता प्राध्यापकको खोजी गरिरहेको छ ।

स्थायी मात्र होइन, करारमा त्रिविमा जागिर खाइरहेका पनि धेरै पिआरवाला छन् । शंकरदेव क्याम्पसका शिक्षण सहायकमा करारमा नियुक्त रवीन्द्र भट्टराई पनि क्यानडाका पिआरवाला हुन् । उनी केही समयअघि क्यानडा गएर फर्किएका छन् ।

त्रिविका रजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलले पिआर तथा डिभीका विषयमा राज्यले लिने नीति त्रिविले समेत अवलम्बन गर्ने बताए । पिआर र डिभी लिएका शिक्षकबारे अहिलेसम्म खोजी नभएको र त्यस्तो विवरण आएमा त्रिविले समेत कारबाही गर्ने पौडेलले बताए ।

त्रिविले दिएको सेवा सुविधाभन्दा बढी बिदा बस्ने शिक्षकलाई कारबाही हुने गरेको भए पनि डिभी तथा पिआरवाला के हुने भन्ने जानकारी नभएको उनको भनाइ छ । पौडेलले भने, ‘हामी आएपछि साढे दुई सय प्राध्यापकलाई कारबाही गरेका छौँ ।’

त्रिवि स्रोतका अनुसार विभिन्न देशमा पिआर र डिभी परेका कर्मचारी उतै गायब भएकाले तीनपटकसम्म सूचना निकाल्दा पनि नभएपछि कारबाहीमा परेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा