श्रीलंका टी–२० को नयाँ च्याम्पियन

२४ चैत्र २०७०, सोमबार ०७:३७ मा प्रकाशित

एजेन्सी

मिरपुर, २४ चैत । श्रीलंकाले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मिरपुरको सेर बंगला रंगशालामा आइतबार श्रीलंकाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप उपाधि उचालेको हो ।

आइसिसी टी–२० विश्वकपको पाँचौँ संस्करणमा पाँचै नयाँ विजेताको उदय भएको छ । यसअघि भारत, पाकिस्तान, इंग्ल्यान्ड र वेस्टइन्डिज च्याम्पियन भएका थिए ।

उपाधिसँगै श्रीलंकाले ५० ओभर र टी–२० विश्वकपको फाइनलमा बेहोरिरहेको अनलक्की ट्याग मेटाएको छ । पछिल्लो समय श्रीलंकाली टोलीलाई क्रिकेट इतिहासमा अनलक्की भनिन्थ्यो । पछिल्लो सात वर्षमा श्रीलंका चार विश्वकप फाइनल पुग्दा उपविजेतामै सीमित भएको थियो ।

सन् २००७ र २०११ को ५० ओभरको एकदिवसीय विश्वकप फाइनल श्रीलंकाले गुमाएको थियो । यसैगरी आइसिसी टी–२० मा दुईपटक फाइनल पनि गुमायो । सन् २००९ मा पाकिस्तान र २०१२ को फाइनलमा श्रीलंका वेस्टइन्डिजसँग पराजित भएको थियो । तर, तेस्रोपटक टी–२० विश्वकपको फाइनलमा भने श्रीलंकाले पुरानो इतिहास दोहोर्‍याउन दिएन । सन् २००७ पछि फाइनल पुगेको भारतले पहिलो ब्याटिङ गर्दै २० ओभरमा १३० रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा श्रीलंकाले १७।५ ओभरमा लक्ष्य पूरा गर्‍यो । प्रतियोगिताको फाइनलका म्यान अफ द म्याच श्रीलंकाका कुमार सांगाकारा र म्याद अफ दी सिरिज भारतका विराट कोहली घोषित भए ।

विश्वकपको उपाधिसँगै श्रीलंकाले आफ्नो भेट्र्रान्स ब्याट्सम्यानद्वय महेला जयवद्र्धने र सांगाकाराको भव्य बिदाइ गरेको छ । विश्वकप उपाधिसँगै जयवद्र्धनले र सांगाकाराले आफ्नो लामो क्रिकेट करियरलाई अविस्मरणीय बनाएका छन् । दुवै ब्याट्सम्यानले प्रतियोगिता सुरु हुनुअघि नै सन्न्यासको घोषणा गरेका थिए ।

श्रीलंकालाई उपाधि दिलाउने क्रममा पूर्वकप्तान सांगाकाराले संयमित हुँदै ५२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । सांगाकाराले थिसरा परेरा ९२३० सँग चौथो विकेटका लागि ५।२ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । रविचन्द्रन आश्विनको व्यक्तिगत चौथो तथा इनिङकै १७औँ ओभरमा सांगाकाराले श्रीलंकालाई उपाधि पक्का गराए । सांगाकाराले आश्विनको सो ओभरको पहिलो र दोस्रो बलमा चौका प्रहार गरे ।

दोस्रो चौका प्रहार गरेलगत्तै सांगाकाराले आफ्नो ५० रन पनि पूरा गरेका थिए । त्यसपछि आश्विनको पाँचौँ बलमा परेराले स्ट्रेट डाइभ लगाउँदै विजयी रन बटुले । परेराको चौकासँगै श्रीलंकाली टोलीले सेर बंगलामा जितको खुसियाली मनाए । श्रीलंकाली खेलाडीले सांगाकारा र जयवद्र्धनेलाई विश्व च्याम्पियनको बधाई दिँदै बिदाइ गरे ।

सांगाकाराले ३५ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । परेराले १४ बलमा दुई छक्का र एक चौका ठोके । यसअघि श्रीलंका जयवद्र्धनको विकेट गुमाउँदा ६५–३ को अवस्थामा थियो । जयवद्र्धनले २४ बलमा चार चौकाको सहयोगमा २४ रन बटुले । भारतका लागि बलिङमा मोहित शर्मा, आश्विन, अमित मिश्रा तथा सुरेश रैनाले समान एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको भारतको सुरुवात कमजोर रह्यो । रोहित शर्मा ९२९० र अजिन्के रहने ९३० ले पहिलो विकेटका लागि चार रन मात्र जोडे । त्यसपछि रोहित र विराट कोहली ९७७० ले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै भारतलाई १०।३ ओभरमा ६४–२ को स्थितिमा पुर्‍याए । रंगना हेराथको ओभरमा आउट हुनुअघि रोहितले २६ बलमा तीन चौका प्रहार गरे ।

रोहितपछि क्रिजमा आएका युवराज सिंहले गतिलो ब्याटिङ गर्न सकेनन् । नर्भस देखिएका युवराजले विराटसँग तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । युवराजले २१ बलमा ११ रन बटुले । भारतीय ब्याटिङलाई महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विराट इनिङको अन्तिम बलमा रन आउट भए ।

उनले ५८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । श्रीलंकाली बलरले अन्तिम चार ओभरमा कसिलो बलिङ गर्दै १९ रनमा दिएका थिए । कप्तान लथिस मालिंगाले डेथ ओभरमा योकर फ्याँकेर भारतीय ब्याट्सम्यानलाई रन लिनबाट रोकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार