बी डिभिजनका क्लब एन्फासँग रुष्ट

२१ चैत्र २०७०, शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं, २१ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले विभेद गरेको भन्दै सहिद स्मारक बी डिभिजनका क्लब रुष्ट बनेका छन् । जारी लिगमा एन्फाले आफूहरूमाथि एकपछि अर्को विभेदपूर्ण र एकतर्फी निर्णय लादेको भन्दै सहभागी क्लबले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतियोगिता सुरु हुनुपूर्व एन्फाले दिने तयारी खर्च बढाउन क्लबहरूले माग गरेका थिए । एन्फाले प्रतियोगिता तयारीका लागि क्लबहरूलाई एक लाख ५० हजार मात्रै दिन्छ । त्यो पनि दुई किस्तामा आधा पैसा प्रतियोगिता सकिएपछि मात्रै दिने गर्छ ।

त्यसैले क्लबहरूले एन्फासँग तयारी खर्च बढाउन माग गरेका थिए । जसलाई एन्फाले अस्वीकार गरेको छ ।

कमजोर आर्थिक अवस्था देखाउँदै दुई क्लब स्वयम्भू र युनाइटेडले यो सिजन बी डिभिजन लिग नखेल्ने निर्णय गरे । त्यसैले यसअघिकै नियमअनुसार तीन टोली रेलिगेसनमा पर्ने भएकाले अब एक टोलीमात्रै रेलिगेसनमा झार्नुपर्ने बीका क्लबहरूको माग थियो । क्लबहरूले नखेलेका दुईसहित खेलेको एउटालाई मात्र रेलिगेसनमा पारी जम्मा तीनवटाको संख्या पुर्‍याउन माग गरेका थिए । तर, एन्फाले खेलेका दुईवटा टिमलाई पनि रेलिगेसनमा पार्ने निर्णय गरेको छ ।

एन्फाले गत फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले आर्थिक कारण देखाउँदै फुटबल नखेल्ने निर्णय गर्दा उसलाई बाहेक दुई टोलीलाई मात्रै ‘बी’मा झार्ने निर्णय गर्‍यो । त्यही नियमअनुसार लिगमा सबैभन्दा पुछारमा रहेका रानीपोखरी कर्नर टिम आरसिटी र ब्वाइज युनिएन रेलिगेसनमा परे ।

बी डिभिजनका क्लबले पनि यही नजिरका आधारमा एक टोलीलाई मात्रै सी डिभिजनमा झार्नुपर्ने माग गरेका हुन् । तर, एन्फाले नयाँ नियम प्रतिपादन गर्दै यसपटक ‘बी’बाट प्रतियोगिता त्यागेका दुई टोलीसहित थप अर्को दुई टोलीलाई पनि सी डिभिजनमा झार्ने निर्णय गर्‍यो ।

आफ्ना दुवै मागलाई बेवास्ता गर्दै एन्फाले प्रतियोगिता अघि बढाउने निर्णय लिएपछि क्लबहरू असन्तुष्टिबीच प्रतियोगिता खेल्न राजी भए । तर, एन्फाले हालै एक महिनामा सक्ने योजना बनाएको प्रतियोगिता थप ११ दिन लम्ब्याएपछि टोलीहरू थप रुष्ट बनेका छन् । क्लबहरूले आर्थिक भार बढेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् ।

आयोजक एन्फाले पानी परेको, रंगशालामा अन्य कार्यक्रम परेको तथा आफ्नै नियमित कार्यक्रमले गर्दा प्रतियोगिता थप लम्ब्याउनुपरेको जनाएको छ । तर, एन्फाको पछिल्लो निर्णयप्रति अहिले प्रतिस्पर्धा गरिरहेका १३ मध्ये प्रायस् सबै क्लब असन्तुष्ट छन् । त्यसमध्ये सामाजिक युवा क्लब थप बढी असन्तुष्ट देखिएको छ ।

सामाजिक क्लब प्रतियोगिता नै त्याग्नेसम्मको मनस्थितिमा पुगेको छ । त्यसका लागि उसले क्लबको आकस्मिक बैठकसमेत बोलाएको जनाएको छ । ‘हामीले दुई दिनअघि नै आकस्मिक बैठक बोलाएका थियौँ । तर, आकस्मिक भएकाले केही साथी आउन सक्नुभएन,’ सामाजिकका अध्यक्ष सुशील सुवेदीले भने, ‘साथीहरू सहमत भए हामी कुनै पनि वेला फुटबल त्याग्न सक्नेछौँ ।’ अध्यक्ष सुवेदीले एन्फाको हैकमवादी शैलीले क्लबहरूमाथि आर्थिक भार बढेको र क्लबले त्यसलाई धान्न नसक्ने अवस्थामा पुगेको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार