छात्रवृत्तिमा चीन जान अस्वीकार गर्दै डाक्टरहरूको राजीनामा

२० चैत्र २०७०, बिहीबार ०६:४८ मा प्रकाशित


काठमाडौं, २० चैत । सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा एमडी डक्टर अफ मेडिसिन अध्ययनका लागि उत्कृष्ट सूचीमा परेका डाक्टरले चीन जान अस्वीकार गरेका छन् । चीनमा पढेको डाक्टरलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै बहालवाला डाक्टरले सरकारी सुविधामा समेत एमडी पढ्न जान अस्वीकार गरेका हुन् ।

शिक्षा मन्त्रालयले परीक्षा लिएर मेरिट लिस्टका आधारमा एमडी अध्ययनका लागि चीन पठाउन खोज्दा १० भन्दा बढी डाक्टरले राजीनामा दिएका छन् । सूचीको अग्रपंक्तिमा नाम निकालेका डाक्टर जान नमानेपछि मन्त्रालयले वैकल्पिक सूचीबाट नाम सिफारिस गरेको छ ।

शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाले उत्कृष्टताका आधारमा छात्रवृत्ति सुविधामा उच्च अध्ययनका लागि विदेश पठाउने गर्दछ । विज्ञ बन्न अरू देश जान तथा स्वदेशमै पढ्न प्रतिस्पर्धा गर्ने डाक्टरहरू चीन जान भने अनिच्छुक देखिएका छन् । छात्रवृत्तिमा पढ्न नपाउने डाक्टरले आफ्नै पैसामा स्वदेश वा विदेशमा गएर एमडी अध्ययन गर्ने गरेका छन् ।

छात्रवृत्ति शाखा प्रमुख वसन्त कोइरालाले एमडीका लागि चीन पठाउन निकै कठिन भएको बताए । उनले भने, ‘टप गएनन्, विजोग भयो नि ।’ उत्कृष्ट सूचीका तेस्रो नम्बरका एकजना डाक्टर चीन जान इच्छुक भएका छन् भने अन्यमा वैकल्पिक सूचीमा रहेकालाई छनोट गरिएको छ । शाखा प्रमुख कोइरालाले भने, ‘सुरुमा १० जना जान तयार भएका थिए, तर उनीहरू सम्पर्कमा आउन चाहेनन्, त्यसपछि अरूलाई छनोट गरियो ।’

चीनबाट एमडीका लागि यस वर्ष १३ जनाको कोटा आएको थियो । तर, त्यहाँ पढेका डाक्टरलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै चिकित्सकहरू जान नमानेको शिक्षाका अधिकारीको भनाइ छ । छात्रवृत्ति परीक्षाको उत्कृष्टताको सूचीमा अगाडि नाम निकाल्न सफल भएका डाक्टरले चीन जान नमानेर राजीनामा दिएपछि कोटा पुर्‍याउन अप्ठ्यारो परेको जनाइएको छ ।

नेपालमा त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धनप्राप्त गरी पाँच तथा काठमाडौं विश्वविद्यालयका पाँच गरी दशवटा मेडिकल कलेजमा एमडी पढाइ हुन्छ । ‘टप लिस्टका डाक्टरले चीन जान नमानेर राजीनामा दिए । चीनको डाक्टर भनेर विश्वास गर्दैनन् भन्ने चिन्ताले जान नमानेका हुन्,’ छात्रवृत्ति शाखाका एक कर्मचारीले भने, ‘१३ जनाको कोटा पुर्‍याउन पनि दुस्ख भएको छ ।’

स्रोतका अनुसार कतिपयले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०मा नाम निकाल्ने अभ्यास गर्न पनि शिक्षा मन्त्रालयले लिएको एमडीको परीक्षामा सहभागी हुने गरेका छन् । एमडी अध्ययनका लागि एमबिबिएस सकेपछि कम्तीमा दुई वर्ष कार्यक्षेत्रमा खटिएको हुनुपर्ने व्यवस्था छ ।

कर्मचारीका अनुसार नेपालमा एमडीका लागि छात्रवृत्ति पाउने आशाले पनि डाक्टरहरू चीनमा अध्ययन गर्न जान नमानेका हुन् । तर, अहिलेसम्म नेपालका मेडिकल कलेजले एमडीमा छात्रवृत्ति उपलब्ध गराएका छैनन् । यस वर्ष एमडीमा पनि छात्रवृत्ति उपलब्ध गराउन विश्वविद्यालयका पदाधिकारीसँग समेत छलफल भइरहेको छ ।

चीनका सरकारी कलेजले छात्रवृत्तिको कोटा दिएका हुन् । तर, त्यहाँका निजी मेडिकल कलेजको बदनामीका कारण डाक्टरहरू एमडी गर्न जान नमानेको कर्मचारीको भनाइ छ । चीनले एमबिबिएस तथा एमडी अध्ययनका लागि नेपाललाई सबैभन्दा धेरै कोटा उपलब्ध गराउँदै आएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण